कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो



काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको छ ।

कोरोना महामारीले समय–समयमा लागू भएको लकडाउन र निषेधाज्ञाका कारण निर्यातमा निकै धक्का पुगेको थियो । साथै, विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको हस्तकला कोरोनाले गर्दा माग र आपूर्ति सुस्त भएको थियो ।

करिब २ वर्षअगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी हालसम्म पनि कायमै छ । तर, कोरोना संक्रमण कायमै रहेपनि अवस्था भने सामान्य हुँदै गएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरसम्म आइपुग्दा अवस्था सामान्य भएपनि हस्तकला क्षेत्र भने हालसम्म तंग्रिन सकेको छैन । अन्य क्षेत्रमा बिस्तारै रिबाउन्स हुँदै गएको अवस्थामा हस्तकला क्षेत्र भने झन खस्किँदै गएको देखिन्छ ।

धागो, कार्पेट, जुटको वस्तु, फेल्टको वस्तु, टेक्सटायल, पेपर ब्याग, कटन ब्यागलगायत अन्य क्षेत्रका निर्यात उच्च भइरहेको अवस्थामा हस्तकलामा भने झनझन खस्किँदै गएको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा कोरोनाको कुनै असर देखिएको थिएन । सो वर्ष नेपालले ४४ करोड ५ लाख ७० हजार रुपैयाँ बराबरको हस्तकला निर्यात गर्न सफल भएको थियो ।

तर, गत वर्ष भने कोरोनाको निकै प्रभाव परेको थियो । जसले गर्दा ६ महिनाको अवधिमा हस्तकला निर्यात ३२ प्रतिशतले घटेको थियो । सो अवधिमा नेपालबाट २९ करोड ९५ लाख ८७ हजारको मात्रै निर्यात गर्न सफल भएको थियो ।

कोरोना महामारीका कारण लागू भएको लकडाउन र निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण धेरै प्रभाव परेको थियो । जसले गर्दा धेरै व्यवसायी मारमा परेका थिए ।

हाल पनि कोरोना महामारीकै समय छ । तर, अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या छैन । तर, पनि चालु आवको ६ महिनाको अवधिमा हस्तकलाको निर्यात घटेको छ ।

चालु आवको पुस मसान्तसम्ममा नेपालबाट २८ करोड २ लाख २३ हजार रुपैयाँको मात्रै हस्तकला निर्यात गर्न सफल भएको छ । जुन गत वर्षको तुलनमा ६.४६ प्रतिशतले कमी आएको निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ ।

महंगो कार्गो भाडा
कोरोना महामारीले उत्पादन र निर्यात गर्न निकै समस्या भएको अवस्थामा अहिले थप कार्गो भाडाले व्यवसायी मारमा परेको नेपाल हस्तकला महासंंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् ।

उनकाअनुसार कोरोनाले उत्पादनलगायत अन्य विभिन्न समस्या भोगिरहेको अवस्थामा गत वर्षदेखि कार्गो भाडाले व्यवसायी मारमा परेको छ ।
‘पहिलो चरणमा कोरोनाले उत्पादनसँगै निर्यात गर्न सकेका थिएनौं,’ उनले भने, ‘अहिले उत्पादन गर्न सकेका छौं । तर, निर्यात गर्न सकेका छैनौं ।’

हाल व्यवसायीहरूले उत्पादनमा कुनै समस्या नरहेको बताउँदै आएका छन् । तर, कार्गोमार्फत् निर्यात गर्ने मूल्य भने तीन गुणा बढेकाले निकै चुनौती देखिएको उनको भनाइ छ ।

विगतको दिनमा पठाउन नभई नहुने सामग्री कार्गोको भाडा जति नै महंगो भएपनि पठाएका थियौं । अहिले सामान्यभन्दा सामान्य सामग्री निर्यात गर्न निकै महंगो भाडा छ । जसले गर्दा मागअनुसार निर्यात गर्न निकै चुनौती बनेको छ ।

‘कार्गो भाडा निकै महंगो भएर पर्याप्त मात्रामा निर्यात गर्न सकेको छैन । साथै, आयात गर्ने व्यवसायीले पनि महंगो कार्गो तिरेर लैजान सकेको छैन,’ उनले भने ।

विश्व बजारमा हस्तकला क्षेत्रमा निकै प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धाले गर्दा विभिन्न मुलुकका आयातकर्ताले जुन सस्तो र राम्रो छ सोही देशबाट आयात गरेर आपूर्ति गर्ने गर्छन् । त्यसमा निर्यात गर्ने व्यवसायीले कतिको मार्जिन राखेर सस्तो र राम्रो वस्तु निर्यात गर्न सफल हुन्छ भन्ने मुख्य कुरा हुन्छ ।

नेपालले कच्चा पदार्थ पनि विदेशबाटै आयात गनुर््पर्छ । आयातित वस्तुको मूल्य पनि महंगो, कार्गो भाडा पनि महंगो र उत्पादन गरी निर्यात गर्दा झन महंगो पर्ने देखिन्छ । त्यसैले, नेपालबाट निर्यातित वस्तु निकै महंगो मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ ।

अन्य मुलुकमा उत्पादन भएको हस्तकलाको तुलनामा नेपालको हस्तकलाको मूल्य निकै महंगो पर्न जाने हुँदा थोरै मात्रै निर्यात हुँदै आएको छ ।

नेपालबाट विश्वका मुख्य ४० भन्दा बढी देशमा हस्तकला निर्यात हुँदै आएको छ । तर, पछिल्लो समय कार्गो भाडा महंगो भएका कारण माग कम आउने गरेको उनले बताए । त्यसैगरी, बजारमा उत्पादन भएको नयाँ–नयाँ सामग्रीको बजारीकरण गर्न नसक्दा पनि निर्यात कम भएको उनको धारणा छ ।

कार्गो भाडा नघटेसम्म पर्याप्त निर्यात कठीन
कारोना महामारी कारण उच्च रुपमा बढेको कार्गो भाडा नघटेसम्म निर्यात नबढ्ने व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा दोब्बरले कार्गो भाडा परेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निकै मुस्किल भएको शाक्यको भनाइ छ ।

‘हाल कार्गोका कारण सयौं अर्डर रद्द भएका छन्,’ उनले भने, ‘कार्गो भाडा नबढेसम्म पर्याप्त निर्यात गर्न सक्दैनौं ।’

उनकाअनुसार हाल व्यवसायीहरूले भाडा महंगोका कारण सिमित वस्तुहरू मात्रै निर्यात गर्दै आएका छन् । साथै, कार्गो भाडा महंगो भएकै कारण पर्याप्त मात्रामा कच्चा पदार्थ आयात गर्न सकेका छैनन् । जसले गर्दा यस क्षेत्रमा आबद्ध व्यवसायी धरासायी बनेको उनको भनाइ छ ।


क्लिकमान्डु