आईएमई ग्रुपको प्रवेशसँगै सफ्टवेयर निर्माणमा आक्रमक बन्दै रिगो टेक्नोलोजी, एसएमई प्रडक्ट सार्वजनिक गर्दै



काठमाडौं । मुलुकको एक ठूलो व्यवसायिक समूह ‘आईएमई ग्रुप’को लगानीसँगै सफ्टवेयर निर्माण कम्पनी रिगो टेक्नोलोजीले आक्रमक बजार बिस्तारमा लागेको छ ।

कर्पोरेट लक्षित सफ्टवेयर निर्माण गरिरहेको रिगो टेक्नोलोजीले अब साना तथा मझौता (एसएमई) उद्योगहरुलाई आवश्यक पर्ने सफ्टवेयर बनाइरहेको छ ।

आईएमई ग्रुपसँग सहकार्य भएपछि एसएमईमा आवश्यक पर्ने सफ्टवेयर निर्माणमा लागेको रिगो टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकुन्द पोखरेलले बताए ।

‘एक ठूलो व्यवसायीक ग्रुपसँग सहकार्यपछि हामीले कार्य क्षेत्रलाई अझ विस्तार गर्दैछौं,’ पोखरेलले भने, ‘एसएमईका लागि सफ्टवेयर निर्माण गरिरहेका छौं ।’

नयाँ सफ्टवेयरलाई सफ्टलञ्च गरेर प्रयोगमा ल्याइसकेका छन् । एक/डेढ महिनामा औपचारिक रुपमा सार्वजनिक गरेर व्यवसायीक शुरुवात गर्ने कम्पनीको योजना छ ।

सन् २०१० देखि शुरु भएको रिगो टेक्नोलोजीमा एक वर्षअघि आइएमई ग्रुपले सेयर लगानी गरेको थियो । आइएमई ग्रुपको ठूलो नेटवर्क छ । उक्त नेटवर्कमार्फत् सफ्टवेयर व्यवसायलाई थप बलियो बनाउन सकिने उद्देश्यले आइएमईसँग सहकार्य गरेका पोखरेलले बताए ।

आईएमई ग्रुपको यही सञ्जालका लागि भनेर नयाँ प्रडक्ट बनाइरहेका छन् । जसमा रिटेल पस, होटल बुकिङ, बुकिङ एग्रिगेटरहरुमा प्रयोग गर्ने सफ्टवेयर निर्माण गरिरहेको उनले बताए ।

रिटेल लेभलमा आईएमई ग्रुपको जुन उपस्थिति छ, त्यो लेभलमा प्रयोग हुने सफ्टवेयर बनाइरहेको उनको भनाइ छ ।

‘अब हामी मासमा क्षेत्रमा जाने योजनासहित काम गरिरहेका छौं,’ पोखरेलले भने ‘अब तीन सय कर्पोरेटबाट १० हजार कम्पनीलाई सेवा दिने योजना बनाइरहेका छौं ।’

सरकारले नयाँ बजेटमार्फत् १० करोडभन्दा धरै वार्षिक कारोबार गर्ने सबै उद्योग व्यवसायहरुले ई–बिलिङ बिजक जारी गर्नुपर्ने नियम ल्याएको छ । त्यस्तै ५ करोभन्दा धेरै कारोबार गर्ने होटल, क्याफे व्यवसाय, इन्टरनेट सेवा प्रदायक, फर्निचर उद्योगहरुले पनि ई–बिलिङ जारी गर्नुपर्ने छ ।

सरकारले ल्याएको नयाँ नीतिले सफ्टवेयर व्यवसायलाई उत्साहित बनाएको छ । यही कुरालाई ध्यानमा राखेर साना तथा मझौला उद्योग व्यवसायका ई–बिलिङसहितको सजिलो सफ्टवेयर तयारी गरेको पोखरेलले बताए ।

अहिले मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये ८० प्रतिशतले आफ्नो सफ्टवेयर प्रयोग गरिरहेको पोखरेल बताउँछन् । त्यसबाहेक ठूला कर्पोरेट कम्पनीहरु पनि उनीहरुको प्रडक्ट प्रयोग गरिरहेका छन् ।

५० जनाभन्दा धेरै कर्मचारी रहेको रिगो टेक्नोलोजीले उत्पादन गरेका सफ्टवेयर नेपालसहित बिदेशी मुलुकमा समेत निर्यात भएका छन् ।

