त्रिभुवन विमानस्थलको आगमन कक्षमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आईएमएस ग्रुपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेजले पूर्णरुपमा प्रतिबद्ध रहेको जनाएको छ ।

यात्रुहरुको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सर्भिसेजले दाबी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष निर्माण गर्दा आफूहरुको प्राथमिकता र ध्यान सम्पूर्ण नेपाली तथा विदेशी यात्रुहरुका लागि अन्तर्राष्ट्रियस्तरको सुविधा र पर्याप्त (स्पेसियस) पार्किङ गर्ने स्थानको व्यवस्थापन रहेको आईएमएसले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भीडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरुका लागि सहज आगमन, लथालिङ्ग पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतिक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सन्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो ।

यात्रुहरुले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरुको व्यवस्थापन यो निर्माणका लागि भएको सम्झौताअन्तर्गत नपरे पनि आइएमएस एयरपोर्ट सर्भिसेजले ट्राभलेटरमा सुरक्षित रुपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरु खरिद गरेर उपलब्ध गराउँदै त्यसको व्यवस्थापनमा पनि सहजीकरण गरेको जनाएको छ ।

तर, ह्विल लकिङ सिस्टम नभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले देखि नै प्रयोगमा रहेका ट्रलीहरु प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरुसँग मिसमास भइरहे पछि ट्राभलेटरमा ती पुराना ट्रलीहरुका कारण एकभन्दा धेरै लगेज भएका यात्रुहरुका लागि समस्या भएको आईएमएसले जनाएको छ ।

यात्रुहरुले यसका कारण भोग्नु परेको समस्या सम्बोधन गर्न तथा यात्रुहरुको आगमन सरल, सहज र सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेजले तत्काल केही कामहरु गर्ने भएको छ ।

आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने आईएमएसले जनाएको छ । यसले आगमन कक्षको उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुने र समस्याहरु न्यूनिकरणमा सहयोग गर्नेछ विश्वास आईएमएसले लिएको छ ।

उक्त ट्राभलेटरमा यात्रुहरुले दुःख नपाउन् भन्ने उद्देश्यले सहयोग गर्न, सहज बनाउन र गाइड गर्न २४ सै घन्टा एक सुरक्षा गार्डको व्यवस्थापन गरिएको छ भने ट्राभलेटरमा के गर्ने र के नगर्ने भन्ने जानकारीका दिन तथा यात्रुहरुलाई सूचित गर्नका लागि त्यहाँ साइनबोर्डको राखिएको आईएमएसले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरु र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाइनेछ । त्यहाँ भएका ट्रलीहरु नियमित रुपमा मर्मतसम्भार गरिने कम्पनीले जनाएको छ ।

दुई वटा सुटकेससम्म भएका यात्रुहरुले आगमन कक्षको ट्राभलेटर सुरक्षित रुपमा ट्रलीविना नै प्रयोग गर्न सक्ने छन्। ट्राभलेटरको अन्त्यमा यात्रुहरुले बाहिरसम्म सुटकेस निकाल्नका लागि ट्रली प्रयोग गर्न मिल्ने व्यवस्थापन गरिएको छ । साथै, यो ट्राभलेटरमा अर्को सूचना जारी नभएसम्मका लागि ट्रलीको प्रयोग पूर्णरुपमा बन्देज गरिएको आईएमएसले जनाएको छ ।


क्लिकमान्डु