राकेश झुनझुनवालाः एकैदिन २० करोड कमाए, अधुरो रह्यो स्वीमिङ र डान्स सिक्ने इच्छा 



ऐजेन्सी । ‘जोखिम लिन डराउन पर्दैन । तर, जोखिम त्यतीमात्र लिनुहोस् कि अर्को जोखिम लिने ठाउँ होस’

माथिको भनाइ भारतका चर्चित सेयर बजारका लगानीकर्ता राकेश झुनझुनवालाको हो । ६२ वर्षको उमेरमा आइतबार निधन भएका झुनझुनवालाले सेयर बजारमा पाएको सफलता र असफलताको पछाडि त्यही सुत्रले काम गरेको थियो ।  

झुनझुनवालाले हालैमात्र  आकाशा एयरलाइन्स शुरु गरेर उनले उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए । 

यही महिनामा एयरलाइन्सले पहिलो उडान भरेको थियो । झुनझुनवालालाई भारतको ’वारेन बफेट अफ इन्डिया’ भनेर पनि चिनिन्थ्यो ।  फोर्ब्सको सूची अनुसार उनी भारतका ३६औँ धनी व्यक्ति थिए । उनको कुल सम्पत्ति ५ अर्ब अमेरिकी डलरभन्दा बढी थियो । 

आकासा एयरलाइन्सलाई गत वर्ष अक्टोबरमा भारतको सरकारले सञ्चालनको स्वीकृति दिएको थियो । भारतको केन्द्र सरकारबाट अनुमति पाउनु अगाडि राकेश झुनझुनवाला र उनकी पत्नी रेखा झुनझुनवालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । झुनझुनवालाले प्रधानमन्त्री मोदीसँगको भेटको तस्विरले निकै चर्चा पाएको थियो । 

तस्बिरमा प्रधानमन्त्रीको उभिएकोमा कसैले प्रश्न उठाएका थिए भने कसैले उनको सर्टको बारेमा  प्रश्न उठाएका थिए । तस्बिरमा उनको सर्ट खुम्चिएको थियो । यद्यपि, उनले पछि इन्डिया टुँडे कन्क्लेभमा भनेका थिए,‘ मेरो सर्ट यस्तै नै हो, ६ रुपैयाँ तिरेर इस्त्री गराउन दिएको थिए,भेट गर्ने बेलामा फोल्ड भयो के गर्ने ? म यस्तै सर्ट लगाएर अफिस जाने गर्छु,।’

राकेश झुनझुनवालाले पनि सोही कन्क्लेभमा सेयर बजारको कारोबारबाट सन्यास लिएर पौडी सिकेर खेल्ने तथा डान्स सिक्ने बताएका थिए । 

सन् १९६० को जुलाई ५ राकेश झुनझुनवालाको जन्म भएको थियो । उनका बुवा भारतको कर सेवामा कार्यरत कर्मचारी थिए । एक अन्तर्वार्ताको क्रममा झुनझुनवालाले भनेका थिए, ’म वरिष्ठ कर अधिकारीको छोरा हुँ तर मारवाडी अग्रवाल हुँ।’

राकेशका बुबालाई सेयर बजारको बारेमा चासो थियो ।  कुन स्टक बढ्यो, कुन घट्यो भनेर उनका बुवा साथीहरूसँग छलफल छलफल गर्थे । बुवाले गर्ने कुराकानीको असर राकेशमा परेको थियो । राकेशलाई सेयर बजारको बारेमा १२ वर्षको उमेरमा चासो थियो । पत्रिकामा आउने सेयर मूल्य उनले बच्चा उमेरमा हेरेका थिए । १२ वर्षको उमेरमा सेयर बजारमा दिएको चासोको कारण राकेशका बुवाले भोलिको सेयर मूल्यको बारेमा भविष्यवाणी गर्न लगाउने गरेका थिए । 

बुवाको कारण उनको सेयर बजारमा शोक बढ्दै गयो । उनले पछि बुवालाई सेयर बजारमा करिअर बनाउन मन लागेको बताए । उनले झुनझुनवालाले सीए पढे । राकेशलाई बुवाले घरमा बस्न त सक्ने तर,पैसा भने एक रुपैयाँ नदिने बताएका थिए । 

