सरकारले यो साता ३० हजार रूखहरू रोप्ने



काठमाडौं । विश्वमा माटोको सङ्कटलाई सम्बोधन गर्न सद्‌गुरुले मार्चमा शुरु गरेको विश्वव्यापी माटो जोगाऔँ अभियानलाई सहयोग गर्न नेपाल सरकार अग्रसर भएको छ ।

ललितपुरस्थित गोदावरी सनराइज सम्मलेन केन्द्रमा सम्पन्न ‘माटो जोगाऔँ’ कार्यक्रममा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन गर्दै माटो जोगाऔँ अभियानको नेतृत्व गरिरहेका भएका ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरुलाई एकताको ज्ञापनपत्र प्रदान गरे ।

सद्‌गुरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेरका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले माटो जोगाऔँ अभियानलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्रीसँग भेटपछि सद्‌गुरुले ट्विटमा लेखेका थिए, ‘माननीय प्रधानमन्त्री शेरबहादुर देउवा तथा गठबन्धनका नेताहरूसँग भेट्न र अन्तरक्रिया गर्न पाउनु खुसी र सौभाग्यको कुरा हो । माटो जोगाऔँ अभियानप्रति तपाईंको प्रतिबद्धताले यस अद्‌भुत भूमिमा रहेका कोमल जनताको भविष्यलाई आकार दिनुपर्छ ।’

कार्यक्रममा सद्‌गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई माटो जोगाऔँ सम्बन्धी नीति-प्रारूपको पुस्तिका हस्तान्तरण गरे । उक्त पुस्तिकाले व्यावहारिक, वैज्ञानिक समाधानहरू प्रदान गर्दछ जसलाई सरकारले माटोको प्रकार, अक्षांश, स्थानहरू र सम्बन्धित राष्ट्रको कृषि परम्पराको आधारमा कार्यान्वयन गर्न सक्छ ।

मन्त्री यादवले अभियानलाई पूर्ण समर्थन जनाउँदै सद्‌गुरुको ३०,००० किलोमिटरको माटो जोगाऔँ यात्राको सम्झनामा नेपाल सरकारले यो साता ३० हजार रुखहरू रोप्ने घोषणा गरे । माटोको विनाश रोक्नको लागि तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जोगाउन र राजनीतिक सहमति निर्माण गर्नको लागि विश्वभरि यात्रा गरेकोमा सद्‌गुरुको प्रशंसा गर्दै उनले मन्त्रालय सहयोगका लागि तयार रहेको बताएका हुन् ।

नेपालको ६०% माटोमा कम जैविक पदार्थ रहेको र ६७ % माटो अम्लीय रहेको तथ्याङ्क छ । नेपालका धेरै भागहरूमा माटोमा जैविक पदार्थको मात्रा २% भन्दा कम छ, अनि केही क्षेत्रहरूमा यो १% भन्दा कम छ, विशेषगरी तराई भूभागको खेती गरिएको माटोमा । नेपाल सरकारको २० वर्षिय दीर्घकालीन उद्देश्य कृषि विकास रणनीति (ए.डी.एस) ले सन् २०३५ सम्ममा माटोको जैविक पदार्थलाई हालको १.९६ % बाट ४% पुऱ्याउने लक्ष्य राखेको छ ।

मरिरहेको माटोलाई जोगाउनको लागि विश्वको ध्यान आकर्षण गर्न सद्‌गुरुले यस वर्ष मार्चमा विश्वव्यापी माटो जोगाऔँ अभियान शुरु गरेका थिए । अभियानले राष्ट्रहरूलाई नीतिगत पहलहरूमार्फत विश्वभरिको कृषियोग्य माटोमा ३-६% जैविक पदार्थ कायम गर्न आग्रह गरिरहेको छ । माटोलाई उर्वर र उब्जाउयोग्य राख्न र यसलाई बालुवामा परिणत हुनबाट रोक्नको लागि ३-६% न्यूनतम आवश्यक जैविक पदार्थ हो । कन्सियस प्लानेट (जागरूक धरती) र नेपाल सरकारबिच भएको समझदारीले यस देशको माटोको स्वास्थ्य सुधार गर्नको लागि नीति निर्माण गर्न प्रतिबद्धताको रूपमा काम गर्नेछ ।

इकोनोमिक्स एण्ड ल्याण्ड डिग्रेडेसन इनिसिएटिभ २०१५ अनुसार, पृथ्वीको ५२% कृषियोग्य माटो नष्ट भइसकेको छ र उब्जनीको लागि अयोग्य भएको छ । खाद्य तथा कृषि सङ्गठन (एफ.ए.ओ) ले जलवायु परिवर्तन र माटो लोपका कारण सन् २०५० सम्ममा कतिपय क्षेत्रमा बाली उत्पादनमा ५० % सम्म गिरावट आउने अनुमान गरेको छ । यस भयावह सङ्कटलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बुझेर सद्‌गुरुले गत मार्चमा यूरोप, मध्य एशिया, मध्यपूर्वी राष्ट्रहरूसहित २७ राष्ट्रहरू हुँदै १०० दिनमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गरी भारतमा समापन गरेका थिए ।

विश्वभरि, माटोलाई लोप हुनबाट जोगाउनको लागि ८० राष्ट्रहरूले सङ्कल्प गरिसकेका छन् भने भारतका ९ राज्यहरूले आफ्नो राज्यमा माटो जोगाउनको लागि समझौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् । कमनवेल्थका ५४ वटै राष्ट्रहरूले माटोसम्बन्धी नीति लागू गर्ने उद्‌घोष गरेका छन्, जसअन्तर्गत ९ राष्ट्रहरूले समझौता पत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरणसम्बन्धी कार्यहरूमा अग्रसर अन्तर्राष्ट्रिय सङ्गठनहरू जस्तै कि आयूसिएन, संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यूएनसीसीडी , डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।


क्लिकमान्डु