चीनमा पनि देखियो आर्थिक मन्दीको असर, अलिबाबाले एकै पटक हटायो १० हजार कर्मचारी



एजेन्सी । संसारभर नै आर्थिक मन्दीको चरम असर परेको छ । विशेषगरी कमजोर अर्थतन्त्र भएका अधिकांश देश संकटको घडीमा परेको छ । इन्धनको मूल्यबृद्धि, रुस युक्रेन युद्ध तथा कोरोना कहर तथा अन्य आन्तरिक तथा बाह््य कारणले गर्दा विश्वव्यापीरुपमा आर्थिक संकट गहिरिएर गएको छ । दक्षिण एशिया त्यसको सबैभन्दा बढी मारमा परेको छ ।

श्रीलंका त संकटमा डुब्यो नै । त्यस देशलाई सम्हालिन अझै लामो समय लाग्नेछ । पाकिस्तानको हालत त्यस्तै छ । बंगलादेशले पनि संकटको सामना गरिरहेको छ । संकटको समाना गर्नेमा नेपाल पनि अग्रस्थानमा छ । माल्दिभ्स पनि उस्तै संकटमा छ ।

अन्य देशहरुले पनि संकटको पहलुमा परेको छ । त्यसबाट बाहिर निस्कनका लागि गरिएका सबै प्रयाससमेत नकाम सिद्ध भएको छ ।

ठूला अर्थतन्त्र भएका देशहरुले समेत समस्या भोगेका छन् । अमेरिकाको फेडरल रिजर्भले डलरको सञ्चिति बढाउन तथा संसारभरबाटै डलर तान्न गरिएका प्रयासका कारण विश्वभर नै डलर संकट पनि बढेर गएको छ । स्थानीय मुद्राको तुलनामा डलरको मूल्यबृद्धि भएको छ ।

पछिल्लो विवरणअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशसमेत आर्थिक समस्याको डिलमा फसेको छ । यस्तै, पहिलो अर्थतन्त्र भएको देश अमेरिकामा समेत मूल्यबृद्धि चारदेखि ७ प्रतिशतको हाराहारीमा भएको समाचार विवरणहरु सार्वजनिक भएका छन् । एकातिर रुस र युक्रेनबीचको लडाई गराएर आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने अमेरिकी सोच यतिबेला असफल भएको छ । किनकी, त्यसको मार अर्थतन्त्रमा परेको छ ।

पछिल्लो पटक चिनियाँ प्रविधि कम्पनी अलिबाबाले करिब १० हजार कर्मचारीलाई निकालेको छ । यसको पछाडिको कारण चीनमा उत्पादनको बिक्रीमा आएको कमी र सुस्त अर्थतन्त्र रहेको बताइएको छ ।

चिनियाँ अखबार साउथ चाइना मर्निङ पोष्टका अनुसार जुन त्रैमासिकमा मात्रै सो कम्पनीले कूल ९ हजार २४१ भन्दा बढी कर्मचारीलाई विदाई गरेको छ । ती कर्मचारीले हाङ्झाउस्थित अलिबाबा कम्पनी छोडेका छन् । यसले कम्पनीको कुल कार्यबल २ लाख ४ हजार ७०० मा झरेको जनाएको छ ।

गत जुनसम्ममा कर्मचारीको संख्या १३ हजारभन्दा बढीले घटेको छ । पछिल्लो ६ महिना अर्थात् जुनसम्ममा अलिबाबाको कार्यबल १३ हजार ६१६ ले घटेको एक प्रतिवेदनले जनाएको छ । जुन मार्च २०१६ पछि फर्मको पहिलो गिरावट हो । यद्यपि, अलिबाबाका अध्यक्ष र सीईओ ड्यानियल झाङ योङले भने कि कम्पनीले यो वर्ष लगभग ६ हजार विश्वविद्यालयका नयाँ स्नातकलाई आफ्नो मुख्य गणनामा भर्ती गर्ने तयारी गरेको छ । जुन क्वाटरमा अलिबाबाको आम्दानी ३.४ बिलियन डलरले घटेको छ ।

अलिबाबाले जुन त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआनको तुलनामा २२.७४ बिलियन युआन (४३.४ बिलियन डलर) मा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट गरेको छ ।

