आइएमएफको निष्कर्षः बैंकको पुँजी पुगेन,सीसीडी यथावत र केन्द्रीय बैंकमा हस्तक्षेप हुनु भएन



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को आर्टिकल फोर मिसनको टोली नेपाल भ्रमणबाट आज अमेरिका फर्कदै छ ।

नेपालको वित्त तथा मौद्रिक नीतिको लागि हरेक वर्ष आएर सुझाव दिने आइएमएफको आर्टिकल फोर मिसन निकै नै महत्वपूर्ण हुने गरेको छ ।

मंसिर १६ गते आइएमएफको आर्टिकल फोर मिसनको टोलीको नेतृत्व ग्रिट अल्मेकाइन्डर्सको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री डा युवराज खतिवडा,राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित उच्च सरकारी अधिकारी र निजी क्षेत्रलाई भेटेर फर्केको थियो ।

आइएमएफ आर्टिकल फोर मिसनले नेपालको अर्थतन्त्रको बारेमा निकालेको निष्कर्ष मुख्य रुपमा सरकारको लागि सकारात्मक छ । ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएको सरकारलाई आर्थिक बृद्धि प्रक्षेपणमा विगतमा अन्य दातृ निकायभन्दा कम प्रक्षेपण गर्ने आइएमएफले साढे प्रतिशत भनेको छ ।

टोलीले जारी गरेको प्रेस विज्ञप्तीमा पछिल्लो समय आक्रमक रुपमा विस्तार भएको कर्जा र राष्ट्र बैंकको स्वायत्तताको विषयमा आइएमएफले विशेष चासो जनाएको छ ।

आइएमएफको आर्टिकल फोर मिसनका प्रमुख ग्रिट अल्मेकाइन्डर्सले आक्रामक कर्जा विस्तारले समस्या निम्ताउन सक्ने बताए ।

‘वार्षिक २० प्रतिशतको दरले कर्जा बढाउने लक्ष्य लिएकोमा बैंकहरुले २५ प्रतिशतको दरल े बढाएका छन्,यसले बैकिङ क्षेत्रमा जोखिम निम्ताउन सक्छ जसको लागि पुँजी बढ्नु आवश्यक छ,’उनले पत्रकार सम्मेलनमा भने ।
आइएमएफले नेपालको खराब कर्जा अनुपात(एनपीएल) दक्षिण एशियामा नै निकै कम भएपनि वास्तविक नभएको जनाएको छ । एनपीएल कम भएपनि शंका गर्नुपर्ने ठाउँहरु रहेको आइएमएफले जनाएको छ ।

‘मुख्य रुपमा ओभरड्राफ्ट प्रकृतिको बढ्दो कर्जाले इभर गिर्निङको सकेंत गरेको छ,जसले गर्दा एनपीएल वास्तविक नभएको शंका गर्नुपर्ने देखिन्छ,’ ग्रिट अल्मेकाइन्डर्सले थपे ।

आइएमएफको टोलीले सीसीडी रेसियो कुनैपनि हालतमा परिवर्तन नगर्न सुझाव दिएको छ । सीसीडी रेसियो परिवर्तन गर्दा वित्तीय स्थाईत्वमा असर गर्ने निष्कर्ष आइएमएफको छ ।

बैंकहरुले पुँजी कर्जा निक्षेप अनुपात(सीसीडी) रेसियो ८० प्रतिशत बढाउन माग गरेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक रिपोर्टमा सरकारले अनिवार्य प्रवाह गर्न भनेका कर्जा प्रवाह गर्दा यस्तो रकम सीसीडीमा गणना नहुँने व्यवस्था गरेको छ ।

आइएमएफले केन्द्रीय बैंकले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न पाउनुपर्ने जनाएको छ । आइएमएफको टोलीले अर्थमन्त्रीसँगको भेटमा केन्द्रीय बैंकको स्वायत्ततामा हस्तक्षेप गर्दा वित्तीय स्थाईत्वको लागि राम्रो नहुँने जनाएको थियो ।

‘केन्द्रीय बैंकले स्वायत्तसँगै उत्तरदाहित्व ढंगले काम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’टोली प्रमुख ग्रिट अल्मेकाइन्डर्सले भने ।

यस्तै आइएमएफको टोलीले नेपालले चैतमा गर्न लागेको लगानी सम्मेलनलाई स्वागत गर्दै यसको लागि नीतिहरु परिवर्तन आवश्यक भएको जनाएको छ ।


क्लिकमान्डु