विद्यार्थी जीवनमा पिटाई खाने एलन मक्स यसरी बने ९६ अर्ब डलरको मालिक



तपाईं यदी नविनतम प्रविधि अथवा विश्वका धनी व्यक्तिहरुको बारेमा रुचि राख्नु हुन्छ भने पक्कै पनि एलन मस्कको नाम सुन्नु भएकै होला । आजको दिनमा प्रविधिको प्रयोग गरी अविश्वनिय काम कसैले गरेको छ भने त्यो मस्कले नै गरेका छन् ।

एलन मस्क अफ्रिकी मुलुकका लगानीकर्ता हुन् जो आफ्नो दूरगामी सोचका कारण चर्चित छन् । उनको सोच जहिले पनि मानिसको समस्या समाधानमा प्रविधिको उच्चतम प्रयोग गरी कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहँदै आएको छ ।

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला तथा स्पेस एक्स कम्पनीका सहसंस्थापक एलन मस्क गत साता विश्वको चौथो धनी व्यक्ति बन्न सफल भए ।

गत सोमबार मात्रै उनको सम्पत्ति कुल ११ प्रतिशत अर्थात् ८ अर्ब डलरको सम्पत्ति बढोत्तरी हुँदा उनी धनीहरुको सूचीमा चौथो स्थानमा उक्लिएका हुन् । यसअघि उक्त स्थानमा भारतीय व्यवसायी मुकेश अम्बानी थिए ।

अहिले धनीको सूचीमा मस्कभन्दा अघि जेफ बेजोस, बिल गेट्स र फेसबुकका मालिक मार्क जुकरवर्ग मात्रै छन् । ब्लुमर्ग बिलिनियर इन्डेक्सका अनुसार अमेजनका मालिक बेजोसको कुल सम्पत्ति अहिले १८८ अर्ब डलर छ भने बिल गेट्सको सम्पत्ति १२१ अर्ब डलर, मार्क जुकरबर्गको सम्पत्ति ९९ अर्ब अमेरिकी डलर छ । मक्सको अहिलेको सम्पत्ति ९६ अर्ब ८० करोड अमेरिकी डलरको सम्पत्ति छ । पछिल्लो ६ महिनामा ७० अर्ब अमेरिकी डलरले बढेको छ ।

आजभन्दा करिब ४९ वर्ष अघि दक्षिण अफ्रिकाको पिक्टोरिया सहरमा मस्कको जन्म भएको थियो । पिता इन्जिनियर र पाइलट दुबै थिए भने आमा मोडल र डाइटिसन थिइन् ।

एलन सानैदेखि पढाइमा तेज थिए । उनी पढाइ भनेपछि हुरुक्कै हुन्थे । पढ्ने उनको सौख जस्तै थियो । उनी १० वर्षको उमेरदेखि नै कम्प्युटर सिक्न थालिसकेका थिए । उनले १२ वर्षको उमेर नपुग्दै ब्लास्टर नामक कम्प्युटर गेम समेत बनाइसकेका थिए । जसलाई उनले ५०० सय अमेरिकी डलरमा पीसी एन्ट टेक्नोलोजी नामक कम्पनीलाई बिक्री गरेका थिए । यो समयदेखि नै एलनमा भएको प्रतिभा शुरु भएको मानिन्छ ।

स्कुले दिनमा उनी साथीहरुबाट निकै पीडित थिए । एकपटक त उनी बेहोस नहुँदासम्म साथीहरुले पिटेका थिए । जसका कारण उनी लामो समयसम्म अस्पतालमा भर्ना भइ बस्नु परेको थियो । तर जब उनी केही गर्न लायक र जान्ने बुझ्ने भए तब उनले आफ्नो जीवन मानिसहरुको समस्या समाधानमा केन्द्रित गर्ने सोच बनाए ।

