भारतीय अटोमोबाइल क्षेत्रः आन्तरिक खपत घट्यो, निर्यात बढ्यो



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले विश्वको अर्थतन्त्रमै ठूलो धक्का पुगेको छ । कोरोना महामारीले विश्वव्यापी रुपमा महंगी बढाएको छ भने अधिकांश उद्योगको उत्पादनसँगै खपत घटेको छ ।

त्यस्तै, विश्वको अर्थतन्त्रमा पाँचौं ठूलो देश भारतको कोभिडले गर्दा अधिकांश क्षेत्रको उत्पादनसँगै खपत घटेको विभिन्न अध्ययनले देखाएको छ । भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र देशसँगै तेस्रो ठूलो अटोमोबाइल उत्पादन गर्ने देश पनि हो । सफ्टवेयर, औषधीपछि अटोमोबाइल क्षेत्रमा ठूलो हिस्सा ओगटेको भारतमा कोभिडले गर्दा उत्पादनसँगै खपत घटाएको अध्ययनले देखाएको हो ।

अध्ययनअनुसार भारतमा अटोमोबाइल क्षेत्रको उत्पादनमा कमी आएको देखिन्छ । साथै, आन्तरिक खपत झनै घट्दै गएको पाइन्छ । तर, निर्यातमा भने फड्को मारेको देखाएको छ ।

भारतीय अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको गुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत योगदान छ । भारत सरकारले अटोमोटिभ मिसन प्लान २०१६–२६ (एएमपी २०२६) अनुसार कुल ग्राहस्थ उत्पादनको योगदान १२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

भारतले वार्षिक करिब ३ करोडको हाराहारीमा सवारी साधन उत्पादन गर्दै आएको छ । तर, काभिडका कारण अन्तर्राष्ट्रिय बजारमासमेत अटोमोबाइलको उत्पादन र व्यापारमा निकै असर परेकाले भारतमा पनि ठूलो धक्का पुगेको जनाएको छ ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)का अनुसार भारतमा आर्थिक वर्ष सन् २०२१/२२ मा २ करोड २९ लाख ३३ हजार २३० सवारी साधन उत्पादन गरेका थिए । जसमा यात्रुवाहक, व्यवसायिक, तीन पाङ्ग्रे, दुई पाङ्ग्रे र क्वाड्रिसाइकल छन् । सन् २०२१/२२ मा ३६ लाख ५० हजार ६९८ यात्रुवाहक सवारी साधन, ८ लाख ५ हजार ५२७ वटा व्यवसायिक सवारी साधन, ७ लाख ५८ हजार ८८ वटा तीन पाङ्ग्रे सवारी साधन, १ करोड ७७ लाख १४ हजार ८५६ वटा दुई पाङग्रे सवारी साधन र ४ हजार ६१ वटा क्वाड्रिसाइकल उत्पादन गरेका छन् ।

त्यस्तै, उत्पादकहरुको संगठन एसआईएएमका अनुसार कोभिडपछि सन् २०२१/२२ मा उत्पादन बढेको देखाउँछ । कोभिडले गर्दा भारतमा सन् २०२०/२१ मा २ करोड २६ लाख ५५ हजार ६०९ वटा, सन् २०१९/२० मा २ करोड ६३ लाख ५३ हजार २९३ वटा र सन् २०१८/१९ मा ३ करोड ९ लाख १४ हजार ८७४ वटा अटोमोबाइल उत्पादन गरेका थिए ।

साथै, सन् २०१७/१८ मा २ करोड ९० लाख ९४ हजार ४४७ वटा र सन् २०१६/१७ मा २ करोड ५३ लाख ३० हजार ९६७ वटा अटोमोबाइल उत्पादन गरेको एसआईएएमले जनाएको छ ।

तथ्याङ्क हेर्दा कोभिडले गर्दा उत्पादनमा उच्च प्रभाव पारेको देखिन्छ । तर, सन् २०२१/२२ मा सन् २०२०/२१ को तुलनामा दुई पाङ्ग्रे सवारी साधनबाहेक अन्य प्रकारका सवारी साधनको उत्पादन भने बढेको देखाउँछ ।

