राष्ट्र बैंकको नीतिले सेयर बजार घटाएको वा करेक्सन गरेको हो ?



काठमाडौैं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बुधबार ३०औं वार्षिकोत्सव मनायो ।

वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका अर्थमन्त्रीले लगानीकर्ताको समस्या समाधान गर्न समिति गठन गरेको र गभर्नरसँग छलफल गरेको जानकारी दिए ।

अर्थमन्त्री शर्माले लगानीकर्तामैत्री बजेट ल्याएको दाबी गरेपनि त्यसलाई सेयर लगानीकर्ताले स्वागत गर्न सकेका थिएनन् । बजेटपछि लगातार घटेर २०२० बिन्दुमा पुगेको नेप्से परिसूचक बुधबार ६० अंकले बढेर २०८० बिन्दुमा पुगेको छ ।

अर्थमन्त्रीले दिएको आश्वासनकै कारण लगातार घटेको बजारमा लगानीकर्ताले बुधबार भने राहत पाए । अर्थमन्त्रीले समस्या समाधानको कार्यान्वयन कसरी हुन्छ भन्ने आधारमा सेयर बजारको आगामी भविष्य निर्भर हुन्छ ।

स्थानीय निर्वाचनपछि बजार बढ्ने आशा लगानीकर्तामा थियो । तर, तरलता अभावलगायतका कारणले स्थानीय निर्वाचनपछि बजार बढ्न सकेन ।

सेयर बजारमा बुल र बियरिस हुँदा सबैभन्दा ठूलो प्रभाव राष्ट्र बैंकले लिने नीतिको देखिँदै आइएको छ । यसअघि २०६५ सालमा ११६५ बिन्दुमा रहेको नेप्से परिसूचकले बुलिस ट्रेन्ड समात्नुको कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीसम्बन्धी नीति नै थियो ।

त्यसपछि २०७३ सालमा आएको बुलको पछाडि पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीकै नीतिको प्रभाव थियो । र, २०७८ सालको बुलमा पनि राष्ट्र बैंकले लिएको खुकुलो कर्जाको नीति कारक बन्यो । २०७८ सालमा चुक्ता पुँजी बढाउने नीति नभए पनि यसअघिको बुलमा चुक्ता पुँजीसँगै कर्जाको ब्याजदर सस्तो भएको कारण थियो ।

यसपटकको बुल अघिल्लो पटकभन्दा फरक थियो । यसअघि काठमाडौं उपत्यका र त्यसमा पनि पुतलिसडक आसपासमा सीमित हुने बुल मार्केट यसपाली भने देशभर फैलियो ।

कुनै पनि कम्पनीको आइपीओ अनलाइनबाटै भर्न किने र अनलाइनबाटै दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्थाले देशका दूरदराजसम्म यसको पहुँच क्षणभरमै पुग्यो ।

घरमै बसेर सहजै सेयर कारोबार गर्न सकिने भएपछि लगानीकर्ताको संख्या बढ्यो । २०७६ साल चैतसम्म १६ लाख रहेको डिम्याट खोल्नेको संख्या करिब ५२ लाख पुगिसकेको छ । मेरो सेयरको सुविधा लिनेको संख्या ४६ लाख पुगेको छ । साथै, टीएमएसको लिनेको संख्या १४ लाखभन्दा बढी पुगेको छ ।

त्यसमाथि कारोनाका कारण सिर्जित लकडाउनका कारण घरभित्रै बस्न बाध्य लगानीकर्तालाई लगानीको सजिलो माध्यम सेयर बजार बन्यो । फलस्वरुप नेप्से परिसूचक इतिहासमै सबैभन्दा बढी ३२ सयको अंक छोएर २०२० विन्दुसम्म झर्यो ।

करिब १२ सय अंकले बजार झार्दा लगानीकर्ताले करिब ८ खर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् ।

‘ठूला लगानीकर्ताहरु २८ सय बिन्दुबाट नै बजारबाट बाहिरिन थालेका थिए, साना लगानीकर्ता यो पटकको बियरिसमा बढी मारमा परे,’ एक सेयर ब्रोकरले भने ।

यसपटकको धेरै लगानीकर्ताले बुल आएर बियरिस ट्रेण्डमा बजार गएको पत्तो नै पाएनन् । २०७६ सालको चैतमा १३ सय बिन्दुमा रहेको सेयर बजार २०७८ सालको भदौ २ मा ३१९९.०२ बिन्दुमा पुगेर २०२० बिन्दुमा झरेको मेसो नै पाएनन् ।

