काँकडभिट्टा- बुटवल सडकखण्ड ४ लेनको बनाइँदै, कुन खण्डमा के भइरहेको छ ?



काठमाडौं । पूर्वपश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । काँकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गर्ने सरकारी योजनाअनुसार २ सडकखण्डको ठेक्का लागेर निर्माण प्रक्रिया शुरु भइसकेको छ, केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ,’ महानिर्देशक थापाले क्लिकमाण्डूसँग भने, ‘केही खण्डमा डीपीआर तयार गर्ने परामर्शदाता छनोट हुने क्रममा छन् ।’

पूर्व-पश्चिम राजमार्गको कूल लम्बाइ १०२८ किलोमिटर छ । यसको आधाभन्दा धेरै भाग ७ वर्षभित्र ४ लेनको बनाउन लागिएको हो ।

सरकारले दातृ निकायको ऋण सहयोगमा २ लेनको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा-बुटवल सडकखण्ड ४ लेनमा स्तरोन्नती गर्न खोजिएको हो । यी सडकखण्ड एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियपूर्ण कर्जामा बनाउन शुरु गरिएको छ ।

नारायणगढ-बुटवल, कमला-कञ्चनपुर, काँकडभिट्टा-लौकी, पथलैया-नारायणगढ एशियाली विकास बैंक (एडीबी)को सहयोगमा बन्नेछ भने कमला-ढल्केबहर-पथलैया विश्व बैंकको सहयोगमा बन्नेछ ।

काँकडभिट्टा-बुटवल सडकखण्ड आर्थिक वर्ष २०८४/८५ सम्ममा निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको महानिर्देशक थापाले बताए ।

काँकडभिट्टा-बुटवल सडक खण्डको लम्बाई करिब ५८९ किलोमिटर छ ।

सडक नेपालको प्रमूख यातायातको माध्यम हो । बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ । २०१९ सालमा निर्माण गरिएको पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती नुहँदा जीर्ण हुँदै गएको छ । यसले सवारीको इन्धन र पाटपूर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ ।

राजमार्गलाई एशियाली राजमार्गकै स्तरमा विस्तार गर्न लागिएको हो ।

सडकलाई ४ लेनमा विस्तार गरिने भनिए पनि शहर र बस्ती आसपका क्षेत्र भने सर्भिस लेनसहित ६ लेनको हुने थापाले बताए । शहर र बस्ती क्षेत्रमा स्थानीय सवारीसाधनका कारण दुर्घटना निम्तिने खतरा हुने भएकाले ६ लनेको बनाउन लागिएको उनको भनाइ छ । पूर्व-पश्चिम राजमार्गको राइट अफ वे ५० मिटरको छ ।

नारायणगढ–बुटवल र कमला-कञ्चनपुर निर्माण हुँदै

१ सय १३ किलोमिटर लामो नारायणगढ-बुटवल सडकखण्ड अर्थिक वर्ष २०७५/७६ मा ठेक्का लागिसकेको छ । नारायगढ–बुटवल सडक खण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवै प्याकेजको ठेक्का चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्राप्त गरेको छ ।

नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४८ किलोमिटर छ ।

कर्पोरेसनले भ्याटसहित नारायणगढ-दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने-बुटबल सडकखण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा स्तरोन्नतीको जिम्मा पाएको हो ।

हालसम्म नारायणगढ-बुटवल सडकको भौतिक प्रगति ५ प्रतिशत रहेको छ । यो सडकखण्ड आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

८७ किलोमिटर लामो कमला-कञ्चनपुर सडकखण्ड आर्थिक वर्ष २०७७/७८ मा ठेक्का लागि सकेको छ । कमला-कञ्चनपुर सडक खण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवै प्याकेजको ठेक्का चीनको चाइना रेल्वे नम्बर २ ग्रपले पाएको छ ।

कञ्चनपुर–कुशाहा खण्ड ४० किलोमिटर र कुशाहा-कमला खण्ड ४७ किलोमिटर छ । ग्रुपले भ्याट सहित कञ्चनपुर-कुशाहा ७ अर्ब २७ करोड रुपैयाँ र कुशाहा-कमला ८ अर्ब ३८ करोड रुपैयाँमा स्तरोन्नतीको जिम्मा पाएको हो । कमला–कञ्चनपुर सडक खण्ड निर्माण प्रक्रिया भर्खरै शुरु भएको छ ।

काकटभिट्टा-लौकी, नारायणघाट-पथलैया र बुटवल- गोरुसिंहे डीपीआर बन्दै

काकटभिट्टा-लौकी १२० किमी, नारायणघाट-पथलैया १०० किमी र बुटवल-गोरुसिंहे ५० किमीको डीपीआर तयार हुने क्रममा छ ।

सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको हो । २०७७ असोज १८ गते सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी) बीच सम्झौता भएको छ ।

परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ । काँकडभिट्टा–लौकी सडकखण्ड आर्थिक वर्ष २०७८/७९ मा ठेक्का लगाउने विभागको योजना छ ।

पथलैया-नारायणगढ खण्ड आर्थिक वर्ष २०८०/८१ मा ठेक्का लगाउने योजना छ । यी सडक ठेक्का लागेको साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने विभागको लक्ष्य छ ।

बुटवल-गोरुसिंहे सडक खण्ड निर्माणका लागि एडीबीले चासो व्यक्त गरेको छ । बुटवल-गोरुसिंहे खण्डको निर्माण प्रक्रिया भने स्रोतको सूचिश्तिा भएपछि अघि बढाउने महानिर्देशक थापाले जानकारी दिए ।

कञ्चनपुर-लौकी डीपीआरको टुंगो छैन

कञ्चनपुर-लौकी करिब ३९ किलोमिटर सडक खण्डको भने हालसम्म डीपीआरको टुंगो लागेको छैन । कञ्चनपुर-लौकी सडकखण्ड भारतको सिमा हुँदै अघिबढ्छ । सरकारले सुनसरीको पकली हुँदै कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउने योजना अघि बढाएको छ ।

प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ । कोरियन परामर्शदाता केईसीसीले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वैकल्पक सडकको लम्बाई ४४ किलोमिटर हुनेछ । कोशी नदीमा चार किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने हुन्छ ।

पूर्व-पश्चिम राजर्मागको रेखांकन परिवर्तन गरेर नयाँ सडक बनाउनुपर्ने हुन्छ । सडकको डीपीआर तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाइएको छ । सडकको रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार सडक निर्माण गर्न ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पुल निर्माण गर्न मात्रै १० अर्बभन्दा धेरै लाग्ने अनुमान छ ।

कमला-ढल्केबहर-पथलैया डीपीआर बनाउने परामर्शदाता छनोटको प्रक्रियामा

विश्व बैंकको आर्थिक सहयोगमा कमला-ढल्केबहर-पथलैया सडकखण्ड ४ लेनमा स्तरोन्नती गरिदैछ । सडक विभागअन्तर्गको विकास सहायता कार्यान्वयन महाशाखाले कमला–ढल्केबहर–पथलैया १३० किमी सडक खण्डको डीपीआर तयार गर्न सक्ने परामर्शदाताको प्रारम्भिक सूचि तयार गरेको छ ।

विभागले चालु आर्थिक वर्षभित्रमै डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७९/८० बाट निर्माण कार्य शुरु गर्ने विभागको योजना छ ।

कमला-ढल्केबहर-पथलैया सडकखण्डमा विश्व बैंकको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ । विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवर्धन परियोजनाअन्तर्गत कमला-ढल्केबर-पथलैया सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न गत २०७७ जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।


पुष्प दुलाल