हुलाकी राजमार्गः १३ वर्षमा ६८% भौतिक प्रगति हुँदा ४५ अर्ब सकियो



काठमाडौं । पूर्व–पश्चिम हुलाकी राजमार्गको निर्माणाधीन अधिकांश पुलको निर्माण अलपत्र अवस्थामा छन् ।

निर्माण गर्न ठेक्का पाएका निर्माण कम्पनी र सम्बन्धित निकायको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न गर्न नसकिएको आयोजनाको भनाइ छ ।

राजमार्गको काम समयमा नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको भनाइ छ ।

नेपालको पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरुमा यातायातको सहज पहुँच बिस्तार गर्ने लक्ष्य लिएको यस हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्नेछ ।

राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्रे भएको खण्डमै यात्रा गर्न जोखिम हुने गरेको छ । त्यहीमाथि पुल निर्माणले तीव्रता नपाउँदा जोखिमको भन्दा पनि ज्यानलाई रापमा राखेर यात्रा गर्न बाध्य भएको स्थानीयहरु बताउँछन् ।

राज्यले अंगिकार गरेको विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने प्रमुख माध्यमका रुपमा विकास आयोजनाहरु रहेका छन् । राष्ट्रिय महत्व एवम आवधिक योजनाको लक्ष्य प्राप्तिमा पु¥याउने योगदानका आधारमा यस्ता आयोजनाहरुको प्राथमिकीकरण गर्नुपर्ने हुन्छ ।

शुरुमा भारतले सडक बनाइदिने र नेपालले पुल निर्माण गर्ने सम्झौता भएको थियो । तर, भारतले पछि सम्झौताअनुरूप निर्माणको काम नगरेपछि सबै काम नेपालले गर्ने भनेर काम अगाडि बढाइएको विभागले बताएको छ ।

शुरुमा राजमार्गको लम्बाई १७ सय ५२ किलोमिटर भएपनि धेरै सहायक सडकलाई पनि हुलाकी राजमार्ग निर्माणमा गाभिएको सडक विभागका अधिकारीहरू बताउँछन् । त्यसमध्ये ७ सय ३७ किलोमिटर सडक कालोपत्रे भइसकेको र सय वटा पुलको पनि निर्माण सम्पन्न भएको आयोजनाका निर्देशक रोहितकुमार वसुरालले बताए ।

अहिले सिरहाको औरही गाउँपालिकास्थित गागन खोलामा पुल निर्माण कार्य शुरु भएको दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीले गुनासो गरिरहेका छन् ।

पूर्व बरियारपट्टिदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्रे सकिएको छ । तर, गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ । वर्षाको बेलामा सवारी साधन वारपार गर्न खोला कहिले सानो होला भनेर घण्टौ सडकमै कुरेर बस्नुपरेको स्थानीयको भनाइ छ ।

हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत् रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ । ३ वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको कामले तीव्र्रताका साथ काम नगरिरहेको देखिन्छ ।

पुल निर्माणका लागि पिल्लर मात्र ठड्याइएको छ । निर्माण व्यवसायीले भने यस पुलको काम सम्झौताअनुसार नै अघि बढाइएको बताएको छ ।

ढिलासम्म आएको वर्षातका कारण काम रोकिएको निर्माण कम्पनीकोे भनाइ छ । वर्षा रोकिए कात्तिक महिनापछि काम पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।

बाढीले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको एउटा पिल्लर भासिएपछि बाटो पुनः अवरुद्ध भएको हो ।
पुलमा १२ स्पान (पिल्लर) रहेका छन् । ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल पप्पु लुम्बिनी बिल्डर्सले २०६८ सालमा निर्माणको सम्झौता गरेको आयोजनाले बताएको छ ।

यसैगरी सप्तरीमा १९ वटा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । बिहुल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायतका नदीमा निर्माणाधीन पुल निर्माण कार्य ठप्प जस्तै हुँदा पुल कहिले बन्ने टुङ्गो छैन् । यसले गर्दा आवागमनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ ।

मुतनी नदीको पुल करिब ६ वर्षअघि शुरु भएको थियो । सो पुल अरनिको, लामा, बागमती जेभी काठमाडौँले २०७२ असार २५ मा सम्झौता गरेको थियो । २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने समय थियो ।

तर, म्याद सकिएको ४ वर्षमा पनि पुलको कामले तीव्रता पाउन सकेको छैन । निर्माण कम्पनी भने कोरोना महामारी र वर्षाका कारण काम गर्न नसकिएको भन्दै पन्छिने र म्याद थप्ने गरेका छन् ।

मुतनी खोला पुलमा बाटो बिग्रिएका कारण त्यहाँ नै सुत्केरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले त्यतिबेला बाटोसमेत अवरुद्ध गरेका थिए ।

राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलो मिटर र करिब १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

‘कालोपत्रे भए पनि पुल निर्माण कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा पुल खण्डमा बाटो बनाउन सकिएको छैन,’ आयोजना निर्देशक रोहितकुमार विसुरालले भने ।

१३ वर्षसम्ममा भएको प्रगति र खर्च
३१ वर्षदेख चर्चामा रहेको हुलाकी राजमार्गको निर्माणको काम शुरु भएको १३ वर्षसम्ममा ६८ प्रतिशत मात्र सकिएको छ । सडक निर्माण भएकोे भौतिक प्रगति हेर्दा ६८ प्रतिशत मात्र निर्माणको काम सकिएको सडक विभागले जनाएको छ । यस क्रममा झण्डै साढे ४५ अर्ब रुपैयाँ लागत खर्च भएको पनि विभागले बताएको छ ।

आयोजनाका निर्देशक विसुरालका अनुसार २१९ वटा पुल निर्माणको योजना रहेकोमा हाल सय वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको बताए । ‘बाँकी रहेका ९८ वटा पुलको हालसम्म ठेक्का लागेको छैन,’ विसुरालले भने ।

निर्माण गर्न बाँकी रहेको १ हजार ५५ किलोमिटर सडक मध्ये ६ सय ३९ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेको आयोजनाले बताएको छ ।

अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको स्थानीयको गुनासो छ ।

आयोजना कार्यान्वयनमा देखिएका प्रमुख समस्या
आयोजनामा पर्ने जग्गाको लगत कट्टा कार्यमा सम्बन्धित निकायको यथोचित सहयोग नहुनु, लागत कट्टाका लागि प्राविधिक जनशक्तिको अभाव हुनु मुख्य समस्या रहेको निर्देशक विसुरालको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत अमुवा पोष्टदेखि रिउ खोलासम्मको सेक्सन डिटेल सर्भे गर्न अनुमति प्राप्त नभएको हँुदा रेखाङ्कनमा अन्यौलता हुनु समस्याको रुपमा रहेको आयोजनाले बताउदै आएको छ ।

वन क्षेत्रमा काम गर्ने वातावण सहज हुनुपर्ने, अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाउनु पर्ने, निर्णय प्रक्रिया छिटो छरितो हुनुपर्ने र रोकिएका निर्माण कार्यहरु कुटनीतिक रुपमा समाधान गर्नु पर्ने आयोजनाका निर्देशक विसुरालको भनाइ छ ।


क्लिकमान्डु