पढाइमा तेज मस्कले १७ वर्षको उमेरमा क्विन विश्वविद्यालयबाट स्नातक अध्ययन पूरा गरे । त्यहाँ २ वर्ष अध्ययन गरिसकेपछि उनी त्यहाँबाट पेन्सिभेलियामा ट्रान्सफर भएका थिए । उनले त्यहाँ सन् १९९२ मा ब्याचलर अफ साइन्समा डिग्री लिए । उनी सन् १९९५ मा पीएचडी गर्नका लागि क्यार्लिफोनिया गए ।

तर त्यहाँ रिसर्च शुरु गरेको २ दिनमै सबै छाडेर व्यवसाय शुरु गर्न थाले ।

त्यसैबेला उनले आफ्नो भाइसँग मिलेर जिप २ नामक सफ्टवेयर कम्पनी स्थापना गरे । जुन कम्पनीलाई कम्प्याक नामक कम्पनीले ३०७ मिलियन अमेरिकी डलरमा खरिद गर्यो । जसबाट एलम मस्कलाई जिप २ कम्पनीमा भएको ७ प्रतिशत सेयरवापत २२ मिलियन अमेरिकी डलर हात पारे ।

सन् १९९९ मा उक्त पैसाबाट १० मिलियन डलर उनले एक डट कम नामक कम्पनीमा लगानी गरे । यो कम्पनीले फाइनान्सियल सर्भिस दिन्थ्यो । त्यसको एक वर्षपछि उक्त कम्पनी कन्फिनिटी नामक कम्पनीसँग जोडियो । त्यतिबेला कन्फिनिटी कम्पनीसँग एउटा मनी ट्रान्सफर कम्पनी थियो । जसलाई हामी आजका दिनमा पे पल नामक कम्पनीका रुपमा चिन्छौं ।

सन् २००२ मा इबे कम्पनीले पेपललाई १.५ बिलियन डलरको अविश्स्नीय रकममा खरिद गर्यो । यसबाट एलन मस्कलाई १६५ मिलियन अमेरिकी डलर मिल्यो । जसमध्ये १०० मिलियन डलरको लगानीमा उनले सन् २००२ मा स्पेस एक्स नामक कम्पनी स्थापना गरे । जुन आजका दिनमा स्पेस लञ्चिङ र भेहिकल बनाउने कम्पनीका रुपमा परिचित छ । मस्कले सन् २०३० सम्ममा मानिसहरुलाई मंगल ग्रहमा लैजाने योजना समेत बनाएका छन् । उनले सुन् २००३ मा टेस्ला इंक नामक अर्को कम्पनी पनि शुरु गरे ।

उनी सन् २००८ देखि टेस्ला कम्पनीको सीइओका रुपमा काम गरिरहेका छन् । तपाईंलाई थाहै होला टेस्लाको परिचय यसको अदभुत इलेक्ट्रिक कारसँग जोडिएको छ । उनले सन् २००६ मा आफन्तको कम्पनी सोलार सिटीमा फाइनान्सियल सहयोग गरेर शुरुवात गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे ।

सन् २०१३ मा सोलार सिटी कम्पनी अमेरिकाको दोस्रो ठूलो कम्पनी बन्यो । सन् २०१६ मा आइपुग्दा यो कम्पनीलाई टेस्लाले आफ्नो अधिनमा लियो ।

सन् २०१५ डिसेम्बरमा मस्कले आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च कम्पनीको शुरुवात गरे । जसको नाम उनले ओपन एआई राखे । यो कम्पनीले मानवताका लागि आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट सुरक्षित र सहज बनाउने पर्यन्त गरेका छन् ।

सन् २०१६ मै एलम मस्क न्यूरालिक नामक आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने कम्पनीमा लगानीकर्ता बने । यो कम्पनी यतिबेला आर्टिफिसियल इन्टेलिजेन्स र मानिसको दिमागबीच सम्बन्ध जोड्ने काममा लागि रहेको छ ।

उनी जहिले पनि विश्वमा अझै पनि कैयन कामहरु गर्न बाँकी रहेको भन्दै धेरै काम गर्न जरुरी भएको बताउँदै आएका छन् । उनी मानवको हितमा काम गर्नका लागि अझै पनि कैयन कामहरु बाँकी रहेको सोच राख्छन् ।


क्लिकमान्डु