२० वटा ‘स्टार्ट अप’ फेल भएपछि जन्मिएको ‘इन्स्टाकार्ट’ले अपूर्वालाई अर्बपति बनायो
एउटा मानिसले लिएको लक्ष्यको माथिल्लो सिँढीमा पाइला राख्नु अघि कति ऊ पटक लड्नु पर्ला ?
भनिन्छ सफलताको उच्च बिन्दुमा पुग्नु अघि मानिस कैयन पटक लडेको हुन्छ । तर असफलताको पाठबाट सिकेर निरन्तर अगाडि बढ्नेहरु नै विजेता हुन्छन् ।
यसको गतिलो उदाहरण हुन्, चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मा ।
करिअर शुरु गर्नुभन्दा अघि २५ भन्दा बढी पटक अस्वीकृत हुँदाको पाठ सिकेर आज सबैभन्दा सफल मानिसका रुपमा आफ्नो नाम दर्ज गरिसकेका छन् । जसको असफलतापछि प्राप्त भएको सफलताको कथा सुन्ने र सुनाउनेहरु कैयन छन् ।
ज्याक माले जस्तै असफलतासँग जुध्दै अगाडि बढेका अर्का व्यक्ति हुन्, इस्टाकार्टका संस्थापक ३३ वर्षे अपूर्वा मेहता ।
क्यानडामा हुर्किएका भारतीय मुलका उनी पेशाले इन्जिनियर थिए । विभिन्न कम्पनीमा काम गर्दै सिकेको अनुभवलाई समेटेर उनले इस्टाकार्टबाट सफलता पाउनु अघि २० वटा स्टार्ट अपमा फेल भएका थिए ।
अमेरिकाको सन–फ्रान्सिकोमा ग्रोसरी सामान डेलिभरी गर्ने कम्पनी इन्स्टाकार्ट उनले सन् २०१२ मा शुरु गरेका थिए ।
वाटर लु विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा उनले क्वालकोम र ब्ल्याकबेरी जस्ता कम्पनीमा काम गरेका थिए । त्यसपछि उनी संसारभर व्यवसाय बिस्तार गरिरहेको इकमर्स प्लेटफर्म अमेजनमा समेत सप्लाइ चेन इन्जिनियरका रुपमा काम गरेका थिए ।
अमेजनमा काम गरिरहँदा उनले २ वटा कुरा सिके, पहिलो सफ्टवेयर बनाउन र दोस्रो त्यसको चुनौतीमा खरो उत्रने तरिका । अमेजनमा २ वर्ष काम गरिसकेपछि उनले जागिर छाडे ।
अमेजन छाडेको २ वर्षको समय उनले २० वटा स्टार्ट अप कम्पनी स्थापना गर्नमा खर्चिए । तर ती कुनैले पनि अपेक्षाकृत सफलता दिलाउन सकेनन् । उनले सामाजिक सञ्जालमा नेटवर्क बनाउमा समय खर्चिए पनि सफलताको बाटो तय गर्न भने सकेनन् ।
असफलताले थचिएको उनको मस्तिषकमा एउटा उपाय आयो । त्यो थियो अब जुन काम शुरु गरे पनि त्यो मानिसका समस्या समाधानमा केन्द्रित हुनुपर्छ ।
सन् २०१२ तिर अमेरिकाका मानिसहरु हरेक सामान अनलाइनबाट अर्डर गर्न थालिसकेका थिए । अनलाइनबाट सामान अर्डर मात्रै गर्ने होइन, मिटिङ पनि अनलाइनमै गर्न थालेका थिए । अनलाइनमा फिल्म हेर्ने, ग्रोसरीका सामान किन्नमा मानिसहरु अभ्यस्त हुँदै थिए ।
त्यतिबेला आएको यो आइडियालाई मूर्तरुप दिनका लागि उनलाई १ महिना पनि लागेन् । उनलाई लाग्यो, अनलाइन अर्डर लिएर मानिसका घरघरमा ग्रोसरीका सामान पुर्याउन सक्ने हो भने मानिसको समस्या समाधान गर्न सकिन्छ ।
यसबीच उनले मोबाइल एप बनाए र सार्वजनिक गरे । मानिसहरुले उक्त एपबाट ग्रोसरीका सामान खरिद गर्न सक्थे । शुरुवाती समयमा प्राप्त अर्डरहरुलाई आफै स्टोरबाट सामान लिएर घरघरमा डेलिभरी गर्न जान्थे ।
उनले शुरु गरेको बिजनेसको आइडियालाई धेरैले मन पराए । व्यवसायको सिलसिलामा उनले होल फूड, टार्गेट एन्ड सेफवे जस्ता कम्पनीसँग सहकार्य पनि गरे । अन्य व्यवसायमा जस्तै इन्स्टाकार्टमा पनि उनलाई समस्या आइलाग्यो । सन् २०१५ मा एउटा मुद्दा समेत पर्यो ।
सन् २०१६ मा कम्पनीले व्यवसाय विस्तारका क्रममा दक्षिण सिकागोमा व्यवसाय बिस्तार गर्यो । सोही वर्षको अक्टोबरमा कम्पनी क्यार्लिफोनियामा पनि पुग्यो ।
सन् २०१७ को नोभेम्बरमा कम्पनी क्यानडामा व्यवसाय बिस्तार गर्न सफल भयो । सन् २०१९ को डिसेम्बरमा कम्पनीको अल्कोहल डेलिभरी सर्भिसमा ३० जना नयाँ पार्टनर कम्पनी जोडिए र कम्पनीले सोही दिन २० वटा सहरमा व्यवसाय बिस्तार गर्न सफल भयो ।
अहिले कम्पनीले अमेरिका र क्यानडाका ५५ सय सहरमा सेवा प्रदान गरिरहेको छ भने हाल कम्पनीमा ३ लाख मानिस काम गरिरहेका छन् । जसले कोरोनाको महामारीको समयमा पनि घरघरमा ग्रोसरीका सामान पुर्याइरहेका छन् । तथ्यांक अनुसार कोरोनाको महामारीका बीचमा कम्पनीको कारोबार २१८ प्रतिशतले बढेको छ ।
अहिले कम्पनीको बजार मूल्यांकन १४ अर्ब अमेरिकी डलर पुगेको छ भने उनको कुल सम्पत्ति १.२ अर्ब डलर पुगेको छ । हाल कम्पनीमा उनको सेयर १० प्रतिशत छ ।