सीडीएससीलाई रित्ता डिम्याट खाताको चिन्ता



केही समययता सञ्चारमाध्यममा सेयर नभएका रित्ता डिम्याट खाताको बारेमा समाचार दोहोरिन थालेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबपेजमा डिम्याट खाताको संख्या ५५ लाख ८१ हजार ९०० (फागुन २५, २०७९) देखाइएको छ । यसलाई डिम्याट खाताको संख्या भन्न सकिन्छ तर यसलाई नै डिम्याट खाता खोल्ने नेपालीको संख्या भनेर व्याख्या गर्न सकिँदैन ।

यसलाई सेयर बजारमा लगानी गर्ने नेपालीको संख्या भनेर पनि व्याख्या गर्न सकिँदैन । किनकि कतिपय मानिसले एकभन्दा बढी डिम्याट खाता पनि खोलेका छन् । केही समय अघिसम्म मेरा आफ्नै पनि दुई वटा डिम्याट खाता थिए । एक ठाउँको खाता बन्द गरिसकेपछि अहिले मसँग एउटा मात्र छ ।

कतिपय व्यक्तिसँग दुईभन्दा बढी डिम्याट खाता पनि हुन सक्छन् । मानिसले आफ्नो सहजताका आधारमा पनि एकभन्दा बढी निक्षेप सदस्यकहाँ खाता खोल्न सक्छन् र खोलेका हुन सक्छन् । कतिपय बैँक तथा वित्तीय संस्थाले सेयर धितो राखेर ऋण दिँदा उनीहरुले भनेकै निक्षेप सदस्यकहाँ डिम्याट खाता खोलेर सेयर राख्नुपर्ने अन्यथा ऋण नै नदिनेसम्मको अव्यावहारिक अवस्थाका कारण पनि लगानीकर्ताले नचाहेर पनि एकभन्दा बढी खाता खोल्नुपर्ने बाध्यात्मक अवस्था थियो । बैँकहरुको यस्तो घिनलाग्दो नियम अझै पनि हुनसक्छ ।

प्राथमिक निष्कासनमा सेयर, ऋणपत्र, म्युचुअल फन्ड (धितोपत्रहरु)का लागि आवेदन दिँदा होस् वा दोस्रो बजारबाट सेयर किन्दा होस् डिम्याट खाता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । धितोपत्र बजारमा लगानी गर्न आवश्यक पूर्वाधारमा बैंक खाता पहिलो नम्बरमा पर्छ भने डिम्याट खाता दोस्रो नम्बरमा पर्छ । बैंक खाता, डिम्याट खाता, सीआरएन नम्बर, ज्ञान, पैसा, प्रविधि, इन्टरनेटलगायत सेयर बजारमा लगानी गर्नका लागि न्यूनतम् आवश्यक कुरा हुन् ।

डिम्याट खाता खोल्नु भनेको धितोपत्रमा लगानी गर्ने उद्देश्यले पूर्वाधार तयार गर्नु हो । यसको अर्थ लगानी गर्नैपर्ने वा त्यहाँ कुनै न कुनै प्रकारको धितोपत्र हाल्नैपर्ने बाध्यता भएको खाता भने होइन । उदाहरणका लागि यो बैँकहरुले सय रुपैयाँमा खोल्ने बचत खाता जस्तो होइन । जहाँ खाता खोलेपछि सय रुपैयाँ जम्मा गर्नैपर्छ वा सय रुपैयाँ ठिक पारेर मात्र खाता खोल्न पाइन्छ । सेयर किनिसकेपछि खोलिने खाताको रुपमा पनि डिम्याट खाता अब रहेन ।

२०७२ सालपछि डिम्याट खाता अनिवार्य भई नसक्दा सेयर किनेर पनि डिम्याट खाता खोल्न सकिन्थ्यो । तर, यहाँ मिडिया र सीडीएससी कम्पनीका कर्मचारी डिम्याट खाता खोलेर त्यसमा सेयर नहुनु अपराध हो झैँ गरी प्रचार गरिरहेका छन् । सीडीएससीका प्रवक्ताले यसलाई यसरी पनि बुझे हुन्छ कि डिम्याट खाता शून्य मौज्दातको बैंक खाता जस्तो हो ।

सेयर नहालुन्जेलसम्म रित्तै हुन्छ र त्यो लामो समयसम्म रित्तै हुन पनि सक्छ र सधैँभरिका लागि पनि रित्ताको रित्तै पनि हुनसक्छ । लगानीकर्ताको चाहनाको कुरा हो रित्तो हुँदाहुँदै समय गए आवश्यकताअनुसार पैसा तिरेर नवीकरण गरी सक्रिय बनाउन पनि सक्छन् ।

