नेपाल लाइफ इन्स्योरेन्सलाई ‘नम्बर वान’ को ताज जोगाउन चुनौति



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाईं बाहिरिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै बाहिरिए ।


सीइओ नियुक्ति भएको अर्को महिनादेखि नै सञ्चालक समितिको बैठकमा मौखिक राजीनामा दिन थालेका प्रसाईंले ५ पटकसम्म मौखिक दिएर अहिले लिखित राजीनामा बुझाएका हुन् ।

ब्यापार बढाउन नसकिरहेको अवस्थामा सीइओको बहिर्गमनलाई बजारले विशेषरुपमा हेरेको छ । सीइओ किन राजीनामा दिन बाध्य भए वा सञ्चालक समितिले किन निकाल्यो ? यसलाई गहनरुपमा लिनुपर्ने हुन्छ ।

किनभने, सामान्य लाग्ने यस्ता घटनाले भावी दिनमा कम्पनीलाई गंभीर असर पर्न सक्छ ।

सीइओ र सञ्चालकका आआफ्नै तर्क छन् ।

सञ्चालकहरु भन्छन्, सीइओले कामै गर्न सकेनन्, ब्यापारै गर्न सकेन भन्छन् । उता सीइओ सञ्चालकहरुले कामै गर्न दिएनन् अनि व्यापार कसरी गर्नु ?

जे भएपनि सीइओ र सञ्चालकको झगडा व्यवसायकै विषयलाई लिएर भएको हुनुपर्छ । किनभने, ब्यापार गर्न नसक्दा सबैजना रन्थनिएका हुन्छन् । यो पनि त्यसैको प्रतिबिम्ब हो ।

स्थापनाको २० वर्ष पूरा गरेको नेपाल लाइफले अहिलेसम्म ६ जनालाई सीइओको जिम्मेवारी दिएको छ ।

नेपाल लाइफमा विवेक झाबाहेक कसैले पनि सीइओको कार्यकाल पुरा गर्न सकेनन् । २०६७ साल भदौ १ गते प्रवेश गरेका झालाई नेपाल लाइफले २०६९ साल साउन १ गते झालाई सीइओमा नियुक्त गरेको थियो । ८ वर्षको कार्यकालमा झाले नेपाल लाइफलाई जीवन बीमा कम्पनीहरुमा सबै सूचकमा पहिलो कम्पनी बनाउन सफल भए ।

नेपाल लाइफमा झाको इन्ट्री भएपछि कम्पनीले व्यवसायिक रुपमा राम्रो फड्को मार्यो । उनी नेपाल लाइफको सीइओका रुपमा भित्रिएपछि कम्पनीले थप नयाँ उचाई चुम्यो ।

पाचौँ सीइओ भएर भित्रिएका झाले कम्पनीलाई नम्बर वान बनाउन सफल रहे ।

आठ वर्षे कार्यकालमा झाले नेपाली जीवन बीमा बजारमा अन्य कम्पनीको तुलनामा सबै खाले सुचाङ्कमा नेपाल लाइफलाई अब्बल सावित गर्दै करीब एकतिहाइ हिस्सा कायम राख्न सफल रहे ।

२०६९ सालमा कम्पनीमा भित्रिएका झा २०७७ साउन १ गते बिदा भए । उनी नेपाल लाइफमा सीइओ बन्दा कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ थियो । अहिले नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ ।

बीमाशुल्क संकलन आर्जन, बीमा कोष, जगेडा कोष, चुक्ता पूँजी, दाबी भुक्तानी लगायतका सुचांकमा समेत नेपाल लाइफ नै अब्बल कम्पनीकारुपमा चिनाउन सफल भएको छ ।

जसको पछाडी उनै झाको नाम जोडिन्छ ।

किन छाडे प्रसाईंले ?

नेपाल लाइफमा सन्तोष प्रसाईंलाई विवेक झाले ल्याएका थिए । झाले आफूपछिको सीइओ हुने गरेर प्रसाईंलाई ग्रुम गरेका थिए । नियामक निकाय बीमा समितिमा रहेका प्रसाईं नेपाल लाइफमा डेपुटी सीइओको रुपमा भित्रिएका थिए । विवेक झाको दुई कार्यकाल पूरा गरेर नेपाल लाइफबाट बाहिरिएपछि प्रसाईंले कामू सीइओको जिम्मेवारी पाएका थिए । प्रसाईंले कामू सीइओको रुपमा ६ महिना काम गरेपछि सञ्चालक समितिले उनलाई सीइओको जिम्मेवारी दिएको थियो ।

बीमा समितिको समेत अनुभव बोकेका प्रसाईंको पालामा नेपाल लाइफको उचाई झन् बढ्ने अनुमान थियो । तर, प्रसाईं सीइओको जिम्मेवारी दिएको अर्को महिनादेखि नै सञ्चालक समितिसँग काम नसक्ने वातावरणको स्थिति भयो ।