चीनमा व्यापार गतिविधि नराम्ररी प्रभावित भइरहेको छ । र, यसको असर अलिबाबाको व्यवसायमा पनि परेको छ । अर्बपति ज्याक मा एन्ट समूह छोड्ने योजनामा छन् भन्ने विवरणहरु पनि यसैबीचमा सार्वजनिक भएका छन् ।

गत महिना सार्वजनिक भएको विवरणमा अरबपति ज्याक मा सरकारी नियामकहरूको दबाबको बीचमा एन्ट समूहमा आफ्नो नियन्त्रण छोड्ने योजनामा थिए ।

वालस्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार, यो कदम फिन्टेकसम्बद्ध अलिबाबा ग्रुप होल्डिङबाट टाढा जाने एक प्रयासको एक भागको रूपमा अभिप्रेरित गरिएको छ । जुन कम्पनी तीव्र सरकारी छानबिनमा परेको छ ।

सो कम्पनीमाथि चिनियाँ नियामकहरूले कडा कारबाही गरिरहेको विवरण सार्वजनिक भएको छ ।

गत वर्षदेखि, चिनियाँ नियामक अधिकारीहरूले इन्टरनेट क्षेत्रमा आफ्नो प्रभुत्व समाप्त गर्न अलिबाबा र एन्ट समूह जस्ता घरेलु टेक दिग्गजहरूमाथि कारवाही गरिरहेको छ ।

एक रिपोर्टका अनुसार ज्याक मा ले आफ्नो केही प्रमुख शक्ति प्रमुख कार्यकारी एरिक जिङ लगायत अन्य एन्ट समूहका अधिकारीहरूलाई हस्तान्तरण गरेर नियन्त्रण त्याग्न सक्छन् । सन् १९९९ मा स्थापना भएको, अलिबाबाले ठूलो फेरबदलको माध्यमबाट अगाडि बढेको छ ।

जब मा ले २०१५ मा डेनियल झाङ्गलाई सीईओको रूपमा नियुक्त गरे र २०१९ मा उनलाई अध्यक्ष नियुक्त गरे । समाचार विवरणहरुमा जनाइए अनुसार कम्पनीका धेरै प्राविधिक कर्मचारी र आउट सोर्सिङ गरिएका अन्य कम्पनीले पनि काम छोडेका छन् ।

पछिल्ला केही वर्षदेखि विभिन्न प्राविधिक कम्पनीले लगातार आफ्ना कर्मचारीहरूलाई हटाइरहेको पनि उत्तिकै विवरण सार्वजनिक भएको छ । क्रन्चबेसको रिपोर्ट अनुसार सिलिकन भ्यालीमा आधारित रहेका धेरै कम्पनीहरूले गत महिना मात्रै करिब ३२ हजार कर्मचारीहरूलाई निकालेको बताएको छ । यसमा ट्वीटर, टिकटक, सोफिया, नेटफिल्क्स, क्वाइनबेस जस्ता कम्पनीहरू सामेल छन् ।

ट्वीटरले केही महिनाअघि मात्रै आफ्ना ३० प्रतिशत कर्मचारीलाई हटाएको थियो । वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार माइक्रो–ब्लगिङ कम्पनी ट्विटरले पनि एलोन मस्कको ट्विटर सम्झौताको क्रममा लगभग ३० प्रतिशत कर्मचारीलाई निकालेको थियो ।

कम्पनीको खर्च निरन्तर बढिरहेको स्रोतले जनाएको छ । यही कारणले गर्दा यत्रो ठुलो परिमाणमा कर्मचारीको जागिर खोस्नु परेको बताइएको छ । यसको पछाडि आर्थिक कारण नै प्रमुख रहेको बताइएको छ । यसबाट विश्वव्यापी रुपमा आर्थिक संकट कसरी अगाडि बढीरहेको छ भन्ने पनि देखाउँछ ।

समाचार विवरण अनुसार संकटलाई कमजोर आक्दा र कम मूल्यांकन गर्दा अब त्यसको प्रभाव व्यापकरुपमा पर्न थालेको छ । यसको संकेत स्पष्टरुपमा देखा परिसकेको छ ।


क्लिकमान्डु