मलेसिया जाने श्रमिकका लागि नयाँ मापदण्ड, यस्ता सुविधा पाउनेछन्



काठमाडौं । मलेसिया सरकार र नेपाल सरकारबीच मलेसियामा वैदेशिक रोजगारीका लागि नयाँ सम्झौता भएको छ । उक्त नयाँ सम्झौताले नेपाली कामदारहरुलाई मलेसियामा रोजगारीमा जान पहिलेको भन्दा सहज भएको हो ।

नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कार्तिक १२ गते सम्पन्न भएको श्रम समझदारी (एमआयू) भएको र दोस्रो चरणको बैठक गत भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा सम्पन्न भएको थियो ।

उक्त वैठकबाट गत वर्ष हस्ताक्षरित श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुंगो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिक रुपमा अगाडि बढाउन सहमति भएको हो ।

सम्झौता उल्लेखित व्यवस्थाहरुः

१) मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ ।

२) विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी समझदारी पश्चात नलाग्ने भएको छ ।

३) करार अवधि ३ वर्ष रहँदै आएकोमा २ वर्ष कायम भएको छ ।

४) कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता भएको छ ।

५) अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

६) रोजगारदाताले कामदारका लागि उचित वातावरण र बासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रवन्ध गर्नुपर्नेछ ।

७) नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ । सो हुन नसकेमा उक्त सन्दर्भमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै वहन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

८) महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नु पर्नेछ ।

९) कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने छन् ।

१०) मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् ।

११) कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ ।

१२) भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा सो नेपाली कामदारलाई समेत लागू हुनेछ ।

१३) वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

१४) समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ ।

१५) दुबै देशका सरकारले आ-आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नुपर्नेछ ।

१६) रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

१७) सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनौट गर्न सक्ने प्रावधान गरिएको छ ।

१८) करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने र सोका लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनु पर्नेछ ।

१९) नेपाली कामदारहरुले आफ्नो राहदानीलगायत आफ्ना निजी कागजात आफैसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

त्यस्तै, सरकारले मलेसिया जान चाहने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था छनोट गरेको छ । जसमध्ये ३६ वटा संस्थाले मलेसियाली स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गरी मेलेसियाको बायो मेडिकल सिस्टममा समेत आबद्ध छन् ।


क्लिकमान्डु