तिहारमा साढे २४ लाख माला खपत हुने, सयपत्रीबाहेक अन्य फूलको थोक मूल्य बढ्ने



काठमाडौं । बजारमा दशैं सकिएलगत्तै तिहारको माहोल सुरु भएको छ । नेपालीहरूको महान् पर्व तिहार आउन दुई हप्ता मात्रै बाँकी छ । त्यसैले, बजारमा तिहारका लागि आवश्यक सामग्री बिक्री वितरण गर्ने व्यवसायीहरूको चहलपहल सुरु भएको छ ।

दशैंमा खसिबोका सबैभन्दा बढी बिक्री भएजस्तै तिहारमा झिलिमिली बत्ती, फूल माला, ड्राइनट्सलगायत अन्य वस्तु खपत हुने गर्छ । उक्त खपत हुने वस्तु बिक्रीका लागि व्यवसायीहरूले तयारी गरिरहेको बताएका छन् ।

त्यस्तै, यो वर्षको तिहारमा गत वर्षको तुलनामा फूल माला बढी खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन अनुसार यो वर्षको तिहारमा साढे २४ लाख माला खपत हुने अनुमान गरेको छ ।

गत वर्ष देशभर १८ लाख १५ हजार व्यावसायिक सयपत्री फूलको माला खपत भएको थियो । तर, यो वर्ष सयपत्री फूलको माग १० प्रतिशतले वृद्धि हुने अनुमान रहेको एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङ बताउँछन् । उनकाअनुसार यो वर्ष तिहारको ५ दिनमा करिब २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी सहित २४ हजार ४५ लाख माला खपत हुने अनुमान रहेको छ ।

तिहारका लागि आन्तरिक उत्पादन र आयात हुने फूलको खपत बढी हुने देखिएको छ । जसमा आन्तरिक उत्पादन ८५ प्रतिशत र १५ प्रतिशत आयातित फूलको खपत हुने अध्यक्ष तामाङको भनाइ छ । साथै, तिहारमा फूलको आपूर्तिमा समस्या नहुने उनले बताए ।

‘यो वर्षको दशैंमा ४,५ दिन लगातार अत्यधिक मनसुनी वर्षा भएका कारण सयपत्री फूलको आन्तरिक उत्पादनमा कमी आउन सक्ने देखिए पनि सातै प्रदेशको अधिकांश भागमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती भएकाले तिहारका लागि आवश्यक पर्ने सयपत्री फूलको खासै अभाव नहुने अनुमान गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सयपत्री फूलको माग ग्रामीण क्षेत्रको उत्पादनले नै धान्ने र मुख्य सहर केन्द्रित क्षेत्रहरूमा करिब ८५ प्रतिशत आन्तरिक तथा १५ प्रतिशत आयात गरी पूरा गर्नुपर्ने अवस्था देखिन्छ ।’

यो वर्ष बजार मागअनुसार आन्तरिक १७ लाख र ३ लाख आयातित गरी २० लाख सयपत्री फूलको माला खपत हुने अध्यक्ष तामाङले बताए । गत वर्षको तुलनामा १०.१९ प्रतिशतले फूलको खपत बढ्ने उनको भनाइ छ ।
त्यस्तै, तिहारमा ३ लाख २५ हजार आन्तरिक उत्पादित मखमली फूल र २० हजार गोदावरी फूलको माला खपत हुने भएको छ । त्यसमा १ लाख माला भने निर्यात हुने एसोसिएसनले जनाएको छ ।

साढे १३ करोडको कारोबार हुने

एसोसिएसनअनुसार तिहारमा साढे १३ करोडको कारोबार हुने जनाएको छ । गत वर्षको तिहारमा ११ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो । यो वर्ष बजारमा फूल मालाको माग बढेकाले माग बढ्ने अनुमान एसोसिएसनले गरेको छ ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ७० लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने एसोसिएसनले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट ९ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट १ करोड ४२ लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो ।

सयपत्रीबाहेक अन्यको मूल्य बढ्ने

यो वर्षको तिहारमा सयपत्री फूलबाहेक अन्य फूल मालाको मूल्य बढ्ने भएको छ । सयपत्री फूलको प्रति माला ५५ रुपैयाँ बिक्री हुने तामाङले बताए । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो ।

त्यसै गरी, मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा ५ रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५ रुपैयाँ कायम भएकोमा यो वर्ष ४० रुपैयाँ तोकेको एसोसिएसनको भनाइ छ । त्यस्तै, गोदावरी फूलको माला ५० रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपैयाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष ४०० रुपैयाँ तोकेको छ ।

नेपालमा ७ वटै प्रदेशको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूलको खेती भइरहेको छ । त्यसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली आदि जिल्ला छन् । सोही जिल्लाको फूल तिहारमा खपत हुने एसोसिएसनको भनाइ छ ।

त्यस्तै, मखमली फूल भने काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बढिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम आदि क्षेत्रहरूमा मखमली फूलको व्यावसायिक खेती भइरहेको हुनाले तिहारमा सोही क्षेत्रका फूलले बजारमा माग धान्ने एसोसिएसनले जनाएको छ ।


क्लिकमान्डु