रिगो टेक्नोलोजीले मुख्य दुई क्षेत्र ह्युमन रिसोर्सेज म्यानेजमेन्ट सिस्टम (एचआरएमएस) र वित्तीय ब्यवस्थापन प्रणाली (ईआरपी) विकास गरेको छ ।

ह्युमन रिसोर्सेज म्यानेजमेन्ट सिस्टम (एचआरएमएस) कम्पनीको जनशक्ति व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयर हो भने वित्तीय ब्यवस्थापन प्रणाली (ईआरपी) संस्थाको आय–व्यय, खरिद–बिक्रि, हिसाब किताब, स्टक व्यवस्थापन, वित्तीय विवरण तथा वित्तीय विश्लेषण सम्बन्धि सफ्टवेयर हो ।

कम्पनी सञ्चालनका लागि जनशक्ति परिचालन महत्वपूर्ण पक्ष हो । जनशक्ति व्यवस्थापन, कानुनी पालना, तलब एवं ट्याक्स गणनामा सहजता र सहि हिसाब गर्न सहयोग हुनेगरी रिगो टेक्नोलोजीले एक दशकदेखि ठूला ब्यवसाय, वित्तीय संस्थाहरु, एवं गैर सरकारी संस्थाहरुलाई कर्मचारी व्यवस्थापन प्रणाली उपलब्ध गराउदै आएको छ ।

इन्टरनेटको सहज उपलब्धता, नेपाल सरकारको डिजिटल प्रविधि सम्बन्धि योजना एवं स्मार्टफोनको बढ्दो प्रयोगलाई ध्यानमा राखी रिगोका दुवै सफ्टवेयरहरुका धेरै सुविधाहरु मोबाइल तथा ट्याब्लेट बाट चलाउन मिल्ने गरि तयार गरिएका छन् ।

जसले गर्दा लगानीकर्ता, ब्यवस्थापक, प्रवन्धक तथा कर्मचारीहरुले आफ्नो दैनिक कार्य मोबाइलमा एपको माध्यमबाट सहज रुपमा गर्न सक्छन् । साथै कर्मचारीले सेल्फ सर्भिस एप, रिटेल शप, रेस्टुरा तथा पेट्रोल पम्पहरुले रिटेल पस एपको माध्यमबाट कम्प्युटरबिना मोबाइल वा ट्याब्लेटको माध्यमबाट काम गर्न सक्छन् ।

बिशेषतः नयाँ प्रविधिको बिकास, युवा जनशक्तिको काम गर्ने तरिका तथा कोभिडपछिका चुनौती लगायतका कारणले सृजना गरेको ह्युमन रिसोर्सेज म्यानेजमेन्ट सिस्टम को बदलिदो परिस्थिति तथा अवसरलाई आत्मसात गर्दै जनशक्ति व्यवस्थापनका बृहद पक्षलाई समेट्ने गरि नेक्स्ट जेनेरेसन एच आर एम एस प्लेटफर्म निर्माणको अन्तिम चरणमा रहेको छ।

यस सफ्टवेयरले कर्मचारी भर्ना गर्नेदेखि अवकाश प्राप्त गर्ने सम्मको सम्पूर्ण प्रक्रियाहरुलाई सजिलो तरिकाले समेट्छ । नयाँ एचआरएमएस प्लेटफर्मले मझौला देखि ठूला व्यवसायहरुलाई आफ्नो जनशक्ति ब्यवस्थापनमा लर्निंग, पर्फर्मेन्स तथा डेभलपमेन्टको दृष्टिकोणबाट नयाँ आयाम दिई संस्थाको उद्देश्य प्राप्तिमा महत्वपूर्ण सहयोग पुर्याउने पाखरेलले बताए ।

नेपालमा युजर एक्सपेरीएन्सलाई ध्यानमा राखेर कमै मात्र सफ्टवेयर तयार भएका छन् । पोखरेलका अनुसार रिगोका सफ्टवेयरका नयाँ संस्करणमा युजर एक्सपेरीएन्सलाई बिशेष ध्यान दिइएको छ ।

परम्परागत डेस्कटपमा आधारित सफ्टवेयर तथा पुरातनवादी फ्रेमवर्कमा बिकास गरेका वेबमा आधारित प्रयोग गर्न असहज सफ्टवेयरहरुलाई रिगोले बिकास गरेका सहज सफ्टवेयरले विस्थापन गर्ने कुरामा पोखरेल बिश्वस्त छन् ।


क्लिकमान्डु