माथिल्लो तामाकोशीको विजुली जोडिएपछि भारतबाट हुने आयात रोकिएला ?



काठमाडौं । असार मसान्तभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको २ वटा यूनिटबाट विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ ।

पहिलो यूनिटको सबै परीक्षण भइसकेको छ भने दोस्रो यूनिटको पनि परीक्षण अन्तिम चरणमा रहेको छ । आयोजनाले सुरुङमा पुनः पानी भरेको छ ।

आइतबारदेखि खिम्ती लामोसाँघु १३२ केभी क्षमताको प्रसारण लाइनमा माथिल्लो तामाकोशीको लाइन समेत जडानको कार्य शुरु भएको छ ।

यही असार १९ गतेसम्म सो प्रसारण लाइनमा तामाकोशीको लाइन जोड्ने काम समेत सकिन्छ । शनिबार राति सुरुङको आवश्यक परीक्षणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजनाको तयारी अनुसार असार मसान्तसम्म कूल १५२ मेगावाट बिजुली प्रणालीमा थप हुन्छ ।

आयोजनाबाट बिजुली उत्पादन शुरु भएपछि भारतबाट आयात गर्नु पर्ला कि नपर्ला भन्ने प्रश्न पनि यससँगै आएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हाल आयातको मात्रा ६ हजार २५ मेगावाट घण्टा रहेको छ ।

तामाकोशीको बिजुली जोडिएपछि भारतबाट आयात गर्नु नपर्ने भएपनि बाढी पहिरोका कारण देशभरका विद्युत् गृह कुन बेला बन्द गर्नुपर्ने हो वा प्रसारण प्रणालीमा समस्या आए के गर्ने भन्ने जस्ता जोखिमका कारण तत्काल सम्भव नहुने देखिन्छ ।

हाल प्राधिकरणका आयोजनाबाट ८ हजार ६८१ मेगावाट घण्टा बिजुली प्रवाह भइरहेको छ । कूल माग २५ हजार ६०६ मेगावाट घण्टा रहेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार ९०० मेगावाट घण्टा बिजुली प्रवाह भइरहेको छ ।

साँझको समयमा कूल बिजुली माग १३०९ मेगावाट रहेको छ । मनसुनका कारण खोला वा नदीमा पानीको मात्रा बढी छ । सोही कारण प्राधिकरण र निजी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन् ।

तर असार शुरु भएसँगै देशभर आएको बाढी तथा पहिरोका कारण प्रणालीमा झण्डै ५०० मेगावाट बिजुली बाहिरिएको थियो ।

‘बाढी पहिरो नआएको खण्डमा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था त छैन, रातको समयमा बिजुली खेर गइरहेको छ’ प्राधिकरणको भारप्रेषण केन्द्रका एक अधिकारीले भने ।

उनका अनुसार बाढी पहिरोका कारण अवस्था असाध्यै जोखिमपूर्ण छ । तर रातको समयमा बिजुली पखत नहुँदा खेर फाल्नुपर्ने अवस्था छ । तामाकोशी जोडिएपछि आयात गर्नुपर्ने अवस्था भने अन्त्य हुने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणका अनुसार आइतबार यो समाचार तयार पार्दासम्म प्रणालीमा कुनै पनि अवरोध देखिएको छैन ।


क्लिकमान्डु