सन् १९८५ मा राकेश दलाल स्ट्रिटमा प्रवेश गरेका थिए । जुनबेला उनलाई कसैले चिनेका थिएनन् । सन् १९९० को एउटा रोचक घटना राकेशको जिन्दगीसँग जोडिएको छ । राकेशको श्रीमतीले उनीसँग केहीपनि माग गरेकी थिइनन् । उनले कोठामा एसी जोड्न भनेकी थिइन् । त्यो बेला भारतमा प्रधानमन्त्री बीपी सिंहका निर्णय र भाषणलाई नजिकबाट हेरेर विश्लेषण गरेका थिए ।

बजेट आउने दिन उनले आफूसँग भएको ३ करोड रुपैयाँ बिहान सेयर बजारमा लगाएका थिए । उनले त्यो दिन निकै ठूलो जोखिम लिएका थिए । नयाँ दिल्लीमा बजेट भाषण भइरहेको थियो । राकेशको सम्पत्ति बढी रहेको थियो । ३ करोडको लगानी २० करोडमा पुगेको थियो । त्यो रात घर पुगेर राकेशले श्रीमतीसँग भनेका थिए, ‘हाम्रो कोठामा एसी आउने भयो ।’ 

राकेशले सेयर बजारबाट सधै नाफा कमाएका भने छैनन् । उनले घाटा समेत भोग्नु परेको थियो । उनले एटुजेट कम्पनीबाट १ अर्ब ५० करोड घाटा भएको बताएका थिए । उनी सेयर बजारका बिग बुल थिए । जसका ५ वटा सुझाव थिए । 

१ सेयर भाउ भगवान् हो, सम्मान गर्नुपर्छ

सेयर मूल्यलाई सधैभरी सम्मान गर्नुपर्छ । हरेक मूल्यमा एक खरिदार र एक बिक्रेता हुन्छ । र, भविष्यले मात्रै खरिद गर्ने वा बिक्री गर्ने सही छ भन्ने तय गर्छ । त्यसैले यो विषयलाई सधैभरी सम्मान गर्नुपर्छ । सेयर बजारबाट बाहिरिँदै गर्दा वा प्रवेश गर्दै गर्दा तपाईं गलत हुनसक्नुहुन्छ भन्ने पक्षलाई सम्मान गर्नुपर्छ ।

२ ऋण लिएर लगानी नगर्नु

बजारप्रति तपाईंको अनुमान गलत पनि हुनसक्छ । यदि तपाईंले कुनै स्टक खरिद गर्नुभयो र यसमा अनुमान अनुसार तल माथि हुन सक्छ । यस्तो अवस्थामा उधारो लिनु तपाईंका लागि समस्या बन्न सक्छ । त्यसैले सकेसम्म ऋण लिएर सेयर बजारमा लगानी नगर्नुहोस् ।

३ जोखिम

जोखिमसँग सधैभरी सावधान हुनु जरुरी हुन्छ । तपाईंले त्यति मात्रै लगानी गर्नुहोस् जति तपाईं छोटो समयमा जोखिम उठाउन सक्नुहुन्छ । त्यसैले लगानी गर्नु पूर्व जोखिम मूल्यांकन गर्नुपर्ने हुन्छ । कैयन पटक लगानीकर्ताहरु धेरै जोखिम लिँदा आफैलाई समस्यामा पार्छन् । त्यसैले त्यसमा विशेष ध्यान दिनुपर्छ ।

४ लगानी सिकाउन सकिन्न

गल्तीहरु गर्नुहोस् तर यस्तो गल्ती जुन तपाईं सहन सक्नुहुन्छ । यसले तपाईंलाई अर्को गल्ती गर्नबाट बचाउँछ । जुन गल्ती एक पटक गर्नुभयो त्यसलाई नदोहोर्‍याउनुहोस् । गल्ती दोहोर्‍याउनुको अर्थ विगतबाट केही नसिक्नु हो ।

५ आशावादी बन्नुहोस्

लगानीकर्ता आशावादी बन्नु भनेको पहिलो गुण हो । जुन बजारमा सफलता प्राप्त गर्नका लागि लगानीकर्ताका रुपमा हुनुपर्छ । यस्तो किनभने सेयर बजारमा तपाईंको धैर्यको परीक्षा हुन्छ । र, विश्वास तपाईंलाई रिवार्ड प्राप्त गर्छ ।


क्लिकमान्डु