सेयर धितोकर्जा १२ करोडमा झार्ने समय सकियो, बजार बढ्ने लगानीकर्ताको अपेक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ करोड भन्दा माथिको मार्जिन प्रकृतिको सेयरधितो कर्जा लिएका ऋणीलाई उक्त ऋण १२ करोडमा झार्न दिएको समय सीमा सकिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा भदौ ८ गते भित्र कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड कायम गर्न भनेको थियो ।

राष्ट्र बैंकले भनेको समयमा नै लगानीकर्ताले उक्त कर्जा सीमाभित्र झारिसकेको बताएका छन् ।

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार अहिले कुनै पनि लगानीकर्ताको कर्जा सीमा भन्दा माथि नरहेको बताउँछन् ।

बैंकले नै एक वर्ष भन्दा बढीको कर्जा नदिने भएका कारण सबैको कर्जाको सीमा १२ करोड कायम भएको उनको भनाइ छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशनमा कुनै ‘एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड कायम गरिएको छ’ भन्ने उल्लेख छ ।

यस्तै ‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह÷नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ’ भन्ने उल्लेख छ ।

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल लगानीकर्ताका कारण बैंकले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने अवस्था नरहेको बताउँछन् । अहिले लगानीकर्ताले सेयर बेचेर, कसैले कोल्याटर राखेर भए पनि १२ करोडको सीमा कायम गरिएको उनको भनाइ छ । ‘अब लगानीकर्ताको लोन १२ करोड भन्दा माथिको नहोला’ उनले भने ।
राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले अब सेयर बजारमा सप्लाई घट्दै जाने लम्सालको भनाइ छ ।

‘हिजोसम्म ठूला लगानीकर्ताले लोन सेटल गर्न भए पनि सेयर बिक्री गरे’ उनले भने, ‘आजबाट ठूलाको सप्लाई घट्ने भयो । हिजोसम्म सप्लाईले थिचेको थियो ।’

मंगलबारसम्म सप्लाईले थिचेको बजार अब स्वतन्त्र रुपमा चल्नेमा लगानीकर्ता आशावादी रहेका देखिन्छन् । यसले बजार बढ्न कुनै न कुनै रुपमा सहयोग गर्ने उनको बुझाइ छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गरेको थियो ।

चालु आवको मौद्रिक नीतिले ४ करोडको सिमा भने हटाएको छ । राष्ट बैंकले गरेको ४÷१२ को नीतिका लगानीकर्ताले चर्को बिरोध गरेका थिए ।


क्लिकमान्डु