बिल गेट्स र वारेन बफेटले ल्याउँदैछन् सस्तो र सुलभ नयाँ ऊर्जा प्रणाली



एजेन्सी । संसारका अर्बपतिहरुले नयाँ खालको ऊर्जा प्रणालीको विकास गर्न खोजेका छन् । गत वर्षदेखि चर्चामा रहेको सो प्रणालीमा बिल गेट्स र वारेन बफेट जोडिएका छन् ।

उनीहरुले सो काम छुट्टाछुट्टै पनि गर्न सक्ने सम्भावना छ । त्यसका लागि उनीहरु गम्भीर मन्थनका साथ लगानीको मोडालिटी तयारीमा जुटेका छन् ।

उनीहरुले अगाडि सारेको सो ऊर्जा प्रणालीलाई नेट्रियम आणविक प्लान्टको नाम दिइएको छ । विश्वव्यापी रुपमा लगातार इन्धनको मूल्यवृद्धि भएपछि समस्यामा परेको विश्व बजारलाई उनीहरुको नयाँ योजनाले खासमा राहत दिन सक्ने बताइएको छ ।

बिल गेट्स र वारेन बफेटको ऊर्जा क्षेत्रका कम्पनीहरूले यो नयाँ आणविक प्लान्टमा सँगै काम गरिरहेको अन्तर्राष्ट्रिय समाचार विवरणहरुमा जनाइएको छ ।

‘यो ऊर्जाको क्षेत्रमा एउटा टर्निङ प्वाइन्ट हो’ माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो नयाँ ऊर्जा पाइलट प्रोजेक्ट नेट्रियमको बारेमा जानकारी दिँदै भनेका थिए ।

गेट्सले नयाँ किसिमको यो आणविक उर्जा प्लान्टको नाम ‘नेट्रियम’ राखेका छन् । यसको पेटेन्ट पनि भइसकेको छ ।

बिल गेट्स यस परियोजनामा करोडौं लगानी गर्दै वारेन बफेटसँगै मिलेर काम गरिरहेका छन् ।

यो प्लान्ट अमेरिकाको सबैभन्दा ठूलो कोइला उत्पादक राज्य वायोमिङमा निर्माण हुनेछ । त्यसको प्रारम्भिक काम समेत भइसकेको छ । यो जलवायु परिवर्तनविरुद्ध गेट्सको लडाइ र नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यको एक हिस्साको रुपमा लिइएको छ ।

आणविक ऊर्जा र नवीकरणीय ऊर्जा विरोधाभासी लाग्न सक्छ । तर केही क्षेत्रहरूमा यी साना र उन्नत रिएक्टरहरूलाई हरितगृह ग्यास उत्सर्जन कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

खासमा हावा–सौर्य ऊर्जा अभावको समयमा बिजुली आपूर्ति गर्न प्रमुख प्रविधिको रूपमा यसलाई लिइएको छ । तिनीहरू परम्परागत इन्धन बाहेक विभिन्न इन्धनहरूमा चल्छन् ।

बिल गेट्सले १५ वर्षअघि गठन गरेको कम्पनी ‘टेरापावर’ले यसै आधारमा यो परियोजनामा काम गरिरहेको छ । यसमा वारेन बफेटको ऊर्जा क्षेत्रको कम्पनी प्यासिफिक कर्प पनि समावेश छ ।

नट्रियम रिएक्टर र यसको एकीकृत ऊर्जा प्रणालीले देखाउँछ कि आणविक शक्ति धेरै क्षमता छ । यो प्रतिस्पर्धी हुनसक्छ । टेरा पावर नामक बेब साइटमा यसको बारेमा विस्तृतमा जानकारी दिइएको छ । यो संसारकै ऊर्जा प्रणालीको नयाँ स्वरुप र आधार तयार पार्न मद्दत गर्नेछ ।

यसको पाइलट प्रोजेक्ट हाल बन्द रहेको कोइला प्लान्टको ठाउँमा बनाइनेछ । तर यो आयोजना कुन ठाउँमा बन्ने हो भन्ने बारेमा थप अध्ययन भइरहेको छ । त्यसको घोषणा यसअघि नै गरिने भनिएपछि कोरोना कहरका कारण केही पर सरेको छ । काम धेरै अगाडि बढीसकेको छ ।

सबै तयारी पूरा भएपछि संसारलाई नयाँ प्रविधिको ऊर्जा प्रणालीको नयाँ क्षितिज खुलेको जानकारी दिइनेछ ।

नेट्रियनले कसरी काम गर्छ ? भन्ने बारेमा आम जिज्ञासा छ ।

टेरापावरको वेबसाइटमा दिइएको जानकारी अनुसार ऊर्जा उत्पादन र भण्डारणका लागि यो नयाँ प्रविधि हो । जसमा द्रुत सोडियम रिएक्टर र तरल साल्ट भण्डारण प्रविधि एकैसाथ प्रयोग गरिन्छ । यसको एउटा प्लान्टले ३ सय ४५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राखेको छ ।

