निर्यात बढाएको भटमासको तेलले नै बढायो आयात, भ्यालु एडिसन खोज्दै सरकार



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा सबैभन्दा बढी आयात हुँदै आएको भटमासको तेल आयातभन्दा निर्यात मूल्य बढी रहेको छ । पहिलो महिनादेखि नै उच्च आयात र निर्यात हुँदै आएको भटमासको तेलले व्यापारघाटामा धेरै ठूलो योगदान पुर्याएको सरोकारवालाहरू बताउँछन् ।

तेस्रो मुलुकबाट आयात गरेर भारततर्फ निर्यात भइरहेको भटमासको तेलको भ्यालु एडिसन हेर्ने तयारी सरकारले गरेको छ । उद्योगीहरुले ३० प्रतिशतभन्दा बढी भ्यालु एडिसन भएको दाबी गरे पनि आयात र निर्यातको तथ्यांकले सोही नदेखिएको हुँदा सरकारले अध्ययन गर्ने तयारी गरेको छ ।

केही वर्षअघिसम्म पाम आयलको उच्च आयातसँगै निर्यात हुँदै आएकोमा भारत सरकारले करिब डेढ वर्षअघि पाम तेलमा प्रतिबन्ध गर्दा निर्यात शून्य अवस्थामा थियो । तर, अहिले भारत सरकारले पुनः पाम आयलको निर्यातमा खुल्ला गरेको छ । सोही अनुसार बिस्तारै पाम तेलको निर्यात बढेको भन्सार विभागको तथ्याङ्ले देखाउँदछ ।

भटमासको तेल नेपालमा उत्पादन हुँदैन । तर, नेपालका तेल तथा घ्यू उद्योगीहरूले तेस्रो मुलुकबाट कच्चा तेल आयात गर्ने गर्दछ । उक्त कच्चा आयातित तेल आन्तरिक बजारमा आपूर्तिसँगै उच्च रुपमा निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको दुई महिनामा आयातित मूल्यभन्दा निर्यात मूल्य बढी रहेको छ । सरकारले चालु आवको दुई महिनामा १५ अर्ब ६० करोड रुपैयाँ बराबरको कच्च तेल आयात गरेको छ । सोही अवधिमा सरकारले उक्त आयातित कच्चा तेललाई प्रशोधन गरी १६ अर्ब ४८ करोड १५ लाख रुपैयाँ बराबरको भट्मासको तेला निर्यात गरेको छ ।

नेपालमा भटमास उत्पादनका लागि कुनै पनि प्रकारका कच्चा पदार्थ उपलब्ध छैन । नेपालका उद्योगीहरूले विभिन्न देशबाट आयात गरेर आन्तरिक बजारमा आपूर्ति गर्नुका साथै उल्लेख्य रुपमा निर्यात गर्न सक्नु सकारात्मक पक्ष रहेको निर्यात व्यवसायी संघका उपाध्यक्ष चण्डी अर्याल बताउँछन् । उनका अनुसार उद्योगीहरूले दुई महिनाको अवधिमा आयातित मूल्यको तुलनामा करिब १ अर्ब बढीको निर्यात गर्नु ठूलो उपलब्धि हो ।

‘नेपालमा कुनै कच्चा पदार्थ उत्पादन नहुँदा पनि उद्योगीहरूले आयात गरेर आन्तरिक बजारमा आपूर्ति गुर्नका साथै निर्यातमा उल्लेख्य योगदान पुर्याएको छ । जुन सकारात्मक पक्ष हो । सरकारले उक्त उद्योमगीहरूलाई देशमै कच्चा पदार्थको लागि प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने ।

साथै, उक्त आयातित कच्चा आयालले प्रशोधन गरी निर्यात गर्दा धेरैले रोजगारी पाएका र देशलाई कतिको फाइदा तथा योगदान गरेको छ । त्यस आधारमा अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

आन्तरिक बजार मासिक करिब डेढ करोड लिटर खपत
नेपालले उच्च रुपमा आयात र निर्यात गर्दै आएको भटमासको तेल आन्तरिक बजारमा मासिक करिब डेढ करोडको हाराहारीमा खपत हुने गर्दछ । विभागको तथ्याङ्कले मासिक रुपमा करिब १ करोड ४० लाख लिटर आन्तरिक बजारमा खपत हुने गरेको देखाउँदछ ।

चालु आवको पहिलो महिनामा ५ करोड ३१ लाख २८ हजार कच्चा तेल आयात गर्दा प्रशोधन भई ४ करोड ४८ हजार लिटर निर्यात गरेको छ । उक्त आयातितमध्ये आन्तरिक बजारमा १ करोड ३० लाख लिटर खपत भएको छ ।

त्यस्तै, चालु आवको दुई महिनामा १० करोड ४ लाख ८० हजार लिटर कच्चा तेल आयात गर्दा नेपाली उद्योगीहरूले ७ करोड ३४ लाख ४४ हजार लिटर तेल निर्यात गरेको पाइन्छ । उक्त तथ्याङ्कले दुई महिनाको अवधिमा २ करोड ७० लाख लिटर तेल खपत भएको स्पष्ट देखाउँदछ ।

भटमासको तेल उच्च रुपमा निर्यात हुँदै गर्दा आन्तरिक बजारमा भने तेलको मूल्य खाइनसक्नु अवस्थामा पुगेको छ । गत वर्षको असोज १५ गतेसम्ममा १७५ रुपैयाँ कायम भएको तेलको मूल्य यो वर्षको असोजसम्ममा आइपुग्दा २ सय ६० रुपैयाँ कायम भएको छ । उद्योगीहरूले कच्चा पदार्थको मूल्य बढेसँगै तेलको मूल्य बढाएको बताउँदै आएका छन् ।

तर, उच्च रुपमा आयात भई भारततर्फ बढी निकासी हुँदा मूल्यमा धेरै फरक परेको खुद्रा व्यवसायीहरू बताउँछन् ।


क्लिकमान्डु