८ महिनामा वाणिज्य विभागद्वारा २ करोड जरिवाना, साढे ३ करोडको अयोग्य खाद्यान्न नष्ट



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका विभिन्न व्यवसायीलाई ८ महिनामा १ करोड ९३ लाख ९ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले दैनिक गरेको अनुगमनबाट सरकारले तोकेको ऐन कानून विपरीत कार्य गरेका व्यवसायीलाई कारबाहीको दायरामा ल्याई उक्त जरिवाना गरेको हो ।

विभागले चालु आर्थिक वर्षदेखि फागुन मसान्तसम्ममा ८१२ जना व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई जरिवाना गरिएको छ ।

चालु आवदेखि फागुन मसान्तसम्ममा जम्मा २ हजार ४३९ वटा फर्म, कम्पनी वा उद्योग अनुगमन गरेको थियो । जसमा विभागले साउनदेखि असोज मसान्तसम्ममा ८०० वटा फर्म, कम्पनी वा उद्योग अनुगमन गरेको थियो ।

उक्त समयअवधिमा विभागले १३७ वटा उद्योग, फर्म तथा कम्पनीलाई ७८ लाख ५६ हजार रुपैयाँ जरिवाना गरेको विभागको भनाइ छ ।

साथै, विभागले ९८ हजार ७ सय ८२ रुपैयाँ मूल्य बराबरको खाना अयोग्य वा म्याद सकिएको नष्ट गर्न लगाइएको छ ।

त्यसैगरी, विभागले कात्तिक महिनामा ३६८ वटा उद्योग व्यवसायमा अनुगमन गर्दा १७७ जनालाई ३९ लाख ६२ हजार रुपैयाँ जरिवाना गरेको छ ।

साथै, मंसिरका ३३७ वटा अनुगमन गर्दा १०४ जनलाई १७ लाख ७८ हजार रुपैयाँ, पुसमा ३५१ अनुगमन गर्दा १०९ वटा व्यवसायीलाई १३ लाख ७४ हजार रुपैयाँ, माघमा २९४ वटा अनुगमन गर्दा १५७ जना व्यवसायीलाई २७ लाख २६ हजार र फागुनका २८८ वटा उद्योग, व्यवसाय फर्ममा अनुगमन गर्दा १२८ जना व्यवसायीलाई १५ लाख ४२ हजार रुपैयाँ जरिवाना गरेको छ ।

करिब साढे ३ करोड बढीको अयोग्य खाद्यान्न नष्ट
वाणिज्य विभागले साउनदेखि फागुन मासन्तसम्ममा ३ करोड ७३ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको म्याद सकिएको वा खाना अयोग्य वस्तु तथा सेवा नष्ट गरेको छ ।

जसमा साउनदेखि कात्तिकसम्ममा ९८ हजार ७८२ रुपैयाँको गरेको छ । त्यसैगरी विभागले कात्तिक महिनामा ५९ लाख ५७ हजार रुपैयाँको, मंसिरमा ३ करोड ५ लाख १५ हजार रुपैयाँ, पुसमा १३ लाख ३० हजार रुपैयाँ, माघमा ३ लाख २२ हजार रुपैयाँ र फागुनमा २ लाख ८८ हजार रुपैयाँको खाना अयोग्य वस्तु नष्ट गरेको छ ।

विभागले बजारमा सम्पूर्ण विधामा व्यवसाय गर्दै आएका व्यवसायीलाई उक्त अखाद्य वस्तु नष्ट गर्न लगाइएको विभागको निर्देशक एवं प्रवक्ता शिवराज सेढाइले जानकारी दिए ।

त्यस्तै विभागले अनुगमन गरेकोमध्ये सामान्य कैफियत तत्काल सुधार गराइएको वा सुधार गर्न निर्देशन दिएको थियो ।

साथै, विभागले १७ वटा व्यवसायीलाई परीक्षणका लागि वस्तुको नमूना लिएको थियो भने २९ वटा व्यवसायीको कारोबार रोक्का वा शिलबन्दी गरिएको विभागले जनाएको छ । विभागले १९ जना व्यक्ति वा साधनलाई नियन्त्रणमा लिएको थियो भने ३ जनालाई अभियोजनमा लगिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु