महंगी ६ वर्षयताकै उच्च विन्दुमा



नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार असारमा जेठ महिनाको तुलनामा ०.४८ प्रतिशत विन्दुले महँगीको वृद्धिदर घटेपनि गत आर्थिक वर्षमा ६ वर्ष यताकै धेरै महँगी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनाको तुलनामा असारमा महँगी घटेको छ ।

गत जेठमा ८.५६ प्रतिशतले मूल्यवृद्धि भएकोमा असारमा ८.०८ प्रतिशतले मूल्य बढेको हो । पछिल्लो ६ वर्षमा तेस्रोपटक ८ प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि २०७३ साउनमा ८.६१ प्रतिशतले महँगी बढेको थियो । त्यसयता गत जेठसम्म मूल्यवृद्धि ८ प्रतिशतभन्दा कम नै थियो ।

तर, गत जेठ महिनामा पेट्रोलियम पदार्थको मूल्य बढ्दा विभिन्न वस्तु तथा सेवाको मूल्य बढेपछि महँगी उच्च दरमा बढेको थियो ।

पछिल्लो समय पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यमा केही गिरावट आएपछि जेठको तुलनामा असारमा महँगी घटेको हो ।

असारमा महँगी केही कम भए पनि गत आर्थिक वर्षमा पछिल्लो ६ वर्ष यताकै धेरै मूल्यवृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको वार्षिक मूल्यवृद्धि ६.३२ प्रतिशत थियो । जुन ६ वर्ष यताकै धेरै मूल्यवृद्धि हो ।

भारतले नाकाबन्दी गरेको आर्थिक वर्ष २०७२र७३ मा मूल्यवृद्धि ९.९२ प्रतिशतले थियो । त्यसपछि आर्थिक वर्षमा २०७६र७७ मूल्यवृद्धि ६.१५ प्रतिशत विन्दुले बढेको थियो ।

गत आर्थिक वर्षमा रुस र युक्रेन युद्धले खाद्यवस्तुका साथै पेट्रोलियम पदार्थको समेत मूल्य बढेपछि महँगी बढेको हो ।

गत वर्ष खाद्य वस्तुको मूल्य ५.६९ प्रतिशतले वृद्धि हुँदा गैर खाद्य वस्तुको मूल्य ६.८३ प्रतिशतले बढेको छ ।

गत वर्ष सबैभन्दा धेरै घिउ तेलको मूल्य २६.१३ प्रतिशतले वृद्धि हुँदा मसलाको मूल्य १.५ प्रतिशत र तरकारीको मूल्य ०.९७ प्रतिशतले घटेको छ ।

गत वर्ष गैर खाद्यतर्फ यातायातको भाडा सबैभन्दा धेरै १५.८२ प्रतिशतले बढेको छ । यस्तै, सञ्चारको मूल्य भने सबैभन्दा कम २.११ प्रतिशतले बढेको छ ।

गत वर्ष काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईंमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ र हिमालमा ६.०७ प्रतिशतले महँगी बढेको छ ।


क्लिकमान्डु