यो भण्डारण प्रविधिले आवश्यक परे साढे पाँच घण्टासम्म ५०० मेगावाट विद्युत् आपूर्ति गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट करिब चार लाख घरधुरीको विद्युत् आवश्यकता पूर्ति गर्न सकिनेछ ।

स्पेनको आणविक उद्योग फोरमका अनुसार नेट्रियम एउटा नयाँ प्रविधि हो जसले अवस्थित रिएक्टरहरूको प्रविधिलाई सरल बनाउने लक्ष्य राख्छ । फर्मले टेरापावरसँगको सहकार्यमा यो प्रविधिको विकास गरेको हो ।

फोरमका अनुसार यस आणविक रिएक्टरमा प्राकृतिक युरेनियम र कमजोर युरेनियम इन्धनको रूपमा प्रयोग गरिने छ । एकै समयमा, सबै गैर–आणविक उपकरण अलग–अलग भवनहरूमा राखिनेछ । जसले यसलाई स्थापना गर्न सजिलो बनाउँछ र लागत पनि कम गर्दछ ।

कम्पनीका अध्यक्ष क्रिस लेभेस्कले यो आयोजनाको पाइलट प्लान्ट अर्थात् पहिलो प्लान्ट निर्माण गर्न करिब सात वर्ष लाग्ने बताएका छन् ।

नेट्रियमको बारेमा कुरा गर्दै उनले पत्रकारहरूसँग भनेका छन् ।‘हामीलाई सन् २०३० सम्ममा हाम्रो प्रणालीमा यस प्रकारको स्वच्छ ऊर्जा चाहिन्छ ।’

यो परियोजना पनि अमेरिकी ऊर्जा विभागको उन्नत रियक्टर प्रदर्शन कार्यक्रमको हिस्साको रुपमा लिइएको छ ।

बिजनेश इनसाइडरको रिपोर्ट अनुसार टेरापावरले नेट्रियम परियोजनालाई अगाडि बढाउन अमेरिकी ऊर्जा विभागबाट ८ करोड डलरको आर्थिक प्याकेज पनि प्राप्त गरेको छ ।

विभागले आगामी केही वर्षसम्म यस आयोजनालाई थप अनुदान दिने बाचा समेत गरेको छ ।

परियोजनाको कार्यक्रममा, वायोमिङका गभर्नर मार्क गोर्डनले ‘नकारात्मक कार्बन फुटप्रिन्ट’ को राज्यको लक्ष्य हासिल गर्न यो सबैभन्दा छिटो र सफा तरिका भएको कुरामा जोड दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘यो सानो रिएक्टरले माग अनुसार ऊर्जा उपलब्ध गराउनेछ । कार्बनडाईअक्साइड उत्सर्जन घटाउनेछ । यो प्लान्टको निर्माण र सञ्चालनले सयौं रोजगारी पनि सिर्जना गर्नेछ ।’

तर, अन्य केही क्षेत्रमा यस्ता आयोजनाको आशंका छ । युनियन अफ कन्सर्ड साइन्टिस्ट्स (यूसीएस), संयुक्त राज्य अमेरिकाको एक गैर–लाभकारी विज्ञान वकालत गर्ने समूहले चेतावनी दिएको छ कि नेट्रियम जस्ता उन्नत रिएक्टरहरूले परम्परागत भन्दा धेरै जोखिम हुनसक्छ ।
यूसीएस निर्देशक एडविन लिमनले रोयटर्सलाई भनेका छन्, ‘यो प्रविधि पक्कै पनि अवस्थित रिएक्टरहरू भन्दा फरक छ, तर यो पूर्ण रूपमा स्पष्ट छैन कि तिनीहरू राम्रो छन् ।’

यूसीएसद्वारा प्रकाशित एक प्रतिवेदनका लेखक लाइमन भन्छन्, ‘यो सुरक्षा, दुर्घटनाको जोखिम र आणविक प्रसार जस्ता धेरै पक्षहरूमा खराब छ ।’

यदि आणविक उर्जाले जलवायु परिवर्तनलाई रोक्नको लागि मुख्य भूमिका खेल्ने हो भने, नयाँ रिएक्टरहरू सुरक्षित र सस्तो साबित हुनुपर्दछ भन्नेमा जोड दिइएको छ ।

टेरापावरका अध्यक्ष लेभेस्कले यी प्लान्टहरूले आणविक फोहोर कम गर्न महत्वपूर्ण भूमिका खेल्ने कुराको बचाउ गरेका छन् । यसले खास अर्थमा नयाँ खालको ऊर्जा प्रणालीको विकास गर्नेछ ।

यो संसारका लागि पनि नयाँ खोजका रुपमा रहनेछ भन्ने विश्वास दिइएको छ । दुई अर्बपतिको साझेदारीले खासमा विश्वलाई नयाँ ऊर्जा प्रणाली देला त भन्ने जिज्ञासा पनि उत्तिकै छ ।


क्लिकमान्डु