सेयर बजारमा धेरैवटा उतारचढाव देखेका लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बुल र बियरिसको पुरानो मान्यता यो पटक भत्केको बताउँछन् ।

‘३/४ वर्षसम्म बुलमा रहने र त्यही अवधि बियरिस हुने चक्र यसपटक बुलिसको क्रममा रहेन, ३२ सय बिन्दुमा पुगेको बजार एकवर्ष नपुग्दै २०२० मा पुग्यो, जसलाई हामीले अनुमान गर्न सकेनौं,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंककै नीतिका कारण नेप्से परिसूचक ३२ सय विन्दुमा पुगेको थियो । राष्ट्र बैंकले बैंकका शाखा गाउँसम्म पुर्याउने नीतिले सर्वसाधारणलाई डिम्याट खाता खोल्न सजिलो भयो । कोभिडपछि समस्यामा परेको अर्थतन्त्रलाई पुनरुत्थानका लागि राष्ट्र बैंकले सहज रुपमा ऋण पाइने तथा पुनरकर्जादेखि लिएर ऋणको पुनसंरचना समेत गर्न सक्ने व्यवस्था गर्यो ।

उद्योग व्यवसाय ठप्प भएपछि सेयर बजारमा चासो नराख्ने व्यक्तिहरुको चासो बजारमा भयो । व्यक्तिदेखि संस्था सबैको चासो नै सेयर बजारमा भयो ।

अवस्था कस्तोसम्म भयो भने केही वित्तीय संस्था र जलविद्युत् कम्पनीले कोर बिजनेशबाट भन्दा बढी पैसा सेयर बजारबाट कमाउन सफल भए ।

सस्तो ब्याजदरमा कर्जा उपलब्ध हुन थालेपछि लगानीकर्ताहरुले मार्जिन लेन्डिङ मात्रै नभए अन्य प्रकृतिका कर्जाबाट प्राप्त रकम पनि सेयर बजारमा आउन थालेको थियो । बुलिसको पछि लागेका लगानीकर्तालाई कुन कम्पनीले विगतमा कस्तो प्रतिफल दिएको थियो । र, भविष्यमा कस्तो प्रतिफल दिन्छ भन्नेमा मतलब नै थिएन । अझ क्लबहाउस तथा ट्वीटरको स्पेशमा फैलिएको ‘बुमबुम’ले देशभरका लगानीकर्ता हौसिएका थिए ।

सेयर बजारको बुमबुम लामो समय नजाने ठूला र यसभन्दा अगाडि बियरिस ट्रेण्ड भोगेका लगानीकर्ताले बुझिसकेका थिए । उनीहरु २८ सय बिन्दुबाट बजारबाट एक्जिट हुन थालेका थिए । त्यही नयाँ लगानीकर्ताहरु बुमबुमको प्रभावमा बजारमा रातारात करोडपति हुने सपनामा प्रवेश गर्दै थिए ।

बजारलाई बुल ल्याउन मद्दत गरेको राष्ट्र बैंकले भने नेप्से परिसूचक २ हजार बिन्दुबाट माथि लागेपछि एक किसिमले यल्लो कार्ड देखाउन थालिसकेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति अगाडि सेयर धितो कर्जा लिन पाइने व्यवस्था र बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा एक किसिमको रोक नै लगादियो ।

सेयर बजारमा ठूला लगानीकर्तामा बैंक तथा वित्तीय संस्था हुन् । उनीहरुले बैंक तथा वित्तीय संस्था बाहेक सूचिकृत अन्य कम्पनीको सेयर किनबेच गर्न पाउँछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर किनेको एकवर्षपछि मात्र बिक्री गर्न पाउने व्यवस्था लागू गर्र्यो । किनेको अर्कोदिन फाइदा भए बेच्नुपर्ने बजारमा एकवर्षपछि बेच्न पाइने नीतिपछि बैंक तथा वित्तीय संस्थाले सेयर किनेनन् । बरु फाइदा भएको सेयर बिक्री नै गरे ।

