बैंकको प्रोभिजन व्यवस्थामा परिवर्तन, बचतकर्ता ३ वर्षभित्र बैंकमा नआए खाता निस्कृय



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा सूचिकृत हुन नपर्ने संस्थामा ५१ प्रतिशतभन्दा बढी लगानी गरेमा मात्र सो रकम बराबरको रकम प्रोभिजन गर्नुपर्ने भएको छ ।

योभन्दा अगाडि जति प्रतिशत लगानी भएपनि प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।

धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको जलविद्युत लगायत नवीकरणीय उर्जा परियोजना, विद्युत प्रसारण लाइन र केवलकार निर्माण परियोजना सञ्चालन गर्न स्थापित पब्लिक लिमिटेड कम्पनीको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र र अन्य संगठित संस्थाको सेयर तथा डिवेञ्चरमा लगानीे गरेमा लगानी गरेको मितिले दुई वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्ने व्यवस्था थियो ।

त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइने छैन ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले सेयर बजारमा सूचिकृत नहुँने खालका कम्पनीमा ५१ प्रतिशतभन्दा कम लगानी गरेमा सो रकम प्रोभिजन गर्न नपर्ने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बचत खाता खोल्ने बचतकर्ता ३ वर्षसम्म बैंकमा नआएमा यस्तो खाता निस्कृय हुने जनाएको छ । कल र चल्ती खाताको हकमा ६ महिना हुनासाथ यस्तो खाता निस्कृय हुने छ ।

बैंक वा वित्तीय संस्थाले दश वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरुको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र यस बैंकमा पठाउनु पर्नेछ ।

साथै, यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्ना वेबसाइटमा समेत राख्नु पर्ने व्यवस्था छ । २० वर्षसम्म वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम यस बैंकको ‘बैंकिङ्ग विकास कोष’ मा जम्मा गर्नु पर्नेछ ।


क्लिकमान्डु