हामी एमसीसी ल्याउन चाहन्छौंः गोल्छा



काठमाडौं । मुलुकमा लगानी योग्य पुँजीको अभाव भइरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एनसीसी) नेपालको लागि आवश्यक भएको बताएका छन् ।

नेपालको आर्थिक क्षेत्रको नव उत्थान गर्ने समय भएको भन्दै यसको लागि ठूलोमात्रामा लागनी आवश्यक भएको सन्दर्भमा उक्त कुरा बताएका हुन् ।

‘नेपालमा अब नवउत्थान गर्ने समय आएको छ,’ बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनलाई सम्बोधन गर्दै गोल्छाले भने, ‘नेपालमा ठूलो स्तरको वैदेशिक लगानी आवश्यक छ । हामी एमसीसी पनि ल्याउन चाहन्छौं ।’

पछिल्लो समय नेपालमा वैदेशिक लगानी, अनुदान वा ऋण आउन नसकेको भन्दै सरकारले यसको लागि पहल गर्नुपर्ने बताए । उनले मुलुकमा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले महासंघमा वैदेशिक लगानी सहयोग डेस्क राख्न लागेको जानकारी गराए ।

उनले उद्योग स्थापना गर्न पुँजीसँगै जमिनको अभाव रहेको, कानुनहरु बन्न नसक्दा समस्या परिरहेको बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दशन शर्माले राजनीतिक परिवर्तनको कारणले पुँजीगत खर्च नभएको बताए ।

सरकारले विकास खर्च गर्न नसक्दा तरलताको अभाव भएको भन्ने आलोचना भइरहँदा राजनीतिक परिस्थितिका कारण पुँजीगत खर्च हुन नसकेको बताए ।

‘सरकार परिवर्तनसँगै प्रतिस्थापन विधेयक आयो । त्यसलाई बनाउने र कार्यान्वयन गर्दागदै तीन महिना बितयो,’ शर्माले भने ।

उनले माघदेखि पुँजीगत खर्च बढ्ने बताए । तरलता अभाव हटाउन सरकारले के गर्दा ठिक हुन्छ त्यसको सुझाव दिन अर्थमन्त्री शर्माले महासंघलाई आग्रह गरे ।

उनले तरलता अभावले गर्दा व्याजदरमा प्रभाव परेको भन्दै यसको नियाम गर्ने कि बजारलाई नै छोडिदिने हो भन्ने विषयमा निजी क्षेत्रले सुझाब दिएमा सहजिलो हुने बताए ।

अर्थमन्त्री शर्माले मुलुकमा उपलब्ध भएको विद्युतलाई सस्तोदरमा उद्योगलाई दिनुपर्ने बताए ।

‘खेर गएको विद्युत निर्यात गर्नेभन्दा पनि स्वदेशमै खपत गर्नुपर्छ भन्ने चाहन्छु म,’ मन्त्री शर्माले भने, ‘विद्युत निर्यात गर्नुपर्छ भन्ने पक्षमा म छैन ।’

उनले गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोल्ने सुविधा दिन लागेका जानकारी गराए ।

नेपाल बैंकर्श एशोसिएशनका अध्यक्ष अनिल उपध्यक्षले अहिलेको तरलताको अभावमा नेपाल राष्ट्र बैंक सम्पूर्ण बैंकहरुलाई बचाउन काम गरेको बताए ।

नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले पुँजी बजारमा नेपाल राष्ट्रय बैंकको कुनै पनि संलग्नता नहुने बताइन ।

‘नेपाल राष्ट्र बैंकले क्यापिटल मार्केटमा कहिले पनि हिट गर्दैन,’ ढुंगानाले भनिन्, ‘नेपाल राष्ट्र बैंकको काम बैंक तथा वित्तीय संस्थाले कुन क्षेत्रमा ऋण दिइरहेका छन् भनेर हेर्नेमात्र हो । क्यापिटल मार्केट हेर्न सेबोन छ ।’

सेबोनले नै क्यापिटल मार्केट हेर्ने र नेपाल राष्ट्र बैकले क्यापिटल मार्केटलाई कहिले पनि रेगुलेट नगर्ने बताइन् ।

नेपाल राष्ट्र बैंकले निक्षेप-पुँजी-कर्जा अनुपात (सीसीडी रेसियो)को नीतिलाई परिवर्तन गरेर निक्षेप-कर्जा (सीडी रेसियो) लागु गर्दा तरलता अभाव भएको भन्ने प्रश्नमा बैंक तथा वित्तीय संस्थालाई बचाउन नै सीडी रेसियोको नीति लिइएको बताइन् ।

‘सीसीडी रेसियो नै राखेको भए अहिले धेरे बैंकलाई समस्या पर्ने थियो,’ उनले भनिन्, ‘बैंकलाई बचाउन नै यो नीति लिइएको हो ।’

अहिलेको समस्या भनेको बैंकको पुँजी अभाव नभएर तलता अभावमात्र भएको उनको भनाइ छ ।

उनले तरलता अभाव भयो भन्दैमा सीडी रेसियोको नीतिलाई पुनः सीसीडी रेसियोमा जाने अवस्थामा नेपाल राष्ट्र बैंक नरहेको बताइन् । तरलता अभाव हटाउने अन्य उपायहरु रहेको भन्दै ति विधिलाई कार्यान्वयन गर्नुपर्ने उनको जोड छ ।

ढुंगानाले विभिन्न कारणले तरलता अभाव भएको भन्दै यसको समाधानको लागि विभिन्न काम गरिरहेको बताएकी छन् ।

महासंघले कोभिडपछिको अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्ने उद्देश्यका साथ बुधबारको सम्मेलन आयोजना गरेको थियो । बुधबार दिनभरी हुने सम्मेलनमा विभिन्न ६ वटा सेसनहरु राखिएका छन् ।


क्लिकमान्डु