ठमेलको सडक कहिले बन्छ सरकार, २० लाख पर्यटक हिलो हेर्न आउलान् र ?




काठमाडौं । वर्षाको समयमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठेमल हिलाम्ये छ । यस्तै अर्को पर्यटकीय गन्तव्य बौद्धनाथ क्षेत्रमा हिलो र धूलाको कारण स्थानीयबासी समेत हिड्न सक्ने अवस्था छैन ।

घाम लाग्दा धूलो उड्ने र पानी पर्दा हिलाम्मे हुने ठमेल क्षेत्रमा सडक कालोपत्र गर्नेतर्फ कुनै पनि पहल गरिएको छैन ।

निर्वाचनको समयमा स्मार्टा सिटी बनाउने भन्दै घोषणा गरेका काठमाडौँ महानगरपालिकाका मेयर के गर्दैछन् भन्ने कसैले पनि थाहा पाएका छैनन् । काठमाडौँ भित्रको मुख्य शहर मानिएको महानगरपालिका भित्रका सडक खाल्ल्डाखुल्डीमा परिणत भएका छन् ।

मर्मत सम्भारमा सरकारले ध्यान दिएको छैन । काठमाडौ महानगरपालिका चुपचाप निदाइरहेको भन्दै गुनासो समेत बढेको छ ।

स्थानीय जनप्रतिनिधि समेत कहाँ र कुन अवस्थामा छन् भन्ने बारेमा कोही कसैले बताउन सक्दैनन् ।

काठमाडौंको विशेषताको रुपमा पानी पर्दा हिलो र घाम लाग्ला धूलो भने जस्तै भएको छ ।

ठमेल क्षेत्रको हिलो र धूलोका कारण कोही कसैले पनि सहज रुपमा यात्रा गर्न सक्ने अवस्था छैन ।

हिलो र धूलोका कारण पर्यटक समेत पछिल्लो दिनमा तर्किदै हिड्न थालेका छन् । उनीहरुले आफ्ना देशमा कस्तो सन्देश लैजालान् भन्नेमा कुनै पनि निकायले गम्भीर भएर सोचको छैन ।

यस्तो अवस्थामा सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ ।

उसले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत अघि सारेको छ ।

सन् २०१७ मा करिब १० लाख पर्यकट नेपाल भित्रिएका थिए । यस वर्षको ६ महिनाको अवधिमा करिब ६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसमा पदयात्रामा जानेको संख्या बढी छ ।

त्रिभुवन विमानस्थलको अवस्था दयनीय छ । वर्षाका कारण धावनमार्गको पिच उप्कने समस्याका कारण जहाज कुन बेला होल्ड हुने हो कुनै ठेगान छैन ।

विमानस्थलको अध्यागमन तथा अन्य निकायमा बस्ने सरकारी कर्मचारीको व्यवहार गतिलो छैन । यस्तो अवस्थामा सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।

उसले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून संख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाएको छ । तर ठमेलेको हिलो र धूलो, बौद्धनाथ क्षेत्रमा सरकारको कमजोरीका कारण सहजै लक्ष्य पूरा हुने र थप पर्यटक आर्कषित हुन्छन् भन्ने ठान्नु ब्यवहारिक देखिदैन ।

सोहीअनुरूप धेरै पर्यटक आउने देश भारत र चीन लगायतका देशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको काम अघि बढाइएको सरकारको भनाइ छ ।

नेपालमा पर्यटकको आकर्षण धेरै भएको बताउने पर्यटन व्यवसायीहरूले भने विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र काठमाडौंको सडक यातायातको सुधार, धूलो र धुवाको नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन् ।

सन् २०१७ मा झन्डै १० लाख पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । आगामी डेढ वर्षपछि सुरु हुने नेपाल भ्रमण वर्षभरिमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य सरकारले राखेको छ । तर भौतिक पूर्वाधारको विकासमा ध्यान दिएको छैन ।

कतिपयले यसलाई सरकारको महत्वाकांक्षी योजना भनिरहेका बेला पर्यटन बोर्डले वर्षैभरि पर्यटन आउने वातावरण बनाउन लागिपरेको र त्यसमा कुनै पनि प्रकारको तलमाथि नहुने जिकिर गरेको छ ।

भारत र चीन दुईवटा बजारमा अझै बढी प्रचारप्रसार गरिने, म्यानमार, भियतनाम, बंगलादेश जस्ता देशहरुबाट पनि ठूलो संख्यामा पर्यटक ल्याउन सकिने दावी सरकारको छ ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो मात्रामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचार प्रसारको काम सुरु गरिएको सरकारी भनाइ छ ।