अहिलेसम्म सीडीएससी कम्पनीले वेबसाइटमा सेयर नभएका, दोहोरिएका, तेहेरिएका आदि खाताको संख्या उल्लेख गरेको छैन । मिडियामा सीडीएससीले गरेको प्रचारलाई आधार मान्ने हो भने करिब १७ लाख (३० प्रतिशत) डिम्याट खातामा एक कित्ता पनि सेयर छैन वा यी खाता रित्तै छन् ।

यी खातामा सेयर नहुनुमा खाता खोल्नेको केही दोष छ जस्तो लाग्दैन । किनकि यी खाता शून्य मौज्दातमा तर शुल्क तिरेर खोलिने खाता हुन् । प्राथमिक बजारमा लगानी गर्नेहरु अधिकांशले सेयर पर्ला र दुई-चार पैसा कमाइ हुन्छ कि भन्ने आशले डिम्याट खाता खोल्छन् ।

दोस्रो बजारमा जान चाहनेहरुले कारोबार, लगानी जस्ता विविध उद्देश्यले यो खाता खोल्छन् । केही वर्षभित्र डिम्याट खाता खोल्नेको संख्या बढ्नु प्रविधिको विकास र बैँकका शाखा गाउँ-गाउँ पुग्दा डिम्याट खाता खोल्ने पहुँचको विस्तारको परिणाम पनि हो ।

यसका कहीँकतै नकारात्मक कुरा जोडिएका पनि होलान् तर कयौँ सकारात्मक पक्षहरु छन् । जस्तो कि बैंक खाता, बचत, लगानी, सेयर, कारोबार, सूचनामा चासो, डिम्याट खाता आदिका बारेमा सर्वसाधारणमा पुगेको चेतना भने अकल्पनीय छ, जुन न राष्ट्र बैँक, न धितोपत्र बोर्ड न त सीडीएससी कम्पनीले नै सम्भव बनाउन सक्थ्यो ।

तिनै ५५ लाख डिम्याट खाता खोल्नेको पैसाले सीडीएससी कम्पनीले २०७९ मा १०० प्रतिशत लाभांश बाँडेको छ । जबकि यो समयमा त्यही सीडीएससी कम्पनीमा सूचीकृत सयौँ कम्पनीले एक पैसा पनि लाभांश बाँड्न सकेका छैनन् । तिनै खाता खोल्नेहरुले बैंकको चर्को आवेदन शुल्क तिरेर सयौँ कम्पनीको प्राथमिक सेयरमा आवेदन दिँदा एउटा पनि कम्पनीको सेयर हात पार्न सकेका छैनन् । अनि रित्तै भए भनेर उनीहरुकै खाता बन्द गरिदिने ?

खाता खोल्दा तिरेको पैसाको ५० प्रतिशत रकम निक्षेप सदस्य (डीपी)ले सीडीएससी कम्पनीलाई बुझाउनुपर्छ । तिनै खाता खोल्नेबाट लिएको शुल्कले सीडीएससीका कर्मचारीले तलब र बोनस लिएर घरमा चुलो बालेका छन् । अनि अझ रमाइलो त आज पैसा अलि आवश्यक परेको थियो, सञ्चालक समितिको बैठक राखौँ न है भनेर बैठक राखेर नेप्सेका कर्मचारी संलग्न सीडीएससीका सञ्चालकले भत्ता लिएर खर्च टार्नसम्म पाएका छन् । अनि फेरि लगानीकर्ता (हितग्राही)को खातामा सेयर भएन बन्द गर्नुपर्‍यो, बन्द गर्न गाह्रो भयो भनेर सीडीएससीका प्रवक्ता निद्रा नपरेझैँ गरी मिडियाबाजी किन गरिरहेका छन् ?

वास्तवमा लगानीकर्ताको डिम्याट खातामा सेयर नहुनुले सीडीएससी कम्पनी र समग्र पुँजीबजारमा ल्याएको समस्या के हो ? यसले प्राविधिक र सामाजिक रुपमा समस्या पर्‍यो कि ? आर्थिक रुपमा समस्या पर्‍यो कि ? कानुनी रुपमा समस्या पर्‍यो कि ? सुशासनका हिसाबले समस्या पर्‍यो कि ? खातामा सेयर नहुनेका कारण हुनेलाई नोक्सान भयो कि ?

