गत वर्ष बराबर पनि राजस्व नउठ्ने निश्चित, सरकारलाई कर्मचारीको तलब खुवाउनै सकस



काठमाडौं । चालू आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन नहुने निश्चित भएको छ । गत वर्ष फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

तर, चालू आर्थिक वर्षको फागुन मसान्तमा करिब ६ खर्ब १५ अर्ब रुपैयाँ मात्रै संकलन हुने भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार फागुन २९ गतेसम्म ६ खर्ब ६ अर्ब रुपैयाँ संकलन भएको छ ।

‘मंगलबार २ बजेसम्मको तथ्यांक हेर्दा आज ७/८ अर्ब रुपैयाँ संकलन हुने सम्भावना छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

फागुन मसान्तसम्ममा गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भएको छ । जबकी, सरकारले फागुन मसान्तसम्ममा गत वर्षभन्दा २५ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

गत वर्ष अन्तिम ४ महिनामा ३ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि जसरी गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भइरहेको छ, सोही आधारमा आगामी दिनमा राजस्व संकलन भए आगामी ४ महिनामा सरकारले ३ खर्ब २८ अर्ब रुपैयाँ मात्रै संकलन गर्ने देखिन्छ ।

आगामी ४ महिनामा सरकारले ४ खर्ब ९८ अर्ब रुपैयाँ राजस्व संकलन गरेमात्रै गत वर्ष बराबर राजस्व संकलन गर्नेछ । आगामी ४ महिनामा गत वर्ष भन्दा २७ प्रतिशत बढी रुपैयाँ संकलन भएमात्रै गत वर्ष बराबर राजस्व संकलन हुने देखिन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु अगामी ४ महिनामा गत वर्ष बराबरअर्थात् ३ खर्ब ९१ अर्ब रुपैयाँ पनि राजस्व संकलन हुने सम्भावना नभएको बताउँछन् ।

‘आन्तरिक राजस्व विभागले गत वर्ष बराबर राजस्व संकलन गर्ने सम्भावना भए पनि भन्सार विभागले भने गत वर्ष बराबर राजस्व संकलन गर्न सक्दैन,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आगामी ४ महिनामा गत वर्ष बराबर राजस्व संकलन भयो भने पनि यो वर्ष गत वर्षभन्दा कम्तिमा १० प्रतिशत कम राजस्व संकलन हुन्छ ।’

गत वर्ष ११ खर्ब १३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

तर, चालू आर्थिक वर्षमा सरकारलाई १० खर्ब रुपैयाँ राजस्व संकलन गर्न समेत कठिन भइरहेको छ ।

गत माघमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् अर्थ मन्त्रालयले १२ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन हुने संसोधित अनुमान सार्वजनिक गरेको थियो ।

तर, यो वर्ष बजेट सार्वजनिक गर्दा तय गरिएको लक्ष्यभन्दा ३० प्रतिशत कम र संशोधित अनुमानभन्दा २० प्रतिशत कम राजस्व संकलन हुने भएको छ ।

गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागलाई चालू आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । विभागलाई गत वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको हो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको आन्तरिक राजस्व विभागलाई चालू आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । विभागलाई गत वर्ष भन्दा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

यस्तै गत वर्ष १ खर्ब २४ अर्ब रुपैयाँ गैरकर संकलन भएकोमा यो वर्ष १ खर्ब ९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।
चालू आर्थिक वर्षको ८ महिनामा गत वर्ष भन्दा १९ प्रतिशत कम आयात भएपछि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।

गत वर्ष १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयात हुँदा समेत सरकारले ११ खर्ब १३ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यो वर्ष १६ खर्ब रुपैयाँ बराबरको पनि आयात नहुने भएकाले सरकारले गत वर्ष बराबर राजस्व संकलन गर्ने सम्भावना नै नरहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ब्याजदर बढाउने नीति लिएपनि पछिल्लो समय उपभोग घटेको छ । जसले गर्दा आयात बढ्न सकेको छैन ।

विगतका वर्षहरुमा बैंक वित्तीय संस्थाबाट कर्जा लगानी बढेको अनुपातमा आयात बढ्ने भएपनि चालू आर्थिक वर्षको ८ महिनामा कर्जाको वृद्धिदर २ प्रतिशतमा सीमित हुँदा आयात घट्दो क्रममा छ ।

चालू खर्च व्यवस्थापन गर्न सकस

फागुन २९ गतेसम्म ६ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन हुँदा सरकारले ६ खर्ब ११ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । सरकारले संकलन गरेको राजस्व र अन्य प्राप्तीको रकमबाट चालू खर्च व्यवस्थापन गर्न समेत कठिन बन्दै गएको छ ।

फागुन २८ गते सम्म सरकारले आम्दानीभन्दा १ खर्ब ६१ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८३ अर्ब रुपैयाँ चालू खर्च हुने अनुमान पेस गरेको थियो । यो वर्ष उक्त खर्च व्यवस्थापन गर्न सरकारलाई राजस्व अभाव हुने देखिन्छ । तलबभत्ता, पेन्सन र सामाजिक सुरक्षामा मात्रै ६ खर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । घट्दो राजस्वले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न पनि कठिन हुने देखिन्छ ।


क्लिकमान्डु