त्यसका लागि सन्देश र लोगो सातवटा भाषामा बनाएर पठाइसकिएको पर्यटन बोर्डको दावी छ । लोगो पठाएको भरमा मात्रै विदेशी नागरिक नेपाल भ्रमणमा आउँछन् भन्ने सोच्नु समेत गलत हुने बताइन्छ ।

त्यसका लागि नेपालको विविधता झल्कने प्रचार सामग्री, नेपालको उपलब्ध भौतिक पूर्वाधार तथा पर्यटकमैत्री काम गरिनुपर्नेमा जोड दिइएको छ ।

नेपालमा धेरै पर्यटक आउने देशमा भारत पहिलो स्थानमा रहेको छ । कहिले भारत पहिलो स्थानमा त कहिले चीन पहिलो स्थानमा पुग्ने गरेको छ । उत्तर तर्फको नाकामा थप सहजीकरण गर्ने हो भने चीनबाट आउने पर्यटकको संख्यामा उल्लेख्य सुधार हुन सक्छ । नेपालमा आउने पर्यटकमा चीन दोस्रो र संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छन् ।

ती देशहरूका अतिरिक्त अन्य देशहरूमा नेपाल सबैजसो पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने र उनीहरूलाई आकर्षित गर्ने गरी काम अघि बढाइएको बोर्डको भनाइ छ ।

नेपाल वायुसेवा निगमले थपेका दुईवटा जहाजले जापान र दक्षिण कोरिया उडान गरे पर्यटकको मात्रा बढ्ने अपेक्षा समेत गरिएको छ । तर निगमले हाल पूरानै रुटमा उडान सुरु गरेको छ । नयाँ रुटमा उडान सुरु गरेर नेपालको प्रचार प्रसारमा ध्यान दिनुपर्ने देखिन्छ ।

नेपालमा पर्यटकहरूको आकर्षण धेरै भएपनि विमानस्थलको स्तरोन्नति गर्ने काम र पर्यटक जाने ठाउँको सडक निर्माण तीव्र गतिमा निर्माण गर्नुपर्ने निजी क्षेत्रमा व्यवसायीको धारणा छ ।

सरकारले आफ्नो लक्ष्य पूरा गर्न सघाउने तवरले पूर्वाधारको विकास, पर्यटकमैत्री संरचनाको निर्माणमा ध्यान दिने गरी लगानी भने गरेको छैन । गफ गरेको भरमा नेपालमा पर्यटक आउँछन् र उनीहरुले नेपालका लागि भनेर खर्च गरिदिन्छन् भन्ने मान्यता राखियो भने त्यसले प्रतिफल दिने अवस्था रहेको छैन । व्यवसायीहरुले पूर्वाधार निर्माणमा सरकारले जुन रुपमा लाग्नुपर्ने हो त्यसो हुन नसकेको गुनासो गरेका छन् ।

विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माणलाई गति दिनसके लक्ष्य पूरा गर्न कठिन नभएको भएपनि हालसम्म सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन ।

सडक र उडान प्रभावकारी बनाउन नसकेर समस्या निम्तिएको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै जसो समय समस्या हुने गरेको छ । नयाँ विमानस्थल निर्माणको काम कछुवा गतिमा मात्रै अगाडि बढिरहेको छ ।

विमानस्थलको स्तरोन्नति गर्ने काम र पर्यटक जाने ठाउँको सडक निर्माण तीव्र गतिमा निर्माण गर्नुपर्ने विषयलाई विशेष जोड दिइनु जरुरी छ । तर त्यसतर्फ कुनै पनि प्रकारको ध्यान दिइएको छैन ।

भौतिक पूर्वाधारको निर्माण प्रमुख चुनौती रहेको अवस्थामा सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनेर लिएको लक्ष्य समेत पूरा नहुने देखिएको छ । यस्तै स्थानीय निकाय र प्रदेश सरकारसँग पनि कुनै प्रकारको समन्वय गरिएको छैन ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द अधिकारीले आगामी ५ वर्षमा २५ लाख र १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने अर्को महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन् । लक्ष्य मात्रै सार्वजनिक गर्ने र भौतिक पूर्वाधारमा निर्माणमा ध्यान नदिने हो भने पर्यटक भित्र्याउन कठिन हुने देखिन्छ । त्यसका कारण भौतिक पूर्वाधारको विकासमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।


क्लिकमान्डु