ललितपुरमा झण्डै पौने ११ अर्ब राजस्व संकलन, आसारसम्ममा लक्ष्य अनुसार नै हुने



काठमाडौं । आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्ममा ललितपुर जिल्लामा १० अर्ब ६९ करोड राजस्व संलन भएको छ । ललितपुर जिल्लाभरीको राजस्व प्रशासन गर्ने आन्तरिक राजस्व कार्यालय, ललितपुर १ र आन्तरिक राजस्व कार्यालय ललितपुर २ मार्फत् उक्त राजस्व संकलन भएको हो ।

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर १ को लागि रु. ६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । जसमा उक्त कार्यालयले ५ अर्ब ९९ करोड ६२ लाख अर्थात् ९३ प्रतिशत राजस्व संकलनगर्न सफल भएको छ ।

संकलित राजस्वलाई शिर्षकगतरुपमा हेर्दा आयकरतर्फ लक्ष्यको १११ प्रतिशत अर्थात् ३ अर्ब ८९ करोड २४ लाख संकलन गरेको भएपनि अन्य शिर्षकमा भने लक्ष्यको भण्डै ७० प्रतिशतमात्र राजस्व संकलन भएको छ ।

त्यस्तै मूल्य अभिवृद्धिकर (भ्याट) १ अर्ब ८६ करोड ३१ लाख अर्थात् ८३ प्रतिशत । अन्तःशुल्क (आन्तरीक) तर्फ १४ करोड ५२ लाख अर्थात् ५१ प्रतिशतमात्र संकलनगर्न सफल भएको छ । त्यस्तै, घर बहाल कर, व्याजकर, स्वास्थ्य र शिक्षा सेवा शुल्क तर्फको संकलन लक्ष्यपनि पुगेको देखिँदैन ।

यसरी मासिकरुपमा राजस्व संकलनको लक्ष्य नपुगहुँदै गएपछि आगामी असारसम्ममा कार्यालयलाई बार्षिक लक्ष्य भेट्न कठिन हुनेतर्फ जिज्ञासा राख्दा कार्यालयका कर अधिकृत रामबहादुर केसीले हाल कोरोना महामारीको प्रभाव विस्तारै कम हुँदै गइरहेको बर्तमान अवस्थामा गत महिना सम्म छ÷सात प्रतिशत कमी भएको राजस्वलाई आगामी ४ महिनाको राजस्वले सजिलै पूर्तिगर्ने बताउँछन् । कार्यलयले सचेतना, बजार अनुगमन र लेखापरिक्षणको कार्यलाई तिब्रता दिईरखेकाले चालु आर्थिक वर्षको लक्ष्यभेट्नमा कुनै कठिन नहुने उनको तर्क छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर २ को लागि भने जम्मा ४ अर्ब ४ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा उक्त कार्यालयले लक्ष्यको ११५ प्रतिशत अर्थात् ४ अर्ब ६९ करोड राजस्व संकलन गर्न सफल भएको छ । जसमध्ये आयकरतर्फ सबैभन्दा धेरै २ अर्ब ७६ करोड ४९ लाख अर्थात् लक्ष्यको तुलनामा १ सय ७७ प्रतिशत आयकर संकलन गरेको छ ।

अन्य शिर्षकहरुको अवस्था भने आन्तरिक राजस्व कार्यालय, ललितपुर १ को जस्तोनै छ । जस्तै मूल्य अभिवृद्धिकर (भ्याट) एक अर्व सात करोड चौरासीलाख संकलन गर्न पर्नेमा ९१ करोड ३७ लाख अर्थात् ८४ प्रतिशतमात्र संकलन भएको छ ।

त्यस्तै अन्तःशुल्क (आन्तरिक) ७४ करोड ७९ लाख अर्थात् ६८ प्रतिशतमात्र संकलन भएको छ । त्यस्तै, अन्यशिर्षकहरु जस्तै घर बहाल कर, व्याजकर, स्वास्थ्य र शिक्षा सेवा शुल्कमा पनि लक्ष्यको झण्डै आधामात्र संकलन भएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामानै आयकर बाहेकका अन्य करहरु अपेक्षित रुपमा संकलन नहुनुलाई अन्यथा मान्न नहुने भन्छन् सोही आन्तरिक राजस्व कार्यालय, ललितपुर २ का सूचना अधिकारीसमेत रहेका कर अधिकृत खडानन्द पाण्डे ।

कर अधिकृत पाण्डेका अनुसार सरकारले अपेक्षितरुपमा पूँजीगत खर्चगर्न नसकेको बर्तमान अवस्थामा त्यसको सिधा असर राजस्वमा पर्नु स्भाविक हो, आगामी ४ महिना अर्थात् असार मसान्त सम्ममा पूँजीगत खर्चको बडोत्तरीसँगै कार्यालयको प्रभावकारी सक्रियताका कारण सरकारी लक्ष्य अनुसार नै राजस्व संकलन हुनेमा उनी विश्वस्त छन् ।

यसबाट सरकारले चालु आर्थिक वर्षको आसार मसान्तसम्ममा राजस्व संकलनको लागि दिएको सिमा अनुसारको राजस्व संकलन गर्नका लागि यतिखेर यी आन्तरिक राजस्व कार्यालयहरु निरन्तर लागिपरेको देख्न सकिन्छ ।


क्लिकमान्डु