आर्थिक संकट मानवीय संकटमा बदलिएपछिको श्रीलंका- अर्थतन्त्र उकासिने छैन सुरसार



एजेन्सी । आर्थिक संकटमा परेको श्रीलंकाको समग्र क्षेत्र नराम्ररी प्रभावित भएको छ । समग्र क्षेत्रमा परेको प्रभावको केन्द्रमा भने महिला, बालबालिका तथा वृद्धवृद्धा परेका छन् ।

श्रीलंकामा विशेष गरी महिलाका समस्या सबैभन्दा बढी छ । जो सबैभन्दा धेरै प्रभावित भएका छन् । आफू र आफ्नो परिवारलाई जीवित राख्न उनीहरुले धेरै संघर्ष गरिरहेका छन् । अर्थात् नारीको जीवन पूर्ण रूपमा परिवर्तन भएको छ ।

श्रीलंकाको आर्थिक संकटको खबर लगातार मिडियामा आइरहेको छ । गोताबाया राजपाक्षे देश छोडेर भागेपछि रनिल विक्रमासिंघेले सत्ताको कमाण्ड सम्हालेका छन् । तर, जनताले उनीहरुलाई विश्वास नगरेको र अवस्था अझै नियन्त्रणमा आएको छैन ।

मध्यमवर्गीय महिलाका विकल्प सकिँदै गएका छन् । श्रीलंकाको द सोसल आर्किटेक्ट (टिएसए) संस्थाकी शिरिन जेभियरका अनुसार देशका सहरी मध्यम वर्गका महिलाले भोग्नुपरेको संकट गहिरिँदै गएको छ ।

श्रीलंकाको आर्थिक संकटको प्रभाव महिलामा, विशेष गरी शहरमा स्वतन्त्र रूपमा बस्ने महिलामा धेरै असमान तरिकाले वृद्धि भएको छ ।

उदाहरणका लागि, पहिले कार वा स्कुटरमा काम गर्न जाने महिलाले अहिले सार्वजनिक यातायातको पर्खाइमा घण्टौं बस्नुपरेको छ । तिनीहरूले परिवारका अन्य सदस्यहरूको अनुहार हेर्छन् , लाग्छ, उनीहरुको स्वतन्त्रता पूर्ण रुपमा समाप्त भएको छ ।

किन यस्तो भयो ?

देश संकटमा परिरहँदा पेट्रोलियम पदार्थमा सबैभन्दा ठूलो संकट देखिएको छ । पेट्रोल भर्नका लागि मानिसहरु केही दिनसम्म लाइन बसिरहेका छन् । ३ हजारदेखि ५ हजार सवारीसाधन पेट्रोलको लाइनमा रहेका छन् र ती सवारीसाधन अधिकांश पुरुषले चलाउने गरेका छन् । कहिलेकाहीँ २ /३ दिनपछि मात्रै पालो आउँछ । पेट्रोल, डिजेल र ग्यासको मूल्य ओरालो लाग्ने सम्भावना तत्काललाई देखिएको छैन ।

ग्यासको मूल्य अकासिएपछि घर चलाउन महिलालाई विशेष रुपमा समस्या परेको छ । केही लाइनमा बसेका हुन्छन्, उनीहरुले खानासमेत पाएका छैनन् ।

अहिले अधिकांश घरमा ३ पटकको सट्टा २ पटक वा धेरैले त एक पटक मात्रै खाना पकाउने गरेका छन् । त्यो पनि अनौठो तरिकाले । भात, दाल, तरकारी सबै एउटै कुकरमा राखेर सिट्टी बजाइन्छ ।

तरकारीको अभाव छ । आलु, प्याज आदिको मूल्य उस्तै अकासिएको छ । महँगो भए पनि खानु परेको छ । खाद्य मुद्रास्फीति ९० प्रतिशत र रोटीको मूल्य मात्रै सय प्रतिशतले बढेको छ ।

एक सामाजिक कार्यकर्ता राधिका गुणरत्नेका अनुसार श्रीलंकाका महिलाहरूमा महिनावारीको सरसफाइमा पनि उत्तिकै जटिलता पैदा भएको छ ।

सेनेटरी प्याडजस्ता अत्यावश्यक वस्तुमा पहिल्यै चर्को कर लगाइएको थियो र अहिले ५२ प्रतिशत कर लाग्ने भएकाले ५० प्रतिशत महिनावारी भएका महिला प्याड किन्नबाट वञ्चित छन् ।

