सम्पत्ति शुद्धीकरण हुन नदिन सुधार गर्नुपर्ने पहिलो प्राथमिकतामा बैंकिङ क्षेत्र, कुन क्षेत्र उच्च जोखिममा ?



काठमाडौं । वित्तीय जानकारी इकाइका प्रमुख दीर्घ रावलले बैंकिङ क्षेत्रबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएकाले सबै निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।

संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको ‘सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागू भएका कानून र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक नीति, कानून साथै संरचना निर्माणको अवस्था, तिनीहरुको कार्यान्वयन, विगतमा भएका मूल्यांकन, निकट भविष्यमा हुँदै गरेको मूल्यांकनका लागि तयारी र भावी योजनालगायतका विषयमा’ भएको छलफलमा रावलले बैंकिङ क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुनसक्ने मध्यम उच्चजोखिम भए पनि सुधारका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

सन् २०२० मा सार्वजनिक राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनमा सहकारी, सेयर बजार, घर जग्गा, क्यासिनोबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएको छ ।

बुधबार अर्थ समितिको बैठकमा रावलले यी क्षेत्रमा तत्काल सुधार शुरु गर्नुपर्ने बताए । प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण हुने क्षेत्रलाई तीन (उच्च, मध्यम उच्च र मध्यम) भागमा वर्गीकरण गरिएको छ ।

सम्पत्ति शुद्धीकरण हुने जोखिम उच्च भएको सूचिमा विदेशी विनिमय कारोबार हुने क्षेत्र, विप्रेषण सेवा प्रदायक, हुण्डी र रियल स्टेट क्षेत्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, मध्यम उच्च जोखिमको सूचिमा बैंकिङ, सहकारी, क्यासिनो र बहुमुल्य धातु तथा पत्थरको कारोबार हुने क्षेत्र छन् ।

त्यसैगरी, बीमा, पुँजी बजार, लेखा व्यवसाय र गैरनाफा मुलक संस्थाहरु मध्यम जोखिममा भएका हुन् ।

रावलले अर्थसमितिमा गरेको प्रस्तुतीमा विदेशी मुद्रा सटही गर्ने क्षेत्र र विप्रेषणको कारोबार गर्ने संस्थालाई दोस्रो प्राथमिकतामा राखेर सुधार गर्नु पर्ने बताए । यी तीनवटै क्षेत्र सम्पत्ति शुद्धीकरण हुने जोखिमपूर्ण सूचिमा छन् ।

सुधार गर्नु पर्ने तेस्रो प्राथमिकतामा घरजग्गा कारोबारलाई राखिएको छ । घर जग्गापनि सम्पत्ति शुद्धीकरण हुन सक्ने जोखिमपूर्ण क्षेत्र हो ।

चौथोमा सहकारीको क्षेत्र छ । सहकारीलाई मध्यम उच्च सूचिमा राखिएको छ ।

सुधारको पाचौँ प्राथमिकतामा बहुमुल्य धातु तथा पत्थर व्यवसाय गर्ने क्षेत्र छ । यो पनि मध्यम जोखिम भएको क्षेत्र हो । यस्तै लेखा व्यवसाय सुधारको छटौं नम्बरमा छ । यसलाई मध्यम जोखिम भएको सूचिमा राखिएको छ ।

सेयर बजार र बीमा व्यवसायलाई सुधार गर्नु पर्ने सातौं प्राथमिकतामा राखिएको छ । यो पनि मध्यम जोखिम भएको क्षेत्र हो ।

यस्तै, नवौंमा क्यासिनोलाई राखिएको छ । क्यासिना भने मध्ययम उच्च जोखिम भएको सुचिमा छ । दशौंमा गैरनाफा मुलक संस्थाहरु रहेका छन् । यस्ता संस्थाहरु मध्यम जोखिम भएका क्षेत्र हुन् ।


क्लिकमान्डु