बैंकहरुले जारी गरेको डलर कार्डबाट के के गर्न पाइन्छ ? यस्ता छन् विशेषता



काठमाडौं । अब नेपालबाटै विदेशी अनलाइनबाट सामान खरिद गर्न, सामाजिक सञ्जालमार्फत् पैसा खर्च गरी व्यवसायको प्रवद्र्धन गर्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थापछि विभिन्न बैंकहरुले डलर प्रिपेड कार्ड जारी गरेपछि यस्तो सुविधा उपयोग गर्न पाइने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकहरुले डलर कार्ड जारी गर्न सक्ने व्यवस्था गरेसँगै हाल धमाधम दर्जन बढी बैंकहरुले सो कार्ड जारी गरिसकेका छन् ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र विदेशी मुद्रामा अनलाइनमार्फत् विदेशी वस्तु तथा सामान आयात गर्न निश्चित शुल्क लिएर बैंकहरुले प्रिपेड कार्ड (डलर कार्ड) जारी गरेका हुन् ।
केन्द्रीय बैंकले गत चैत ८ गते एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै अनलाइनमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद गर्ने प्रयोगका लागि ५ सय डलरसम्म प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

उक्त कार्ड लिनका लागि राष्ट्र बैंकले बैंकमा पुर्याउनुपर्ने अन्य प्रक्रियासँगै स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

आवश्यकताअनुसार कार्डको सीमा परिवर्तन हुने

सो व्यवस्थाले घरैमा बसेर अनलाइनमार्फत् विदेशी वस्तु तथा सेवा आयात गर्न र सामाजिक सञ्जालमा पैसा तिरेर बुस्ट गर्न सहजिकरण गर्नुका साथै हुण्डीमार्फत् हुने कारोबारलाई समेत व्यवस्थित गर्ने यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

‘फेसबुक, ट्विटर, यूटुवजस्ता सामाजिक सञ्जालमा विज्ञापन (बुस्ट) नेपालीहरुले विदेशमा रहेका आफन्त वा एजेन्टमार्फत् गरिरहेका थिए, जसको हालसम्म कुनै पनि लेखाजोखा थिएन भने एजेन्टहरुले यस्तो कामका लागि धेरै शुल्कसमेत लिन्थे,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘अब आवश्यक हुनेले बैंकबाट तोकिएको सीमासम्मको डलर कार्ड दिन्छ र सोहीमार्फत् भुक्तानी गर्छ ।’

डलर कार्ड जारी गर्ने बैंकले कार्डमार्फत् भएको कारोबारको विवरण राष्ट्र बैंक पठाउनु पर्ने र खरिद गरिएको विदेशी वस्तु तथा सामानसमेत सरकारी मापदण्ड पूरा गरेर मात्र आयात हुने उनको भनाइ छ ।

राष्ट्र बैंकले पहिलो चरणमा वार्षिक ५ सय डलरसम्मको डलर कार्ड जारी गर्ने व्यवस्था गरेपनि केही समयपछि सोको सीमा परिवर्तन गर्न सक्ने डेपुटी गर्भनर मिश्रको भनाइ छ ।

‘यो व्यवस्था शुरु गर्न धेरै समय लाग्यो, अब ६ महिनासम्म बैंक र ग्राहकबाट यसको प्रतिक्रिया कस्तो आउँछ हेरिन्छ,’ उनले थपे, ‘पहिलो चरणमा व्यक्तिगत प्रयोजनका उद्देश्यले मात्र डलर कार्डको व्यवस्था गरिएको हुँदा व्यवसायिक प्रयोजनका लागि केही समय पछि कार्डको सीमा परिवर्तन हुनसक्छ ।’

कार्डको सीमाभन्दा बढी कारोबार गर्न आवश्यक परेमा राष्ट्र बैंकमा प्रयोजन खुलाएर आग्रह गरे सहजिकरण गरिने उनको भनाइ छ ।

उक्त व्यवस्था पश्चात नबिल, एनएमबी, हिमालयन, नेपाल बंगलादेश, सिटिजन, एनआइसी एशिया, ग्लोबल आइएमई, सनराइज गायत दर्जन बैंकहरुले प्रिपेड कार्ड अर्थात् डलर कार्ड सार्वजनिक गरिसकेका छन् ।