यसलाई ‘पिरियड पोभर्टी’ भनिन्छ । श्रीलंका यससँग जुधिरहेको छ । श्रमजीवी महिलाहरूले प्याडको सट्टा कपडा प्रयोग गर्छन् । आजकल प्याड एक विलासी वस्तु हो र यो किन्न गाह्रो छ भन्ने स्थापित भएको छ ।

कसैले तपाईंले प्याड वा खाद्य वस्तु मध्ये कुन एक किन्नुहुन्छ भनेर सोध्यो भने धेरैले खाद्य वस्तु भन्ने उत्तर दिने गरेका छन् । त्यो पनि पाउन मुस्किल छ ।

स्ट्यान्ड अप मुभमेन्ट श्रीलंकाकी आशिला दण्डानिया भन्छिन् , ‘आर्थिक संकटअघि एक सेनेटरी प्याक ९० रुपैयाँमा उपलब्ध थियो तर अहिले ३५० रुपैयाँ पर्छ । सबैभन्दा सस्तो २०० रुपैयाँमा रुमाल मात्रै पाइन्छ ।’

शिरिन क्यानडाकी हुन् । उनी भन्छिन्, ‘अहिले ट्वाइलेट पेपर पनि निकै महँगो छ । १५०० रुपैयाँ खर्चेर मात्रै ट्वाइलेट पेपरको रोल पाइन्छ ।
हामी पहिले युद्धको नतिजाको सामना गरिरहेका थियौं, त्यसपछि कोभिड–१९ आयो । सरकारको गलत नीतिले गर्दा हामी त्यसबाट मुक्त हुन सकेनौं, रसातलमा पुग्यौं । लकडाउनका कारण बालबालिकाहरु लामो समयदेखि अनलाइन पढिरहेका थिए । पछि विद्यालयहरु खुले । अहिले त पैसा भएपनि कुनै पनि सामान किन्न नसकिने भयो’ अधिकांशको पीडा यस्तै छ ।

अहिले घन्टौं बिजुली काटिने गरिएको छ । कहिले कुनै क्षेत्रमा त कहिले अर्को कुनै क्षेत्रमा । विद्यार्थी र शिक्षकलाई अध्ययन अध्यापनमा समस्या छ । स्वास्थ्य सेवा खराब अवस्थामा पुगेको छ । त्यसैले धेरैजसो आकस्मिक अवस्थामा मात्र अस्पताल जान्छन् ।

नि:शुल्क औषधि नपाउँदा र अस्पतालमा कर्मचारीको चरम अभाव हुँदा गर्भवती महिलाले सबैभन्दा बढी मार खेप्नु परेको छ ।

श्रीलंकाको स्वतन्त्र व्यापार क्षेत्रमा महिला कामदारहरूको ठूलो संख्या छ । यहाँको कपडा तथा कपडा उद्योगले देशको १५ प्रतिशत रोजगारी प्रदान गरेको छ । निर्यातमा ५० प्रतिशत योगदान सोही क्षेत्रले दिएको छ ।

यो स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत् पर्दछ । जहाँ १ लाख ५० हजार भन्दा बढी कामदार छन् । प्रत्येक १० कामदारमध्ये ८ जना महिला छन् ।

यहाँ कुनै पनि श्रम कानून लागू हुँदैन, त्यसैले श्रमिक चर्को शोषणको सिकार भएका छन् । औसत तलब रु २८ हजार बराबर हो । जुन ओभरटाइम थपेपछि ३५ हजारसम्म पुग्न सक्छ ।

महामारी र आर्थिक संकटले यस क्षेत्रलाई पहिले नै तहसनहस गरिसकेको थियो । तलब घटाइएको थियो र त्यहाँ ठूलो संख्यामा कामदार कटौती गरियो ।

धेरै कारखानाहरू बन्द भइरहेका छन् र थप बन्द हुने सम्भावना छ । किनभने विश्व बजारमा श्रीलंकाको प्रतिष्ठा यति हदसम्म खस्किएको छ कि, नयाँ अर्डरहरू धेरै कम छन् ।

समयमै अर्डर नपुगेको कारण यस्तो भएको हो । फलस्वरूप, भारत र बंगलादेशको तुलनामा कपडा निर्यातमा श्रीलंकाले २० प्रतिशतसम्म गिरावट सहेको छ ।

त्यहाँको दैनिक अखबार द मर्निङ अफ श्रीलंकाका अनुसार यस क्षेत्रको समस्या यति गम्भीर बनेको छ कि ठूलो संख्यामा महिला (पुरुषभन्दा बढी) कामका लागि देश छाडिरहेका छन् । बेरोजगार महिलामा मानसिक समस्याको मात्रा बढेको छ ।

