सेयर बजारमा अर्थमन्त्री डा युवराज खतिवडाको मनोवैज्ञानिक त्रास



काठमाडौं । सेयर लगानीकर्ताले अहिले जति अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना कहिल्लै पनि गरेका थिएनन् होला ।

सामाजिक संजाल हेर्ने हो भने अर्थमन्त्री खतिवडाको कारण नै अहिलेको सेयर बजार घटेको टिप्पणी लगानीकर्ताको रहेको देखिन्छ ।

अर्थमन्त्री डा खतिवडा घरजग्गा र सेयर बजारका लगानीकर्ताको लागि प्रियकर भने होइनन् । राष्ट्र बैंकमा ५ वर्ष गभर्नर हुँदा उनले लिएका नीतिले घरजग्गा र सेयर कारोबारीहरु डराउने खालका थिए ।

केपी ओली प्रधानमन्त्री हुँदा सर्किट ब्रेक लगाउदै बढेको सेयर बजार अर्थमन्त्रीको रुपमा डा युवराज खतिवडा आउने भनेपछि त्रसिएको थियो । सेयर लगानीकर्तामा अर्थमन्त्री खतिवडाको मनोवैज्ञानिक त्रास भने कायम भएको देखिन्छ ।

अर्थमन्त्री भएपछि बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा खतिवडाले बैंक तथा वित्तीय संस्थामा विदेशी पुँजी ल्याउने र सो रकम हिजोजस्तै घरजग्गा सेयर तथा गाडीजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगरिने बताएका थिए ।

त्यसको अर्कोदिन नेप्से परिसूचक ५० अंकले घटेको थियो । अर्थमन्त्रीलाई भेट्न पुगेका सेयर लगानीकर्ता र ब्रोक्ररलाई अर्थमन्त्री खतिवडाले आफु इन्डेक्स कति हुन्छ भनेर नहेर्ने बताएका थिए ।

सेयर बजारसँग जानकार राख्ने व्यक्तिहरु अर्थमन्त्री खतिवडाकै कारण सेयर बजार घटेको भन्ने मान्न तयार छैनन् । बढ्दो आपूर्ति,घट्दो माग तथा बैंक तथा वित्तीय संस्थाको ब्याजदर तथा १८ सय बिन्दुमा पुगेर फर्केको हुँदा सेयर बजार बियरिस ट्रेण्डमा थियो ।

२ अर्बको वाणिज्य बैंक ८ अर्ब रुपैयाँ भएको थियो । यस्तै अनुपात विकास बैंक फाइनान्स कम्पनीको पनि छ । बीमा कम्पनीको पनि चुक्ता पुँजी बढाउने नीतिले सेयरमा आपूर्ति थपिएको छ । अझै पाइपलाइनमा रहेका हकप्रद तथा आइपिओले अझै आपूर्ति बढाउने नै छ ।

केही दिन अगाडि दाङबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद् मेटमणी चौधरीले प्रधानमन्त्री केपी ओलीसँग अर्थमन्त्री खतिवडाको राजिनामा माग गरे । सो समाजारको टिप्पणीमा सामाजिक संजालमा ९० प्रतिशतभन्दा बढी कमेन्ट अर्थमन्त्री खतिवडाको राजिनामा माग गर्दै आएको थियो । जसमा कमेन्ट गर्नेहरु अधिकांश सेयरमा लगानी गर्नेहरु थिए ।

यसले अर्थमन्त्री खतिवडा नै सेयर बजार घटाउन प्रमुख जिम्मेवार भएको आरोप लगानीकर्ताको छ ।

तर,केही लगानीकर्ता तथा विश्लेषकको बुझाई भने फरक छ ।

त्यसमा हुन सेयर विश्लेषक निरव पुडासिनी । उनले हिजो फेसबुकमा पोस्ट गरेका छन्,‘निसन्देह सेयर बजार परिसूचक निरन्तर ओरालो लाग्नु वा बढ्नुले अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ। तर के अर्थ मन्त्री परिबर्तन गर्ने बित्तिकै परिसूचक बृद्धि हुन्छ, कति १००(२०० वा ४०० कति अंकले बृद्धि हुन्छ। अनि के यसो हुनु परिपक्व सेयर बजारको संकेत हो। हुन त हाम्रो बजार परिपक्व भएको छैन भन्ने पनि तर्क छ ।’

यसमा टिप्पणी गर्दै सेयर बजारका अर्का विश्लेषक ज्योति दाहालले टिप्पणी गरेका छन्,‘ अर्थमन्त्री शेयरबजारको लागि मात्र बनाउने हो रु शेयर कारोबारी कतिजना छन रु के यिनले सट्टेबाजी गरेर कमाएको पैसाले समग्र देशलाइ के हुन्छ ?
अहिले जुन अवस्थामा बजार छ एकप्रकारले सहि नै हो । पूँजी बढेको छ एकैपटक गुणात्मक आम्दानी हुन्न तर परिमाण त बढेकै छ । अर्को वर्ष परिमाण र गुणात्मक आम्दानी बढ्छ अनि बजार कसले रोकेर रोकिएला रु व्यवस्थापन गर्न जान्नु नपर्ने अनि अनावश्यक अरण्यरोदन गरेर अर्थमन्त्री हटाउ भन्नुको कुनै अर्थ छैन ।’

सेयर बजारमा मनोवैज्ञानिक कारण बढ्ने र घट्नेमा प्रमुख हुन्छ । हिजोको दिनमा पुँजीबृद्धि हुँदा हकप्रद आउदा उचालिने लगानीकर्ताहरु बजारमा नै थिए । अर्थमन्त्रीको कारण अहिले मनोवैज्ञानिक त्रास भने लगानीकर्तामा देखिएको छ । यो त्रास हटाउन भने अर्थमन्त्रीले पहल भने गरेका छैनन् ।


क्लिकमान्डु