फास्ट- ट्रयाकमा बन्ने सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, यही वर्षदेखि निर्माण शुरू हुने



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको फास्ट–ट्रयाक (काठमाडौं–तराईमधेश द्रुतमार्ग)मा बन्ने सुरुङको डिजाइन अन्तिम चरणमा पुगेको छ । ५ महिनाअघि नेपाल आएको चिनियाँ प्राविधिक जनशक्तिले बनाइरहेको सुरुङमार्गको डिजाइन मंसिरभित्र सम्पन्न हुने आयोजनाले बताएको छ ।

आयोजनाको जिम्मा पाएको नेपाल आर्मीका आयोजनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले यही मंसिर मसान्तभित्र डिजाइन सकिने गरी काम भइरहेको बताए ।

‘हाल साइड क्याम्प, फिल्ड सर्वे, जियो टेक्नोलोजी डिजाइन, प्रिलीमिनेरी डिजाइन लगायतका कामहरू भइरहेको छ,’ पौडेलले भने, ‘यही मंसिर मसान्तभित्र सुरुङको डिजाइन सकिने गरी चिनियाँ टोलीले काम गरिरहेको छ । यही आर्थिक वर्षभित्र निर्माण शुरु गर्ने छौँ ।’

निर्माणाधीन काठमाडौं–तराईमधेश द्रुतमार्गमा ३ वटा सुरुङमार्गको डिजाइन निर्माणका दुई चिनियाँ कम्पनीले ठेक्का पाएका थिए । ठेक्का पाएका कम्पनीका प्रावधिक जनशक्ति सुरुङमार्गको स्थलगत अध्ययन र डिजाइनका लागि गत असारमा नेपाल आएको पनि पौडेलले बताए ।

‘सो टोलीले हाल सुरुङमार्गको डिजाइनको काम गरिरहेको छ,’ पौडेलले भने ।

पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसनले ठेक्का पाएको छ । दोस्रो प्याकेज अन्तर्गतको सुरुङ तथा पुल निर्माण गर्न पोली चङ्दा ग्रुपको पोली चङ्डा इन्जिनियरिङसँग गत वैशाखमा सम्झौता भएको थियो ।

पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । त्यस्तै दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ रहेको पनि पौडेलले जानकारी दिए ।

मोबिलाइजेसन अघिनै डिजाइनको काम शुरु
चिनियाँ टोलीले अस्थाई कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिएको छ । आयोजनाले चिनियाँ कम्पनीलाई टनेलको डिजाइन निर्माणका लागि ६ महिना समय दिएको हो । टनेल निर्माणमा ढिलाइ नहोस् भनेर चिनियाँ कम्पनीले मोबीलाइजेसन अघिनै काम शुरु गरेका पौडेलको भनाइ छ ।

चिनियाँ कम्पनीले फाइल इन्जिनियरिङ प्रोक्यूमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मोडलमा टनेल बनाउन लागेको हो । यस अन्तर्गत प्लानिङ, डिजाइन, इन्जिनेरिङ, प्रोक्यूमेन्ट, कन्स्ट्रक्सन तथा कम्बाइनिङ सबै काम गर्नु पर्ने छ ।

सुरुङको ठेक्का लेखा समितिको निर्देशनविपरीत
फास्ट ट्रयाकमा रहेको सुरुङ बनाउने ठेक्का संघीय संसद लेखा समितिको निर्देशनविपरित २ वटा चिनियाँ कम्पनीलाई दिएको समितिको भनाइ छ ।

ठेक्का सम्झौता सकिएपछि पनि सार्वजनिक लेखा समितिले ठेकेदार छनौट प्रक्रिया नमिलेको भन्दै दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया शुरु गर्न भनेको थियो । तर, सो निर्देशन विपरित नेपाल आर्मीले गत बैशाखमा चिनियाँ कम्पनीसँग सुरुङमार्ग निर्माण सम्बन्धी ठेक्का सम्झौता गरिसकेको छ ।

सोहि अनुरुप सुरुङमार्गको काम अघि बढेको पौडेलको भनाइ छ ।

आयोजना जिम्मा पाएको नेपाल आर्मीले प्रस्तावका लागि सूचना जारी गर्दा कुनै दावी विरोध नपरेकाले आर्मीले सार्वजनिक खरिद ऐनअनुसार नै सम्झौता अघि बढाएर सुरुङमार्ग निर्माणको काम गर्न थालिएको प्रवक्ता पौडेलले बताउँदै आएका छन् ।

ठेक्का अन्तर्गत पर्ने काम
फास्ट–ट्रयाक अन्तर्गत ३ वटा सुरुङमार्ग बन्ने छन् । चिनियाँ कम्पनीले कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्डमध्ये ३ वटा सुरुङमार्ग ६.४१ किलोमिटर र पुलहरूको लम्बाई १०.५९ किलोमिटर बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ ।

‘धेद्रे महादेवटार तर्फ एउटा लामो सुरुङमार्ग बन्ने छ । लेनडाँडा तर्फ २ वटा सुरुङमार्ग बन्ने छन् । ती सुरुङमार्गका साथै ब्रीज र सडक समेतनिर्माण गर्नु पर्ने छ,’ पौडेलले भने ।

धेद्रे महादेवटार तर्फ टनेल लगतै लामो ब्रिज निर्माण गर्नुपर्ने छ भने त्यस लगतै केही मिटर सडकपछि फेरि अर्को ब्रिज रहेकाले यी सबै निर्माण चिनियाँ कम्पनी आफैले गर्नुपर्ने प्रवक्ता पौडेलको भनाइ छ ।


क्लिकमान्डु