राष्ट्र बैंकले सेयरधितो राखेर पाइने कर्जाको सीमालाई १२० दिनको औसत मूल्यमा पाइने समयमा १८० दिन पुर्यायो । यसले पहिलेभन्दा कम सेयरधितोमा कर्जा पाउने व्यवस्था भयो । यसबाहेक सेयरधितो राखेर कर्जा पाइने कम्पनीहरुको वर्गीकरण नै राष्ट्र बैंकले गर्र्यो ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई कम्तीमा २५० दिनको सेयर कारोबार नहुने संस्थाको सेयर धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले त्यो समयमा पछिल्लो ३ वर्षमा लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका, विगत ३ वर्षदेखि साधारणसभा नगरेका र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो राखेर कर्जा लिन नपाइने व्यवस्था गरेको थियो ।

यता मौद्रिक नीति आउनु अगाडि धितोपत्र बोर्डले लगानीकर्ताले ५१ कम्पनीहरु जोखिममा रहेको भन्दै यस्तो कम्पनीमा सेयर किनबेच नगर्न भन्ने सूची जारी गर्र्यो । ५१ वटा कम्पनीमा सेयर बढाउन केही लगानीकर्ताले कर्नरिङ गरेपनि अधिकाशं कम्पनी खराब थिएनन् । यसले लगानीकर्ताको मनोविज्ञानलाई थप कमजोर बनायो ।

राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीति अगाडि ल्याएका यी व्यवस्थाको प्रभाव अपेक्षाकृत थिएन । यसको कारण थियो बैंक तथा वित्तीय संस्थामा पर्र्याप्त ऋण दिने रकम हुनु पनि थियो । बैंकमा मुद्दति निक्षेपको ब्याजदर नै ८ प्रतिशत थियो ।

तर, गतवर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले सेयर बजारमा ४÷१२ को नीति ल्यायो । अर्थात् कुनैपनि व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने । सो व्यवस्था असार मसान्तसम्म कार्यान्वयन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गर्यो ।

यो नीति ठूला लगानीकर्तालाई बजारबाट बाहिर निकाल्ने खालको थियो । धेरै लगानीकर्ताको बुझाइ बजारमा साना लगानीकर्ताको संख्या बढेको हुँदा ठूलालाई मात्र समस्या पर्ने भन्ने थियो । तर, बैंकमा तरलता समस्या भएपछि ब्याजदर बढ्नु र नियामकले सेयर बजारलाई हेर्ने दृष्टिकोण राम्रो नभएपछि सेयर बजार बियरिस ट्रेन्डमा गयो ।

‘बैंकमा देखिएको तरलता अभावले बजारलाई बियरिसमा लगेपनि अहिलेको स्थितीमा लैजानुको पछाडि नियामक निकायको बजारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको कारण हो,’ उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका संयोजक रहेको अम्बिका पौडेलले क्लिकमाण्डूसँग भने ।

अहिले बजार घटेको र सुधार नआएको भन्दै लगानीकर्ता तिलक कोइरालाले अनसन बस्ने घोषणा गरेका छन् । पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर बजारको समस्या समाधान गर्न आग्रह गरेको छ ।

बजारमा अहिले देखिएको प्रमुख समस्या नै तरलताको अभाव र ४÷१२ को नीति भएको बुझाई लगानीकर्ताको छ । ४/१२ को नीति हटेर सेयर बजार बढाउन ठूलो मद्दत नगरेपनि लगानीकर्ताको मनोविज्ञान माथि उठाउने छ ।

लगानीकर्ता राजेन्द्र खेतान पैसा अभावसँगै ४/१२ को नीति को नीतिले सेयर बजार घटाएको बताउँछन् ।

‘पैसाको अभाव रहेसम्म सेयर बजारमा ठूलो सुधार आउँदैन, मुख्य कुरा राष्ट्र बैैंकले बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्यो,’ उनले भने ।

तर, राष्ट्र बैंकका अधिकारीहरु आफूहरुले सेयर बजारबारे कुनैपनि नीतिहरु नलिने बताउँछन् ।

‘राष्ट्र बैंकले त बैंकिङ क्षेत्रको कर्जाको प्रवाहलाई र व्याजदर राष्ट्रको प्राथमिकताअनुसार परिचालन गर्ने र नियन्त्रणमा राख्ने हो,’ ती अधिकारीले भने, ‘हामीलाई सेयर बजार घटोस् वा बढोस् भन्ने कुनै चासो हुँदैन, सेयर बजा हेर्ने निकाउ नै अर्को छ ।’


क्लिकमान्डु