डलर कार्डमा युवाको आकर्षणः बैंकिङ पहुँच र करको दायरा बढ्ने

केही समय अघिसम्म विदेशी अनलाइनबाट सामान खरिद गर्न, मन परेको फिल्म र सिरिज हेर्न नेटफ्लिक्स अमेजन प्राइमजस्ता अनलाइन मुभी एपमा अकाउण्ट खोल्न विदेशमा रहेका साथीभाई वा आफन्तको सहयोग लिनुपर्ने बाध्यता थियो ।

सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइन सफ्टवेयर खरिद गर्नदेखि विभिन्न वेवसाइटको डोमिन खरिद र नवीकरण गर्न समेत विदेशका साथीभाईकै सहयोग लिनुपर्ने बाध्यता थियो ।

यस्ता क्रियाकलापमा प्रायः युवाहरुनै संलग्न हुने भएकाले अहिले नेपालकै बैंकले जारी गरेको कार्डमार्फत् भुक्तानी गर्न पाउँदा सबैभन्दा बढी युवा पुस्ता नै आकर्षित भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले बताए ।

राष्ट्र बैंकले सीमा तोकेर डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेपछि नेपालमा सबैभन्दा पहिला नबिल बैंकले नै अन्तर्राष्ट्रिय प्रिपेड कार्ड ‘नबिन आइकार्ड’ जारी गरेको हो ।
बैंकले कार्ड जारी गरेपछि यसबारेमा सोधपुछ गर्ने र कार्ड लिने सबैभन्दा युवा वर्ग नै भएको सीइओ शाह बताउँछन् ।

‘अनलाइन क्लास, बुक गेमिङ, मुवी र सपिङ गर्ने बढी युवाहरु नै हुन्छन्, कार्ड सार्वजनिक भएपछि अहिलेसम्म खाता खोल्ने यसबारेमा सोधपुछ गर्ने युवाहरु नै बढी छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्ड लिनका लागि अनिवार्य प्यान भएको हुनपर्ने व्यवस्था छ, डलर कार्ड लिनकै लागि पनि प्यान लिएर खाता खोल्ने ग्राहकहरु धेरै छन् ।’

आगामी दिनमा प्रिपेड कार्ड (डलर कार्ड) कै कारणले धेरै युवाहरु बैंकिङ पहुँच र करको दायरामा आउने उनको विश्वास छ । नबिल बैंकले जारी गरेको नबिल डलर कार्ड आवश्यक कागजात बैंकमा बुझाएको १० मिनेटमै बैंकले ग्राहकलाई सो कार्ड उपलब्ध गराउने उनले जानकारी दिए ।

अनलाइनमार्फत् विदेश वस्तु तथा सेवा खरिद गर्ने व्यवस्थाले नेपाललाई डिजिटल प्रविधिमैत्री बनाउन सहयोग गरेको ग्लोबल आइएमई बैंकका डेपुटी सीइओ महेश ढकालले बताए ।

‘पछिल्लो समय नेपालमा क्यूआर कोड स्क्यानले विद्युतीय भुक्तानीलाई बढाएको छ भने, अब डलर कार्डले यसलाई थप प्रोत्साहन गर्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘डिजिडल प्रविधिमा युवाको आकर्षण र उनीहरुको आवश्यकताको परिपूर्तिमा राष्ट्र बैंकले सहजिकरण गरिदिएको छ, भने कार्ड लिने ग्राहक पनि बढी युवा नै छन् ।’

अनलाइन सपिङलगायत अनलाइन प्लेटफर्ममा युवाहरु बढी अभ्यस्त भएको हुँदा सोको माध्यमले बैंकिङ प्रविधिमा युवाहरु जोडिएको उनको भनाइ छ ।

ग्लोबल आइएमई बैंकले जारी गरेको ‘ग्लोबल ईकम कार्ड’ ग्राहकले आवश्यक प्रक्रिया पूरा गरेको १० मिनेटभित्रै पाउन सक्ने छन् भने सोको शुल्क बैंकले ५ सय रुपैयाँ निर्धारण गरेको उनले जानकारी दिए ।


पुष्प दुलाल