१६ अर्ब लगानीको हुवासिन सिमेन्ट फागुनभित्रै बजारमा



काठमाडौं । नेपाल चीन संयुक्त लगानीको हुवासिन सिमेन्ट यही फागुन महिनाभित्रै बजारमा आउने भएको छ । व्यावसायिक उत्पादन शुरु गरिसकेको कम्पनीले दुईदेखि तीन हप्ताभित्रै उत्पादित सिमेन्ट बजारमा पठाउने जनाएको छ ।

‘उद्योगले व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गर्न थालिसकेको छ,’ कम्पनीका जनसम्पर्क अधिकृत रमेश तिमिल्सिनाले क्लिकमाण्डूसँग भने, ‘एनएस चिह्न लिने अन्तिम चरणमा छौं, दुईदेखि तीन हप्ताभित्रै बजारमा व्यावसायिकपमा सिमेन्ट र क्लिंकर बिक्री शुरु गर्र्छौं ।’

हुवासिन सिमेन्टको व्यावसायिक बिक्री वितरणसँगै उपभोक्ताले केही सस्तो मुल्यमा गुणस्तरीय सिमेन्ट पाउने आशा गरिएको छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट बजारमा ल्याउनेछ । साथै, क्लिंकर पनि बिक्री गर्नेछ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको उद्योगमा १६ अर्ब रुपैयाँ लगानी भएको छ । प्राकृतिक विपत्ति र कोरोना महामारीका कारण निर्माणसम्पन्न हुने समय बढेसँगै उद्योगको लागत पनि बढेको हो ।

लगानी बोर्डसँगको सम्झौता सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिएपनि विभिन्न कारणले थप करीब ३ अर्ब लागत बढ्न गएको बताइएको छ ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ मा उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो । सम्झौतामा ६ महिनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो ।

नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ ।

आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको कम्पनीले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक्टन सिमेन्ट उत्पादन गर्नेछ ।

उद्योगमा ३५० जनाले प्रत्यक्ष र १ हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो ।
खानीका लागि चिनियाँ प्रवर्द्धकले ६० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक्टनभन्दा बढी सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक्टनभन्दा बढी पुगिसकेको छ ।


क्लिकमान्डु