आन्तरिक खपत घट्दो

कोभिडले गर्दा अटोमोबाइल उत्पादनसँगै आन्तरिक खपतमा पनि घटेको देखिन्छ । विगतको दिनमा वार्षिक साढे २ करोडभन्दा बढी सवारी साधन बिक्री हुँदै आएकोमा कोभिडपछि २ करोड सवारी साधन पनि बिक्री हुन सकेन । सन् २०२१/२२ मा आन्तरिक खपत १ करोड ७५ लाख १३ हजार ५९६ वटा सवारी साधन बिक्री गरेका छन् । त्यस्तै, सन् २०२०/२१ मा १ करोड ८६ लाख २० हजार २३३ वटा बिक्री भएको जनाएको छ ।

त्यस्तै, कोभिडअघि अर्थात् सन् २०१९/२० मा २ करोड १५ लाख ४५ हजार ५५१ वटा, सन् २०१८/१९ मा २ करोड ६२ लाख ६६ हजार १७९ वटा, सन् २०१७/१८ मा २ करोड ४९ लाख ८१ हजार ३१२ वटा र सन् २०१६/१७ मा २ करोड १८ लाख ६३ हजार २८१ वटा सवारी साधन आन्तरिक बजारमा बिक्री गरेका थिए ।

समग्रमा हेर्दा भारतमा कोभिडको समयमा करिब ५० लाखको हाराहारीमा सवारी साधनको खपत घटेको देखिन्छ । सन् २०२१/२२ मा मोटरसाइकलबाहेक अन्य यात्रुवाहक, व्यवसायिक र तीन पाङ्ग्रे सवारी साधनको व्यापार भने घटेको देखिँदैन ।

निर्यात बढ्दो
भारतमा उत्पादनसँगै खपत निकै कम भएपनि निर्यात भने बढ्दो क्रममा रहेको देखिन्छ । कोरोना अघिभन्दा पनि बढी कोरोनाको समयमा भारतले बढी सवारी साधन निर्यात गरेको तथ्याङ्कले उल्लेख गर्छ ।

भारतले सन् २०२१/२२ मा मात्रै ५६ लाख १७ हजार २४६ वटा सवारी साधन निर्यात गरेको छ । जबकी कोरोना अघि भारतले वार्षिक ४६ लाखको हाराहारीमा निर्यात गर्दै आएको थियो । तथ्याङ्कअनुसार सन २०२०/२१ मा ४१ लाख ३४ हजार ४७ वटा, सन् २०१९/२० मा ४७ लाख ४८ हजार ७३८ वटा, सन् २०१८/१९ मा ४६ लाख २९ हजार ४९ वटा, सन् २०१७/१८ मा ४० लाख ४२ हजार ८४१ वटा र सन् २०१६/१७ मा ३४ लाख ८० हजार ७२५ वटा सवारी साधन निर्यात गरेको थियो ।

सन् २०२१/२२ मा भारतले ५ लाख ७७ हजार ८७५ वटा यात्रुवाहक, ९२ हजार २९७ वटा व्यवसायिक, ४ लाख ९९ हजार ७३० वटा तीन पाङ्ग्रे, ४४ लाख ४३ हजार १८ वटा दुई पाङ्ग्रे र ४ हजार ३२६ वटा क्वाड्रिसाइलक निर्यात गरेको छ ।

दुई पाङ्ग्रेमा हिरो मोटोकर्प र निजी सवारी साधनमा मारुती सुजुकीको झण्डै ५० प्रतिशत बजार हिस्सा

विश्वको तेस्रो ठूलो अटोमोबाइल उत्पादक देश भारतमा झण्डै एक सयको हाराहारीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रेसहित अन्य सवारी साधन उत्पादन कम्पनी छन् । त्यसमध्ये सन् २०२२ को नोभेम्बरमा दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनीमा हिरो मोटोकर्प र निजी सवारी साधनमा मारुती सुजुकीले झण्डै बजारको आधा हिस्सा ओगटेको छ ।

