पहिलो बजेट ल्याउने सुवर्ण शमशेरले बिनातलब काम गरे, क्रान्तिका लागि दिए १ करोड



काठमाडौं । केही विषयमा परिवर्तन भएन भने सरकारले शनिबार बजेट पेश गर्नेछ । हरेक वर्षको जेठ १५ गते बजेट पेश सार्वजनिक गर्ने संविधानमै उल्लेख छ ।

यद्यपि बजेट संघीय संसद्मा पेश गर्नुपर्ने उल्लेख भएको हुँदा सरकारले बजेट ल्याउने पाउने वा नपाउने भन्नेमा भने विवाद कायमै भइरहँदा सरकारले बजेटको तयारी गरेको छ ।

नेपालमा पहिलो पटक बजेट सुवर्ण शमशेरले २००७ सालमा ल्याएका हुन् । १०४ वर्षसम्मचलेको राणा शासनमा राणाहरुले सरकारी खातामा आउने राजस्वलाई आफू अनुकुल प्रयोग गर्दथे । जनताप्रति जवाफदेही नभएको राज्य चलाएर बसेका राणाहरुले सरकारको खर्च र आम्दानी सार्वजनिक गर्ने चलन थिएन ।

२००७ सालमा भएको क्रान्तिपछि राणा र कांग्रेसको मिलेर सरकार बनाएका थिए । तर, त्यो सरकार धेरै टिकेन ।

त्यसपछि नेपाली कांग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने । त्यो सरकारमा सुवर्ण शमशेर अर्थमन्त्री थिए । अर्थमन्त्रीको रुपमा सुवर्ण शमशेरले त्यो बेला ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । यो नै पहिलो बजेट थियो ।

राणा परिवारमा जन्मे पनि जुद्ध शमशेरको पालामा सी क्लासका राणालाई काठमाडौंबाट निकाल्ने भनेपछि हिरण्य शमशेर आफ्ना छोरासहित कलकत्ता लागेका थिए ।

सुवर्ण शमशेर राणाको विषयमा लेखिएका किताबहरु कम छन् । ‘सुवर्ण शमशेर राणा र अप्रकाशित दस्तावेज’ डा. यज्ञनाथ आचार्यद्वारा लिखित पुस्तक अनुसार सुवर्णको परिवार नेपालबाट कलकत्ता जाने बेला त्यहाँ भएका अंग्रेजहरु आफ्नो भारतमा रहेको आफ्नो सम्पत्ति बेचेर बेलायत जाने क्रममा थिए ।

अंग्रेजहरुले भारतमाथि गरेको शासन छाड्ने क्रममा रहेको हुँदा कलकत्तामा रहेका अंग्रेजहरुले आफूसँग भएको सम्पत्ति सस्तो मूल्यमा बेचेर बेलायत फर्कन लागेका थिए ।

नेपाल छाड्ने क्रममा आफूसँग भएको सम्पत्ति लिएर गएका सुवर्णले अंग्रेजले छाड्न चाहेका घरजग्गालगायतका सम्पत्ति निकै सस्तोमा किनेका थिए ।

त्यही अचल सम्पत्तिबाट उनीहरूले अंग्रेजका महंगा घरजग्गा निकै सस्तो दाममा सुवर्णको परिवारले किन्यो । त्यही सम्पत्तिले २००७ सालको क्रान्तिका लागि हतियार जुटाउने र उनको मृत्यु नहुँदासम्म निर्वासनमा रहेका कांग्रेस र नेता र कार्यकतालाई आर्थिक मद्दत गर्न सहयोग पुग्यो ।

२००६ सालमा बिपी कोइरालाले क्रान्तिका लागि पैसा जुटाउने सोचमा थिए । त्यो बेला कांग्रेसले सशस्त्र युद्ध गरेर राणा शासनलाई हटाउने सोचमा थियो ।

त्यसका लागि सबैभन्दा ठूलो अभाव पैसाको थियो । जगत नेपालद्वारा लिखित ‘पहिलो संसद् बीपी महेन्द्र टकराव’ पुस्तक अनुसार एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न विपी काइराला र गणेशमान भएको स्थानमा उनी पुगे ।

कुराकानीकै क्रममा सुवर्णले ‘क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ’ भन्ने प्रश्न राख्दा वीपीले ‘त्यही २५÷३० लाख जति भए पुग्छ’ भनेका थिए । जवाफमा सुवर्णले ‘त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड रुपैयाँ दिन्छु’ भन्ने जवाफ दिएका थिए । तत्कालीन समयमा उक्त रकमलाई सुनको मूल्यका आधारमा तुलना गर्दा यो रकम आजका दिनमा १५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