‘प्रसाईंजीले छाड्नुपर्ने नै गरेर विवाद भने सञ्चालक समितिसँग भएको होइन, पहिलो नम्बरको कम्पनी भएको हुँदा सो अनुसारको व्यवसाय गर्ने भन्ने दवाव भने थियो,’ नेपाल लाइफका एक सञ्चालकले भने ।

सञ्चालक समितिले सीइओलाई बजार हिस्सा बढाउने गरी व्यवसाय गर्न दवाव दिएको थियो । पछिल्लो एक दशकदेखि पहिलो स्थानमा रहेको नेपाल लाइफलाई व्यवसाय जोगाउने निकै ठूलो चुनौति छ ।

सञ्चालक समिति र प्रसाईंबीच सानासाना विषयमा समेत विवाद हुने र काम गर्ने शैली नै नमिलेपछि प्रसाईंले कम्पनी छाड्ने निर्णय लिए । केही सञ्चालक प्रसाईं लाई हटाएर बैंक तथा राष्ट्र बैंकका अवकासप्राप्त कर्मचारीलाई सीइओ बनाउने लबिङमा थिए ।


नेपाल लाइफका एक सञ्चालकका अनुसार प्रसाईंले छाडेपछि नेपाल लाइफलाई बजार हिस्सा बढाउने सीइओ पाउनु नै सबैभन्दा बढी चुनौतीपूर्ण छ ।


‘कम्पनीको आकार ठूलो भएको हुँदा अघिल्ला वर्षमा जस्तो व्यवसाय बढाउन सक्ने स्थिति हुँदैन, बजार हिस्सा केही घटेपनि पहिलो नम्बरको बिरासत भने जोगाउनुपर्छ भन्ने सञ्चालक समितिको सोचाई हो,’ एक सञ्चालकले भने ।

आपत्तमा नेपाल लाइफ

नेपाल लाइफ सम्बन्ध स्रोतका अनुसार आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन आएपछि कम्पनीले बीमितलाई दिने बोनसदर घटेर आउने सम्भावना छ । बीमा समितिले फ्युचर बोनस प्रोभिजनको व्यवस्था गर्दा अरु कम्पनीलाई जस्तै नेपाल लाइफ इन्स्योरेन्सलाई समेत असर पर्ने छ । बजारमा थपिएका नयाँ कम्पनीमा नेपाल लाइफमा रहेका कर्मचारीहरु नै गएका छन् ।

नयाँ कम्पनीको बजार रणनीतिले शुरुका केही वर्ष नेपाल लाइफको व्यवसायलाई नै फाइदा गरेको थियो । तर, यो वर्षको शुरुदेखि भने अवस्था त्यस्तो छैन ।

सञ्चालक समितिले बीमा अभिकर्तालाई बढाइदिएको व्यवसायको लक्ष्यले नेपाल लाइफमा अभिकर्ता आन्दोलित हुन पुगे । सुरक्षाका लागि प्रहरीसमेत ल्याउनुपर्ने अवस्थासम्म आइपर्यो ।

अवस्था यस्तै रह्यो भने केही महिनामै नेशनल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्स्योरेन्सको नम्बर वानको ताज खोस्ने संभावना देखिन्छ । जसको दवाव सञ्चालक र व्यवस्थापकहरुलाई पक्कै पनि छ ।

झा सीइओ भएको बेला नेपाल लाइफले प्रतिकित्ता १४२५ रुपैयाँका दरले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको थियो । जसले गर्दा नेपाल लाइफले ४ अर्ब प्रिमियमबापत उठाउन सफल भएको थियो । सो प्रिमियमले नेपाल लाइफले पछिल्ला वर्षमा निकै आकर्षक लाभांश दियो । अब प्रिमियमको पैसा सकिएको हुँदा सो अनुसारको लाभांशसमेत दिन नेपाल लाइफलाई चुनौती छ ।

यस्तो छ नेपाल लाइफको लाभांश इतिहास

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा ५१ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले लगानीकर्ताहरुलाई ३२ प्रतिशत नगद र २० प्रतिशत बोनस गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ४८.५० प्रतिशत लाभांश दिएको थियो । कम्पनीले लगानीकर्तालाई उक्त आवमा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।

आव २०७३/७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद गरीकुल ७०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा २६.३२ प्रतिशत लाभांश दिएको थियो । २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

आव २०७१/७२ मा कम्पनीले २६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले उक्त आवमा लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश गरी सो रकम वितरण गर्ने निर्णय गरेको थियो ।

यस्तै, कम्पनीले आव २०७०/७१ मा लगानीकर्तालाई ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले उक्त आवमा लगानीकर्तालाई ६० प्रतिशत बोनस र ८ प्रतिशत नगद गरी कुल ६८ प्रतिशत लाभांश दिएको थियो ।

यस्तै, आर्थिक वर्ष २०६९/७० मा कम्पनीले ९८.५ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले उक्त आवमा ७० प्रतिशत बोनस र २८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

आर्थिक वर्ष २०६८/६९ को मुनाफाबाट कम्पनीले लगानीकर्तालाई १२६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले उक्त आवमा ७० प्रतिशत बोनस र ५६.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु