कान्तिपुरको सेयर बेच्ने र अरु कम्पनीमा लगानी गर्ने सिरोहियाको रणनीति, यस्तो छ व्यापारको साम्राज्य



काठमाडौं । नेपालको पहिलो व्यवसायिक सञ्चारमाध्यम कान्तिपुरका प्रकाशकसमेत रहेका मिडिया टाइकुन कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेशनलाई प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनाए ।

२०४९ सालमा कान्तिपुर पब्लिकेशन प्रालिले कान्तिपुर र काठमाडौं पोस्टको प्रकाशन शुरु गरेर नेपालमा व्यवसायिक पत्रकारिताकाे थालनी गरेको थियो । दैनिक प्रकाशनमा कान्तिपुरबाट शुरु भएको यात्रामा अहिले कान्तिपुर ब्राण्डमा टेलिभिजन रेडियोसहित अनलाइन सञ्चालन गर्छ ।

कान्तिपुर पब्लिकेशनसँगै कैलाश सिरोहियाले कान्तिपुर टेलिभिजन नेटवर्कलाई समेत प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनाएका छन् । कान्तिपुर टेलिभिजनमा भने कैलाश सिरोहियसहित गैरआवासीय नेपाली उपेन्द्र महतो तथा जीवा लामिछानेको पनि लगानी छ ।

कान्तिपुर पब्लिकेशन र टेलिभिजन नेटवर्कलाई पब्लिक कम्पनी बनाएका कैलाश सिरोहियाले दुबै कम्पनीको सेयर सर्वसाधाणलाई जारी गर्ने योजना बनाएका छन् ।

स्रोतका अनुसार कान्तिपुरले पब्लिकलाई सेयर जारी गर्नका लागि सेयर रजिष्ट्रार तथा बिक्री प्रबन्धक नियुक्त गर्नका लागि विभिन्न मर्चेन्ट बैंकरसँग कुराकानी अगाडि बढाएको छ । कान्तिपुरले बुक बिल्डिङ प्रणालीबाट आइपीओ निकाल्ने तयारी गरेको छ ।

आफूलाई स्थापित गरेको कम्पनी कान्तिपुरको सेयर पब्लिकलाई जारी गर्ने तयारी गरेका सिरोहियाले पछिल्लो समय मिडिया बाहिरका स्थापित कम्पनीमा लगानी गर्ने क्रमलाई बढाएका छन् ।

कोभिडपछि मिडियाको व्यापार घट्दै गएपछि कान्तिपुरले अरु क्षेत्रमा लगानी बढाउन लागेको हो । कोभिडपछि कान्तिपुर पब्लिकेशनले कोभिडपछि दुई प्रकाशन साप्ताहिक र नेपाल म्यागेजिन बन्द गरेको थियो । कुनैबेला ३२ पेजसम्ममा छापिने कान्तिपुर अहिले १२ पेजमा सीमित छ ।

कोभिडपछि छापा माध्यमको विज्ञापनमा कमी आएको छ । डिजिटलतर्फ विज्ञापन बढ्दै गएपछि कान्तिपुरले अनलाइनलाई प्राथमिकता देखिएको छ भने पब्लिक कम्पनी बनेर आइपीओ निकाल्ने तथा अरु कम्पनीमा लगानी बढाउन थालेको हो ।

गत महिनामा कान्तिपुर मिडिया ग्रुपले व्यवस्थापनमा स्थापित भएको एपेक्स कलेज किन्यो । कति रुपैयाँमा एपेक्स कलेज किन्यो भनेर बाहिर नआएपनि एपेक्सको बहुमत सेयर कैलाश सिरोहियाले किनेका हुन् ।

कान्तिपुर मिडिया ग्रुपले यसअघि नै इसेवालगायत डिजिटल पेमेन्टमा काम गरिरहेको संस्था एफवान सफ्टको समेत सेयर किनेको थियो । एफवान सफ्टमा साझेदारको कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया भित्रिएका हुन् । तर, एफवान सफ्टमा कति प्रतिशत सेयर कैलाशले किनेको त्यो भने खुलेको छैन ।

कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले केही समय अगाडि डिजिटल माध्यमा अगाडि रहेको हाम्रो बजार डटकमलाई पनि आफ्नो स्वामित्वमा ल्याएको हो । सम्भवले पनि विभिन्न खाले डिजिटल प्रणालीसँग सम्बन्धित रहेका कम्पनीमा किन्ने कामलाई अगाडि बढाएका छन् ।

कान्तिपुरको सेयर जारी गर्ने र मिडिया बाहिरका कम्पनीहरुमा सेयर किनेको विषयमा भने कैलाश सिरोहियाले प्रतिक्रिया दिन भने मानेनन् ।

‘हाम्रो लगानी र प्रालिबाट पब्लिक बनाउने कुरा सार्वजनिक भएकै विषय हो, मिडिया लगानीकर्ता भएको हुनाले मिडियासँग थप कुरा भन्न मिल्दैन,’ सिरोहियाले क्लिकमाण्डूसँग भने ।

पछिल्लो समय आएको नयाँ जीवन बीमा कम्पनी सिटिजन्स लाइफमा कान्तिपुर पब्लिकेशन सबैभन्दा ठूलो सेयरधनी हो । सिटिजन्स लाइफको संस्थागतरुपमा सबैभन्दा बढी ७.४३ प्रतिशत सेयर स्वामित्व छ । अर्थात् कान्तिपुरले सिटिजन्समा १३ करोड रुपैयाँ संस्थागत लगानी गरेको छ ।सिटिजन्सले दिने प्रतिफलले कान्तिपुरलाई संस्थागतरुपमा आम्दानी बढ्छ । अन्य कम्पनीहरुमा भने कैलाश उनको परिवारको लगानी छ ।

बिष्णु पौडेल अर्थमन्त्री भएको बेला लाइसेन्स पाएको हिमालयन रि-इन्स्योरेन्समा कैलाश सिरोहियाको १० करोड लगानी छ । उनका परिवारका नातेदारको नाममा पनि केही सेयर हिमालयन रिमा छ ।

त्यस्तै अन्य केही स्थापित कम्पनीमासमेत सिरोहियाको लगानी रहेको स्रोतहरुको दावी छ ।


क्लिकमान्डु