पटकपटक मन्त्री र मन्त्रिपरिषद्को अध्यक्ष हुँदा समेत सुवर्ण शमशरेले सरकारी तलब कहिल्यै बुझेनन् । उनले प्रत्येक वर्षको साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष मान्ने नीति बनाएका थिए ।

२३ वर्षको उमेरमा अर्थशास्त्रमा सुवर्ण शमशेरले स्नातकोत्तर गरेका थिए । राज्यको ढुकुटी व्यक्तिगत रुपमा एक कौडी पनि खर्च गर्न नहुने नीतिलाई उनले कार्यान्वयन गरेका थिए ।

२००९ सालतिर जनकपुरमा कांग्रेसको महाधिवेशनको बेला केही नेताले सरकारबाट केही रकम सापटी लिने र पछि तिर्ने प्रस्ताव गरेका थिए ।

त्यो बेला अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरले भनेका थिए, ‘सरकार र पार्टी अलग अलग भएकाले यस्तो गैरकानुनी काम म गर्दिन र गर्न दिने छैन ।’

२०१५ सालको निर्वाचन सुवर्ण शमशेरले गराएका थिए । चुनावी सरकारको मन्त्रिपरिषदका अध्यक्ष सुवर्ण शमशेर थिए । उनले २०१५ सालको निर्वाचनमा ३ स्थानमा चुनाव जितेका थिए ।

२०१५ सालको निर्वाचनपछि कांग्रेसका सभापति बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भए ।
कांग्रेसको सरकारले २०१६ सालमा राजारजौटा र विर्ता उन्मुलनको नीति ल्यायो । बिर्ता उन्मुलन अभियानको शुरुवात अर्थमन्त्री सुवर्ण शम्शरेले आफैबाट गरे ।

उनले आफ्नो नाममा भएको १२ हजार बिघाह जग्गा सरकारलाई दिएका थिए । अहिलेको राष्ट्र बैंक रहेको भवन तथा बालुवाटारको प्रधानमन्त्री निवास सुवर्ण शमशेरको निवास हो ।

ललिता निवासले चिनिने सो घरसहित ५०० रोपनी जग्गा राष्ट्रियकरण गरेका थिए । पछि यही जग्गा भने २०४६ सालको राजनीतिक परिवर्तनपछि मन्त्री र भूमाफियाले मिलेर आफ्नो समेत बनाएका थिए ।

सुवर्ण शमशेर आफू मन्त्री भएको लाभ परिवारका सदस्यले कुनैपनि हालतमा पाउन नहुने मान्यता राख्दथे । सुवर्ण शमशेर अर्थमन्त्री भएको बेला उद्योग, निर्माण तथा यातायात मन्त्रालयको सचिव योगप्रसाद उपाध्याय थिए ।

त्योबेला काठमाडौँको पुरानो रोप वे सुधारका लागि टेण्डर आह्वान गरिएको रहेछ र त्यसमा सुवर्णका छोरा कञ्चनशमशेर सम्मिलित एउटा कम्पनीले पनि टेण्डर भरेको रहेछ ।

पछि सुवर्णजी शमशेरले उपाध्यायलाई बोलाएर भनेका थिए, ‘योगप्रसादजी म अर्थमन्त्री छु, छोरोले पनि टेण्डर भरेको छ, नियमअनुसार उसले पाउने नै भयो भने पनि उसलाई नदिनु होला । उसले टेण्डर पायो भने अर्थमन्त्रीको छोराले टेण्डर पायो भनेर जनताले कुरा काट्न सक्छन् ।’

पछि सो टेण्डर सुवर्णका छोराले पाउने अवस्था देखियो तर, सुवर्णको अनुरोधमा त्यो टेण्डरले छोराले पाएनन् ।

अर्थशास्त्रका ज्ञाता, अग्रेजीमा स्नातकोत्तर सुवर्णले राजा महेन्द्रलाई ट्युसन पढाएका थिए । महेन्द्रको विवाहका लागि ४० हजार रुपैयाँ समेत दिएका थिए ।

२०१५ सालको निर्वाचनमा तीन ठाउँबाट निर्वाचनमा तत्कालीन गुल्मी-अर्घाखाँची क्षेत्रबाट वारिसबाट उम्मेदवार दिएर निर्वाचन क्षेत्रमा एक पटक पाइला नहालेर विजयी भएका थिए ।
विभिन्न दस्तावेदहरुको सहयोगमा यो सामग्री तयार पारिएको हो ।


क्लिकमान्डु