निर्देशन विपरीत कल डिपोजिट बटुल्दै बैंकहरु, राष्ट्र बैंक भन्छ- सरकारी निकायकै दबाब छ



काठमाडौं । बैंकहरुले नियामकको निर्देशन विपरीत कल डिपोजिट संकलन गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष नै कुल निक्षेपमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा नबनाउन निर्देशन दिएको थियो । जुन निर्देशन बैंकहरुले २०७७ असार मसान्तसम्म पालना गरिसक्नु पर्ने थियो ।

तर कल डिपोजिटको सीमा कायम गर्न दिएको समय समाप्त भएको ५ महिना पूरा भइसक्दा पनि ७ वटा वाणिज्य बैंकहरुको कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा बढी छ । तोकिएको समय सीमा समाप्त हुँदा पनि सरकारी निकायहरुको हस्तक्षेपका कारण बैंकहरुले निर्देशनको पालना गर्न नसकेको राष्ट्र बैंक सुपरीवेक्षणका एक अधिकारीले बताए ।

‘राज्य संयत्रबाट नै कल डिपोजिटमा बढी पैसा नराख्नु भनेपछि बैंकहरुले कल डिपोजिट लिन नै बन्द गरेका थिए,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘तर बैंकहरुलाई गभर्मेन्ट एजेन्सीहरुबाट नै कल निक्षेपमा पैसा राखी दिनु भनेर फोन आइसकेपछि बैंकहरुलाई पनि नराख्न गाह्रो हुन्छ ।’

निक्षेप जम्मा गर्ने ठूला संस्था तथा कम्पनीहरुले बैंकहरुले निक्षेप लिन छोडेपछि चालु खातामा पैसा नराखेर कल खातामा नै पैसा राख्न सरकारी पावर लगाएको उनको भनाइ छ ।

‘चालु खातामा पैसा राख्दा ब्याज आउँदैन, अनि ब्याज नआएपछि कम्पनीको नाफामा असर पर्छ,’ उनले भने, ‘आफ्नो राम्रो पर्फमेन्स देखाउन भएपनि कम्पनीका हाकिमहरु पावर लगाएर निक्षेप जम्मा गर्छन्, अनि त्यही निक्षेपका कारण कुल निक्षेपमा कल डिपोजिटको हिस्सा तोकिएको सीमाभन्दा बढी भइरहेको छ ।’

जस कारण राष्ट्र बैंकले निर्देशन उल्लघंन गरे अनुसार बैंकहरुलाई कारवाही गर्न समस्या भएको ती अधिकारीको भनाइ छ ।

‘अहिले कोभिडका कारण वाह्य सुपरिवेक्षण बन्द छ, अनि नियमन निर्देशन उल्लघंन गर्ने बैंकहरुलाई पनि विभिन्न कारणले गर्दा कारवाही गर्न समस्या आइरहेको छ,’ ती अधिकारीले थपे, ‘कोभिड कै कारण समस्या परेर सीमा कायम गर्न नसक्ने बैंकहरुलाई पुनरविचार हुन सक्ला तर राष्ट्र बैंकको नीति निर्देशन उल्लघंन गरेअनुसारको कारवाहीमा भने बैंकहरु पर्छन् ।’

सुपरीवेक्षणले हरेक पक्षमा नीति निर्देशन पालना नगर्ने तथा नियमन उल्लघंन गर्ने बैंकलाई नजिकबाट हेरिरहेको र परिस्थिति सहज हुने वित्तिकै दफा १०० बमोजिम कारवाहीको दायरामा ल्याउने ती अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकले बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम पनि बढी भएको निष्कर्ष निकाल्दै अघिल्लो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कल डिपोजिटको सीमा घटाउने घोषणा गरेको थियो भने बैंकहरुले २०७७ असार मसान्तसम्म कुल डिपोजिटमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा कम कायम गर्न निर्देशन राष्ट्र बैंकले दिएको हो ।

बैंकहरु केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार नै कल डिपोजिडको सीमाभित्र बस्न चाहे पनि ग्राहकले निक्षेप राख्न ल्याएका कारण सीमाभन्दा बढी हुन पुगेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘सीमाभन्दा बढी कल डिपोजिट भएका बैंकहरुले पनि एक वर्षभन्दा अगाडिको तुलनामा अहिले धेरै घटाएका छन्,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘बैंकले १० प्रतिशतभित्र बस्नुपर्छ भनेपनि ग्राहकले पैसा ल्याउँछन्, आफ्ना ग्राहकलाई बैंकले फिर्ता पठाउन पनि सक्दैनन् ।’

त्यसमा १० प्रतिशत बढी भएका बैंकहरुले सीसीडी रेसीयो गणना गर्दा हटाउन सक्ने उनको भनाइ छ ।

‘संसारभरीको नियमन भनेको जसले बढी भोलाटायल डिपोजिट राख्छ, त्यसले लिक्युडिटी बढी राखोस् भन्ने हो, राष्ट्र बैंकले १० प्रतिशतभन्दा जति बढी हुन्छ त्यसको १०० प्रतिशत लिकुरेशनमा राख्नुस् भन्दा तर्कसंगत हुन्छ,’ उनले थपे, ‘कल डिपोजिट र चालु निक्षेप जसको बढी हुन्छ, त्यसले तरल सम्पत्ति बढी राख्नुपर्ने हुन्छ, त्यही किसिमको नियम नै राष्ट्र बैंकको विभिन्न गाइडलाइनमा देखिन्छ, बैंकहरुले त्यो पालना गर्नु नै उपयुक्त हुन्छ ।’

संघले राष्ट्र बैंकलाई कल डिपोजिट व्यवस्थापनमा बैंकहरुले के गर्न सक्छन् सो बारेमा सुझाव समेत दिएको उनले जानकारी दिए ।

गत असार मसान्तमा समेत ५ वटा वाणिज्य बैंकहरुको कल निक्षेप तोकिएको सीमा अर्थात् १० प्रतिशतभन्दा माथि थियो । जसमा कुल डिपोजिटमा नबिल बैंक १७.०६ प्रतिशत, सिद्धार्थ बैंक १०.७७ प्रतिशत, प्राइम बैंक १४.१९ प्रतिशत, सिभिल बैंक १०.१० प्रतिशत र सेञ्चुरी बैंक १२.७९ प्रतिशत कल डिपोजिटको हिस्सा कायम गरेका थिए ।

१ वर्षको अवधि दिएर राष्ट्र बैंकले बैंकहरुलाई कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशत कायम गर्न निर्देशन दिँदा समेत अटेर गर्ने बैंकहरुमा चालु आवको मंसिर मसान्तसम्म २ वटा थप भइ ७ कायम भएका हुन् ।

जसमा नबिल बैंकले १२.३५ प्रतिशत, हिमालयन बैंकले १२.०६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११.५० प्रतिशत, एनएमबि बैंकले ११.०१ प्रतिशत, एनआइसी एशिया बैंकले १०.९८ प्रतिशत, लक्ष्मी बैंकले १०.७२ प्रतिशत र प्रभु बैंकले १०.५५ प्रतिशत कुल निक्षेपमा कल निक्षेपको हिस्सा कायम गरेका हुन् ।


क्लिकमान्डु