लगानीकर्ताको खाता बन्द गर्ने कुरा गर्दै गर्दा कहाँ, कसरी र किन समस्या परेको छ भन्ने कुरा पनि सीडीएससी कम्पनीले बताउनुपर्छ । तर, अचम्म धितोपत्र बोर्डले स्वीकृति दिए सेयर नभएका रित्ता खाता तत्काल बन्द गर्न सकिनेसम्मका कुरा सीडीएससीका प्रवक्ताले मिडियाबाजी गरेको पाइयो । तर, बैँकहरुले खोई कहिल्यै मेरो बैँकमा पैसा नभएका खाता यति छन् यिनलाई बन्द गर्नुपर्‍यो भनेर चर्को स्वरमा कराउँदै हिँडेको देखिँदैन ।

सीडीएससीका प्रवक्ताले अर्को कुरा पनि भनेका छन्- एक कित्ताभन्दा कम सेयर हुनेको सेयर कम्पनी आफैँले बिक्री गरिदिएर लगानीकर्तालाई पैसा दिए खाता बन्द गर्न सजिलो हुन्छ । यो भन्दा मुर्ख कुरा केही हुन सक्छ ।

कम्पनीलाई सेयरधनीको सेयर बिक्री गर्ने अधिकार छैन र हुँदैन पनि । सक्छौ भने फ्र्याक्सनको सेयर बिक्री गर्न र किन्न सक्ने नियम ल्याउन पहल गर जुन अमेरिका, क्यानडा जस्ता देशमा धेरै पहिलादेखि प्रचलनमा छ । यसो भए लगानीकर्ताले फ्र्याक्सनमा सेयर किन्न पनि पाउँछन् र भएको बेच्न पनि सक्छन् ।

लगानीकर्तासँग भएको फ्र्याक्सन सेयर मेरो सेयरमा नराखी लुकाएर सीडीएससीले लगानीकर्ताप्रति अपराधचाहिँ गरेको छ । लगानीकर्तासँग कुनै कम्पनीको २०.२ कित्ता सेयर छ भने उक्त पुरै सेयर डिम्याट खातामा देखिनुपर्छ । किनकि त्यो उसको सम्पत्ति हो । तर, अहिले सीडीएससीले २० कित्ता मात्र देखाएर ०.२ कित्ता लुकाइदिँदै आएको छ । नदेखाइदिने हो भने लगानीकर्ताले थाहा नपाएर यस्ता सेयर हराउन पनि सक्छन् ।

डिम्याट खाता सीडीएससीको सम्पत्ति होइन । यो निक्षेप सदस्य (डीपी)ले मेहनत गरेर खोजेका ग्राहकको खाता हो । अनि निक्षेप सदस्य र ग्राहकको स्वीकृतिबिना अदालतको आदेश र फ्रडबाहेक सीडीएससीले मनलाग्दी बन्द गर्न पनि सक्दैन न त धितोपत्र बोर्डलाई नै बन्द गर्न स्वीकृति दिने अधिकार हुन्छ ।

उदेकलाग्दो कुरा त सीडीएससी कम्पनीले अहिलेसम्म लगानीकर्ताको खातामा सेयर जम्मा हुँदा र खाताबाट झिकिँदा फ्रड नियन्त्रण गर्ने उद्देश्यले लगानीकर्ताको मोबाइलमा एसएमएस जाने वा इमेलमा जानकारी जाने व्यवस्था गर्न सकेको छैन । जुन कुरा पैसा ट्रान्सफर गर्दा कनेक्ट आईपीएसले गर्ने गरेको छ ।

यस्तै सीडीएससीले डिम्याट खातालाई कारोबार खातामा जोडेर भएको सेयर मात्र बिक्री गर्न पाउने गरी नेपाल स्टक एक्सचेन्जसँग सहकार्य गर्न पनि सकेको छैन । यो व्यवस्था नभएका कारण लगानीकर्ताले अनावश्यक करोडौँ जरिवाना तिर्दै आउनुपरेको छ ।

लगानीकर्ताले पाएको नगद लाभांशको अभिलेख डिम्याट खातामा रहने व्यवस्था पनि अहिलेसम्म सीडीएससीले गर्न सकेको छैन । डिम्याट खाता (मेरो सेयर)मा पनि लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई विभिन्न प्रकारले विश्लेषण गर्न सक्ने गरी अद्यावधिक गर्न सकिन्छ तर त्यो पनि सीडीएससीले गरेको छैन ।

उदाहरणका लागि मैले मेरो सेयरको कारोबार इतिहास (ट्रान्जेक्सन हिस्ट्री)मा गएर एक वर्षमा मात्र किनबेच कति भएछ भनेर हेर्न खोजे त्यसलाई छान्ने कुनै ठाउँ नै भेटिन । प्रिन्ट गर्दा हालसम्मको भएभरको विवरण आउँछ । यस्तै विभिन्न कम्पनीबाट बोनस मात्र कति आएछ भनेर छान्न खोजे त्यो व्यवस्था पनि छैन ।

२०७८ मा मात्र कति कारोबार भएछ भनेर हेर्न खोजे त्यो पनि छैन । हकप्रद मात्र कति आएछ भनेर हेर्न खोजे त्यो छान्ने प्रणाली पनि बनाएको छैन । खाली कम्पनी र गतेअनुसार कारोबारको विवरण हेर्ने मात्र व्यवस्था छ ।