सन् २०२२ को नोभेम्बर महिनामा हिरो मोटोकर्प लिमिटेडले ६ लाख ३६ हजार ६४ वटा दुई पाङ्ग्रे सवारी साधन उत्पादन गरी ३४.४२ प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०२१ मा कम्पनीले ३६.७६ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।

हिरो मोटोकर्पपछि नोभेम्बरमा होन्डा मोटरसाइकल र स्कुटर इन्डिया प्रालिले ४ लाख ६२ हजार १६३ वटा सवारी साधन उत्पादन गरी २५.०१ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, टीभीएसको १४.६४ प्रतिशत, बजाज अटोको ११.३८ प्रतिशत, सुजुकी मोटरसाइकल इन्डियाको ३.१९ प्रतिशत, रोयल इन्फिल्डको ्३.७५ र इन्डिया यामाहा मोटर्सको २.९० प्रतिशत बजार हिस्सा छन् ।

त्यसबाहेक अन्य कम्पनीको बजारमाक हिस्सा ०.२९ देखि ०.८८ प्रतिशतसम्म बजार हिस्सा ओगटेको छ ।
तर, यता तीन पाङ्ग्रे सवारी साधनमा भने बजाज अटोले ३६ प्रतिशत बजार हिस्सा ओगटेको छ । तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा बजाज कम्पनीले मात्रै २६ हजार ६५२ वटा तीन पाङ्ग्रे सवारी साधन उत्पादन गरी शीर्ष स्थानमा छ ।

बजाजपछि पिजिओ भेकलको ७ प्रतिशत, एसी इलेक्ट्रिक भेकलको ४ प्रतिशत, महिन्द्रा एण्ड महिन्द्रा र साइरा इलेक्ट्रिक अटो प्रालिको ३/३ प्रतिशत हिस्सा छ । त्यसबाहेक अन्य दर्जनभन्दा बढी तीन पाङ्ग्रे उत्पादक कम्पनीको १ प्रतिशतदेखि २ प्रतिशत भारतीय बजार हिस्सा ओगटेको छ ।

त्यसैगरी, सन् २०२२ को नोभेम्बरमा व्यवसायिक सवारी साधन कम्पनीमध्ये टाटाले मात्रै ३८.१५ प्रतिशत बजार हिस्सा आगटेको अध्ययनले देखाएको छ । सन् २०२१ को नोभेम्बरमा कम्पनीको बजार हिस्सा ४४.२९ प्रतिशत थियो । कम्पनीले सन् २०२२ को नोभेम्बरमा मात्रै ३० हजार २८२ व्यवसायीक सवारी साधन उत्पादन गरेका छ ।

त्यसपछि महिन्द्राले २० हजार ८१ वटा उत्पादन गरी २५.३० प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै, अशोक लेल्यान्डले १६.४९ प्रतिशत, भीई कमर्सियल भेकलको ६.६४ प्रतिशत र मारुती सुजुकीको ४.८२ बजार हिस्सा ओगटेको छ ।

साथै, निजी सवारी साधनमा भने भारतीय बजारमा मारुती सुजुकी इन्डियाले बजार कब्जा गरेको पाइन्छ । सन् २०२२ को नोभेम्बरमा कम्पनीले १ लाख २३ हजार ४०९ वटा निजी सवारी साधन उत्पादन गरी ४१.०१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

मारुती सुजुकीपछि हुन्डाई कम्पनीले १४.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ । नोभेम्बरमा कम्पनीले ४४ हजार ८५९ सवारी साधन उत्पादन गरेको छ । त्यसैगरी, टाटा मोटर्सले सन् नोभेम्बरमा ४० हजार ७२३ सवारी साधन उत्पादन गरस् १३.५३ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ ।

साथै, भारतीय बजारमा नोभेम्बरमा महिन्द्रा एण्ड महिन्द्रको ९.५९ प्रतिशत, किया मोटर्स इन्डियाको ६.४८ प्रतिशत, टोयटा किर्लोस्कर मोटर्सको ४.०९ प्रतिशत, रिनल्ट इन्डियाको २.११ प्रतिशत, होन्डा कार इन्डियाको २.२२ प्रतिशत र स्कोडा अटो भोल्कस्वागन इन्डियाको २.१४ बजार हिस्सा रहेको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु