ऋणपत्र निष्काशन गर्न ६ वाणिज्य बैंक धितोपत्र बोर्डको पाइपलाइनमा



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार ६ वटा वाणिज्य बैंकको ऋणपत्र पाइपलाइनमा छ । बोर्डका अनुसार ६ वटा वाणिज्य बैंकको १४ अर्ब ७० करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख कित्ता सेयर पाइपलाइनमा छ । उक्त सेयरमध्ये ६३ लाख २० हजार कित्ता सेयरमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा नै बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी नीति लिएपछि बैंकहरु ऋणपत्र धमाधम ल्याउन तम्सिएका हुन् ।

बोर्डको पाइपलाइनमा एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोवल आईएमई बैंक, सेञ्चुरी बैंक, र एनएमबी बैंक ऋणपत्र ल्याउन बोर्डमा आवेदन दिएका छन् ।

ऋणपत्र निष्काशन गर्ने बैंकहरुमा सबैभन्दा बढी नेपाल बैंकको छ । बैंकले ‘८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ जारीको तयारीमा छ । यसका लागि बोर्डले स्विकृती दिनुपर्ने छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्रका लागि बोर्डमा आवेदन दिएको छ । सर्वसाधारणले भने १४ लाख कित्तामा मात्रै आवेदन दिन पाउनेछन् । बाँकी रहेको कित्ता बैंकले म्यूचुअल फण्डलाई दिने र केही प्रतिशत आफै बिक्री गर्ने छ ।

यता ग्लोबल आईएमई बैंकले ‘८.५ प्रतिशत ग्लोबल आईएमई बैंक ऋणपत्र २०८६÷८७’ जारी गर्नका लागि बोर्डको आवेदन दिएको छ । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र ल्याउन लागेको छ । जसमा सर्वसाधारणले भने १२ लाख कित्ताको लागि मात्रै आवेदन दिन पाउने छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि ८.५ प्रतिशत ब्याज दिने गरी ८.५ आरबीबीएल ऋणपत्र २०८३’ निष्काशन गर्नेछ । बैंकले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र जारी गर्नको लागि बोर्डको पाइपलाइनमा छ । उक्त पाइपलाइनमा रहेको ऋणपत्रमा १० लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । उक्त ऋणपत्रमा आवेदन दिनको लागि प्रतिकित्ता १ हजार रुपैयाँ लाग्ने छ ।

यता सेन्चुरी बैंकले ९ प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब २२ करोड रुपैयाँको २२ लाख कित्ता ऋणपत्र जारी गर्नका लागि बोर्डको पाइपलाइनमा रहेको छ । उक्त पाइपलाइनमा रहेको ऋणपत्रमा १३ लाख २० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

एनएमबि बैंकले दुई वटा नाममा ऋणपत्र जारी गर्ने भएको छ । जसमा एनएमबी ऋणपत्र ८ प्रतिशत २०८४/८५ र ४ प्रतिशत एनएमबी उर्जा ऋणपत्र (इनर्जी बन्ड) २०९२-०९३) छ ।

‘८ प्रतिशत एनएमबी ऋणपत्र ८ प्रतिशत २०८४/८५ निष्काशन गर्न बोर्डको पाइपलाइनमा छ । बैंकले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । उक्त ऋणपत्रमध्ये ८ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

त्यस्तै ‘४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र (इनर्जी बन्ड) २०९२/०९३’ को लागि बैंकले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ऋणपत्र जारी गर्नको लागि बोर्डको पाइपलाइनमा रहेको छ । उक्त पाइपलाइनमा रहेको ऋणपत्रमा ६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।


क्लिकमान्डु