लाजमर्दो अवस्था, एक वर्षको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मेरो सेयरको पासवर्ड रिसेट गर्ने व्यवस्था गरेको भनेर केही समयअघि यसका प्रवत्ताले कतै भनेका थिए । आँखा एक पटक झिमिक गर्दा प्रविधि कहाँबाट कहाँ पुगिसक्छ तर २०७२ सालबाट अहिलेसम्मका सीडीएससीले गरेका परिवर्तन हेर्ने हो भने आफैँले विवेक प्रयोग गरेको एउटा पनि काम छैन । गरिएका नगन्य काम कि धितोपत्र बोर्डले दबाब दिएर गरेको छ कि लगानीकर्ता चिच्याएर । योभन्दा लाजमर्दो केही हुनसक्छ ?

यस्तै बिक्री नभएको हकप्रद सेयरको मूल्य बढाबढको काम सीडीएससीले मेरो सेयरबाट गराउन सकेको छैन, जसका लागि लगानीकर्ता वर्षौंदेखि चिच्याइरहेका छन् । कम्पनीका सञ्चालकका चुनावको अनलाइन भोटिङको व्यवस्था गर्न नसकेर अलपत्र छ ।

सरकारी धितोपत्र मेरो सेयरबाट आवेदन दिन सक्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग समन्वय गर्न सकेको छैन । देशभरबाट मानिसले मेरो सेयरबाट सेयर भरेका छन् । सबैसँग कारोबारको पहुँच पुग्न सकेको छैन । ती खातावालाको कारोबारमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भनेर कहिल्यै सीडीएससीले सोचेको देखाएको छैन । तर जसले खाता खोलेर र नवीकरण गर्दा बुझाएको शुल्कले तलब र बोनस खाएर पेट पाल्न पाएका छन् तिनकै खाता बन्द गर्न गाह्रो भो भनेर सीडीएससीका प्रवक्ता मिडियाबाजी गर्दै हिँडेका छन् ।

खाता बन्द गर तर रित्ता खाता हुनेको होइन, जसले कानुनले दिएको भन्दा बढी खाता खोलेका छन् । जुन खाता सम्बन्धित व्यक्ति आफैँले नखोली अरुले नै प्रयोग गर्ने उद्देश्यले खोलेका छन् ती फ्रड खाता हुन् । त्यस्ता खाताको पहिचाहन गरेर बन्द गर्न सकिन्छ ।

तर, सीडीएससीले फ्रड नियन्त्रण र फ्रड खाता पहिचान गर्न अहिलेसम्म कुनै पनि काम गरेको देखिँदैन । काम गरेको छ र त्यसको पहिचान भएको भए त्यस्ता फ्रड खाता बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले रोक्ला र ? बोल्नु वा काम गर्नुभन्दा पहिला यो काम सही वा गलत के हो ? के यो निष्पक्ष छ ? यसले कसैलाई मर्का त पर्दैन ? भन्ने विभिन्न प्रश्न गरेर एकातिरबाट मात्र होइन चारतिरबाट सोच्नुपर्छ । त्यसपछि मात्र मिडियाबाजी गरे राम्रो हुन्छ ।

खाताको संख्याले होइन, हाम्रो सोच्ने, काम गर्ने र बोल्ने तरिकाले बजारमा समस्या ल्याउन सक्छ । सीडीएससीले सक्छ र ऊसँग कुनै तथ्यांक विश्लेषक भए तलका तथ्यांक वेबसाइटमा सार्वजनिक गर्न समग्र पुँजीबजारका सरोकारवालका तर्फबाट चुनौती दिन चाहन्छु, जसले बजारमा रहेका अनेक भ्रम हटाउनेछ-

कुल डिम्याट खाताको संख्या

दोहोरिएको खातावालाको संख्या

वास्तविक खातावाला (लगानीकर्ता) व्यक्ति र संस्थाको कुल र अलग-अलग संख्या

महिला, पुरुष, बालबालिकाको अलग-अलग संख्या

खाता खोलेर एकपटक पनि नवीकरण नगरिएको संख्या

खातामा सेयर भएर पनि नवीकरण नगरिएका खाताको संख्या

खातामा सेयर नभएर नवीकरण नगरिएको संख्या

सेयर कारोबार नै नभएका खाताको संख्या

एकपटक मात्र कारोबार भएको संख्या

सक्रिय रुपमा दोस्रो कारोबार गरिरहनेको संख्या

आईपीओ पर्नेबित्तिकै बिक्री गर्नेको संख्या

हकप्रद नै नभर्नेको संख्या

हालसम्म फ्रड पहिचान गरिएका र बन्द गर्न तयार गरिएका खाता संख्या

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्स गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)


क्लिकमान्डु