एसयूएमएलका निर्देशक आशिला डन्डानिया भन्छिन्,’स्वतन्त्र व्यापार क्षेत्रमा धेरै काम गर्ने महिलाहरूलाई अवैध रुपमा यौन शोषण गरिएको छ ।’

कोलम्बोमा यौनकर्मीको संख्या जनवरी २०२२ मा लगभग २२.३० प्रतिशतले बढेको थियो । उनीहरूले १४ वटा स्वतन्त्र व्यापार क्षेत्रमा काम गर्ने आप्रवासी कामदार र यौनकर्मीसँग काम गर्नु परेको थियो ।

द मर्निङ पत्रिकाले एक महिला कामदारको अन्तर्वार्तालाई उदृत गर्दै लेखेको थियो ‘हामीले उद्योग बन्द हुने कुरा सुनिरहेका थियौं । यो सुनेर हामी डराउँछौं । अहिले हामीले यौनकार्यबाट दैनिक १५ हजार रुपैयाँसम्म कमाउँछौँ ।’

यो काम आफूलाई मन नपर्ने भए पनि स्पा सञ्चालकले बोलाएपछि जबरजस्ती गर्न बाध्य भएको उनी बताउँछिन् ।

‘यी महिला आफ्ना आमाबाबु, भाइबहिनी र बच्चालाई आर्थिक सहयोग गर्न आतुर छन्’ एसयूएमएलका निर्देशक आशिला डान्डेनियाले एएनआई मार्फत् द मर्निङलाई बताइन् ।

‘यदि यो सत्य हो भने यो धेरै अमानवीय छ’, शिरीन जेभियर र राधिका भन्छिन्, ‘सानो नमूनाको आधारमा यो भन्नु सानो कुरा होइन । यदि यो साँच्चै भइरहेको हो भने सरकारले छानबिन गरी ठोस तथ्य संकलन गरी दोषीमाथि कारबाही गरिनुपर्छ ।’

राधिका भन्छिन्, ‘आर्थिक संकटपछि महिलाको आर्थिक अवस्थामा धेरै विनाश भएको छ ।’

ग्राहकहरूले असुरक्षित यौनसम्पर्क गर्न बाध्य पार्छन् जसले उनीहरूलाई एड्स र यौन रोगहरू लाग्ने जोखिम रहन्छ । श्रीलंकामा वेश्यावृत्ति खुलेआम होइन, तर स्पा, वेलनेस सेन्टर वा मसाज पार्लर आदिको नाममा हुने गरेको छ ।

कतिपय ठाउँमा यौनकार्य पनि अस्थायी रूपमा चल्छ । अखबारका रिपोर्टहरूले पनि कहिलेकाहीं पसलले अत्यावश्यक वस्तुहरू र औषधिको सट्टामा यौन सम्पर्क गराएको पाइन्छ । तर यसबारे ठोस प्रमाण भने उपलब्ध छैन । आशिला आफैं यौनकर्मीहरूमाझ काम गर्छिन् तर ठोस तथ्यांक दिन असमर्थ छिन् ।

अधिकांश यौन कार्य स्वतन्त्र व्यापार क्षेत्र र बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थल वरपर हुने गरेको रिपोर्टहरूले बताएको छ । यो प्रहरी संरक्षण अन्तर्गत हुन्छ ।

उनीहरुले महिलालाई यौन शोषण पनि गर्छन् । प्रतिवेदन प्रमाणित होस् वा नहोस्, गरिबीका कारण यो सम्भावना बढेको हो । यसमा सरकारले के गरिरहेको छ ? भन्ने जिज्ञासा सबैभन्दा बढी छ ।

बालअधिकारवादी संस्था ‘सेभ द चिल्ड्रेन’ ले सन् २०२२ को मे–जूनमा घरेलु अर्थतन्त्रमा आर्थिक संकटको प्रभाव अध्ययन गर्ने उद्देश्यले सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणमा देशका ९ जिल्लाका २३०९ जनासँग अन्तर्वार्ता लिइएको थियो । जसमध्ये ४९.८ प्रतिशत महिला थिए ।

घरपरिवारले आफ्नो आय गुमाएका छन् । किनभने तिनीहरूले काम छोडेका थिए । महिला प्रमुख घरपरिवारले पुरुष प्रधान घरपरिवारको तुलनामा आफ्नो पूर्ण आम्दानी गुमाउने सम्भावना बढी हुन्छ किनभने महिलालाई छाड्न सजिलो हुन्छ ।

केवल ४९ परिवारले सबै आधारभूत आवश्यकताहरू पूरा गर्न सक्छन् – जस्तै खाना, स्वास्थ्य सेवा, शिक्षा आदि । कूल ३१ प्रतिशत परिवारले मात्र खाद्य आवश्यकता पूरा गर्न सक्छ ।

