कोटेश्वर-जडिबुटी खण्डमा रातो घरको मुआब्जा विवाद बाँकी, पुससम्म काम सक्ने तयारी



काठमाडौं । कोटेश्वर–जडिबुटी सडक बिस्तारको काम ७० प्रतिशत पूरा भएको छ । सरकारले सो सडक खण्डको दायाँ–बायाँ दुबैतर्फ विस्तार कार्य अघि बढाएको थियो ।

गत भदौबाट पूर्वतयारीको क्रममा ९० प्रतिशत जग्गा व्यवस्थापन र साइट क्लियरेन्स सकेर सडक बिस्तार कार्य शुरु गरेको थियो । हाल यस योजनाको कामले तीव्ररुपमा अगाडि बढेको छ ।

सो आयोजनाको काम गत असार मसान्तमा नै सम्पन्न गरी सक्नुपर्ने थियो । तर, कोरोना महामारीको असहज परिस्थितिका कारण निर्धारित समयमा काम हुन नसकेको सडक डिभिजन काठमाडौंका पूर्वप्रमुख कुवेर नेपालीले बताए ।

सरकारले कोटेश्वर-जडिबुटी सडकमा देखिएको दैनिक जामको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको दाबी गरेको छ ।

सोहीअनुसार अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाउनका लागि सडक बिस्तारको काम थालेको विभागले जनाएको छ ।

सो योजनाका लागि टुन्डी सुसन जेभी निर्माण कम्पनीसँग करिब ८ करोडमा ठेक्का सम्झौता गरिएको हो । सो सडकको हालसम्म ७० प्रतिशतमात्रै काम सकिएको छ । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न नसकिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले बताए ।

‘मनसुन सक्रिय हुँदा काम गर्न अपठ्यारो भयो,’ निहुरेले भने, ‘त्यसमा पनि साइट क्लियरेन्सको समस्याले पनि काम ढिलो भएको हो ।’

विभागका अनुसार, सडक खण्डमा दक्षिणतिरको ललितपुर जाने दुई लेन र उत्तरतिर पेप्सीकोला जाने दुई लेन थप गरी फराकिलो बनाइने छ ।

दुई लेन पेप्सीकोला र दुई लेन ललितपुर जाने सवारीका लागि प्रयोग हुने र बीचका चार लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गरिनेछ ।

उत्तरतर्फ भने रातो घरको मुआब्जा विवाद बाँकी

यस क्षेत्रमा रहेको रातो घरको मुआब्जा विवाद अझैं समाधान भएको छैन् । यसका लागि सडक विभाग, सडक डिभिजन काठमाडौं र प्रमुख जिल्ला अधिकारीसहितको छलफल गरेका थिए तर अहिलेसम्म पनि मुआब्जाको समस्या समाधान हुन सकेको छैन् ।

प्रमुख निउरेका अनुसार हालै भएको छलफल सकारात्मक भएको र यो समस्या छिट्टै समाधान हुने बताए ।

कोटेश्वरमा हुने सवारी चापलाई कम गर्नको लागि कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने योजना सरकारले अघि सारेको थियो ।
बिस्तार कार्य सम्पन्न भएपछि घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

‘हाल सडक बिस्तारका लागि दक्षिणभागको साइट क्लियरेन्सको काम पूरा भएको र उत्तरी भागको केही साइट क्लियरेन्स बाँकी रहेको अवस्था छ,’ निउरेले भने, ‘त्यो भनेकै रातो घरको मुआब्जा समस्या हो ।’

दीर्घकालीन योजनामा सुरुङमार्ग निर्माण गर्ने
सरकारले यस सडकको समस्यालाई समाधान गर्न दीर्घकालीन योजनाका रुपमा सुरुङ निर्माणलाई अघि सारेको हो । यो योजनाका लागि जापान सहयोग नियोग (जाइका)को सहयोगमा सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन भइरहेको छ ।

यसका लागि गत आर्थिक वर्षमै १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त अध्ययन प्रतिवेदनको आधारमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाइने सडक विभाग योजना तथा मूल्याङकन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए ।

‘वार्षिक सवारी सात प्रतिशत वृद्धि भइरहेकाले गर्दा सो सडक खण्डको बिस्तार तथा वैकल्पिक मार्ग निर्माण गर्दा चक्रपथको चौडाई पनि बिस्तार गरेर सुरुङमार्ग निर्माणका लागि छलफल सकिएको र बजेट समेत विनियोजन भइसकेको छ,’ नेपालले भने ।

यो याजनाले कोटेश्वर चोकमा भएको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्ने उपमहानिर्देशक नेपालको भनाइ छ ।

क्यान मातहतमा रहेको समस्या सकियो

सडक बिस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतमा रहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सीमाभन्दा करिब १५ मिटरसम्म माथि जानुपर्ने हुन्छ । यस समस्याले गर्दा प्राधिकरणसँग प्रतिवद्धता लिएर कार्ययोजनासहित काम गर्ने गरी महाशाखाले तयारी गरेको छ ।

तारलाई जोगाएर काम गर्ने गरी सहकार्यका साथ अहिले विस्तारको काम भइरहेको पनि सडक डिभिजन काठमाडौंका इन्जिनियरले बताए ।

पुससम्म सक्ने तयारी

मुआब्जा लगायतका समस्याहरुलाई सुल्झाउने गरी काम भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख निउरेले बताए ।

‘अब उत्तरी भेगतर्फको निर्माणको कार्य छिट्टै काम शुरु हुने छ,’ निउरेले भने, ‘जडिबुटी क्षेत्र आसपासमा रहेका निजी घरलाई मुआब्जा दिने काम पनि भइरहेको छ ।’

भक्तपुर हुँदै पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था रहँदैन ।
‘परिस्थिति सहज भए अब आउदो पुस महिनामा निर्माण सम्पन्न गर्नेगरी बिस्तारको कामलाई तीव्र रुपमा काम गर्ने प्रयास गरिरहेका छौं,’ निउरेले भने ।

मौसम राम्रो भएमा र समस्याहरु सुल्झिएमा यसै पुसभित्रमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदाको दाहिने तर्फको विस्तारित ३ लेन बराबर कालोपत्रे हुनेछ ।

साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रेतर्फ एउटा निजी घरको मुआब्जा सम्बन्धी कानूनी समस्याका कारण अल्झिएका काम पनि छिट्टै सम्पन्न गर्ने निउरेले जानकारी दिए ।

‘अब धेरै काम बाँकी छैन् । सडकमा माटोले पुर्ने र कालोपत्रे गर्ने मात्र बाँकी छ,’ उनले भने ।


क्लिकमान्डु