‘ठूला कम्पनीहरु जस्तै लुइस, नाइकी, नेक्ट, भिक्टोरियाज सेक्रेट–का लागि काम गर्ने कामदारहरूले घण्टौंसम्म, बिना ब्रेक उभिएर, सहयोग नपाए कसरी काम गर्ने ?’ महिला कामदार विस्मी वर्णाचपा सोध्छिन् ।

युनियनले आपूर्तिकर्ता र ब्रान्ड मालिकसँग एक सही मार्ग पत्ता लगाउन सम्वाद गर्नुपर्छ । यो संकटमा सम्मानजनक जीवन जिउनको लागि आफूहरुले उचित तलब पाउनु सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘आपूर्तिका लागि थप समय दिनुपर्छ, नत्र हाम्रो अर्डर घटाइनेछ । यो सत्य हो कि अर्डर घट्दा काम गर्ने घण्टा घटेको छ र ज्याला पनि घटेको छ । बर्खास्ती र जागिरबिहीन भइरहेका छन् । कम्पनीहरु पनि बन्द भइरहेका छन्’ उनले भनिन् ।

खाद्य संकट यति ठूलो थियो कि जुनदेखि कोलम्बोका १२ वटा चर्चमा सामुदायिक किचन सुरु गरिएको छ । यहाँ दैनिक १५ सय जनालाई खाना खुवाइन्छ । महिलाहरू खाना पकाउँछन् । त्यसका लागि चीन र भियतनामबाट सहयोग भइरहेको छ । बौद्ध सन्तहरूले पनि पसलमा चामल दिन्छन् । यहाँ खाना दाउराको आगोमा पकाइन्छ । तर दाउरा प्रतिकिलो २ सय र चामल २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

श्रीलंकाको अर्थतन्त्र धेरै हदसम्म कृषिमा आधारित छ । बाँकी निकासीबाट हुने राजस्व हो । तर देशमा कृषिलाई व्यवस्थित रुपमा अघि बढाउन सकिएको छैन । डेली मिररका अनुसार, कोपा कमिटीले किसानले आफ्नो नाफा देख्ने र सरकारसँग कुनै कृषि नीति वा योजना नभएकाले खाद्यान्न र तरकारीहरू आफैंले उत्पादन गर्ने बताएको छ ।

सरकारले रासायनिक मलमा पनि प्रतिबन्ध लगाएको छ । यातायात वा भण्डारण सुविधा उपलब्ध छैन । बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न खेर गइरहेको छ ।

जसका कारण खाद्य संकट अप्रत्याशित रुपमा बढेको छ । रेडक्रस र रेड क्रिसेन्टको अन्तर्राष्ट्रिय महासंघले २४ लाख मानिस गरिबीको रेखामुनि रहेको बताएको छ ।

एकातिर जहाँ यी मानिस खाद्य संकटको सामना गरिरहेका छन्, अर्कोतर्फ ४० देखि ५० प्रतिशत अर्थात् २ लाख ७० हजार मेट्रिक टन तरकारी तथा फलफूल ढुवानीको अभावमा बोरामा राखिएको छ ।

कपडा उद्योगमा कार्यरत महिला कामदार शान्तिले आफ्नो ज्याला घटेको भए पनि चामल, तरकारी र माछाको मूल्य शतप्रतिशत बढेको एसिया फ्लोर वेज एलायन्ससँगको कुराकानीमा बताइन् ।

‘हरेक परिवारमा महिलाले कम खाएर वा एकपटक खाएर काम गर्छन् । हामी पहिले बच्चा र वृद्धलाई खुवाउँछौं , त्यसपछि श्रीमानलाई’ उनले भनिन् । प्याक गरिएको खाना कारखानामा पाइन्छ तर गुणस्तर दिनानुदिन खस्किँदै गएको छ ।

आशिला भन्छिन्, ‘पहिले बालबालिकाका लागि दूधको धुलो र चिया–कफी प्रति प्याकेट ३५० रुपैयाँ (४०० ग्राम) थियो तर अहिले यसको मूल्य बढेर २ हजार पुगेको छ । यो हाम्रो पहुँच बाहिर छ । त्यसोभए तपाईंले बुझ्न सक्नुहुन्छ कि श्रमिक परिवार कसरी जीवन बिताइरहेको छ ।’

यी सबैको बावजुद ठूलो संख्यामा कामदार र चर्चका पास्टरले अझै असुन्तुस्टि जनाइरहेका छन् । यो कठिन समयमा पनि उनीहरु अक्षम सरकारको नीति मान्न तयार छैनन् ।


क्लिकमान्डु