अपार्टमेन्टवालालाई थप ५० प्रतिशत कर, कस्तो घरधनीले कति तिर्नुपर्छ सम्पत्ति कर ?
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षबाट घरजग्गा करलाई सम्पत्ति करमा रुपान्तरण गरेको छ । महानगरले चालु आर्थिक वर्षबाट लागू हुने गरी सम्पत्ति कर समेत बढाएको छ ।
कसरी हुन्छ सम्पत्ति मूल्याङ्कन ?
सम्पत्ति कर निर्धारण गर्दा भवनको डीपीसी भएको क्षेत्र (प्लिन्थ एरिया) को जग्गा र सोही बराबरको थप जग्गालाई आधार मानेर कर तिर्नुपर्र्ने हुन्छ । यो भनेको तपाइले बनाएको घर वा भवनको डीपीसी गरेको क्षेत्रफल ३ आना छ र तपाइसँग १० आना जग्गा छ भने डीपीसी गरेका ३ आना जग्गाको क्षेत्रफलको दोब्बर अर्थात ६ आनामा घर बनेको मानेर त्यसको घरको कर (सम्पत्ति कर) तिर्ने र बाँकी रहेको ४ आना जग्गाको बेग्लै कर तिर्ने भन्ने हो ।
जग्गाधनी प्रमाण पूर्जामा डीपीसी भएको जग्गाको दुई गुणा जग्गा नभएमा जग्गाधनी प्रमाण पूर्जामा भए बराबरको जग्गालाई आधार बनाइन्छ । यो भनेको तपाइसँग ३ आना जग्गा छ र त्यसमा बनाएको घरको डीपीसीले २ आना क्षेत्रफललाई ओघटेको छ भने तपाइको घरको डीपीसीले ३ आना जग्गा ओघटेको छ भन्ने मानेर सम्पत्ति कर तिर्ने हो ।
सम्पत्तिको मूल्याङ्कन र करको दर
भवन र जग्गाको मूल्याङ्कन १ करोड रुपैयाँ भएमा १ हजार रुपैयाँ कर तिर्नुपर्छ । २ करोड मूल्याङ्कन भएमा २ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । ३ करोडको मूल्याङ्कन भएमा ४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
यस्तै ४ करोड रुपैयाँ मूल्याङ्कन भएमा ८ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । ५ करोड मूल्याङ्कन भएमा १४ हजार ५ सय रुपैयाँ र ६ करोडको मूल्याङ्कन भएमा २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
६ करोडसम्मको मूल्याङ्कनमा १ करोडको अन्तरमा कर तिर्नुपर्ने हुन्छ भने ६ करोडभन्दा माथि २ करोडको अन्तरमा कर तिर्नुपर्ने हुन्छ । ८ करोडको मूल्याङ्कन भएमा ८४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । १० करोडको मूल्याङ्कन भएमा १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
१० करोडभन्दा माथिको मूल्याङ्कन भएमा प्रतिकरोड ६० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
कस्तो घरले कसरी तिर्ने कर ?
सम्पत्ति कर निर्धारण गर्दा भवन बनौटको आधारमा मूल्याङ्कन गरिने महानगरले बताएको छ । भित्र काँचो बाहिर पाको ईंटामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको प्रतिवर्गफिट १५ सय रुपैयाँ कर तोकिएको छ ।
भित्र बाहिर पाको ईंटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवनको र प्रिफायब गोदाम भवनको प्रतिवर्गफिट १८ सय रुपैयाँ कर तोकिएको छ ।
भित्र बाहिर पाको ईंटा र सिमेन्टको जोडाई भएको भवनको प्रतिवर्गफिट २ हजार ३ सय रुपैयाँ कर तोकिएको छ । स्टील स्ट्रक्चर (ट्रस) भवनको प्रतिवर्गफिट २ हजार ४ सय रुपैयाँ कर तोकिएको छ । आरसीसी फ्रेम स्ट्रक्चर भवनको प्रतिवर्गफिट २ हजार ६ सय रुपैयाँ कर तोकिएको छ ।
अपार्टमेन्ट/फ्ल्याटमा महानगरले थप ५० प्रतिशत कर लगाउने बताएको छ । अपार्टमेन्ट वा फ्ल्याटमा उपलब्ध प्यासेज, लबी, भ¥याङ्, बाटो, बेसमेन्ट, मनोरञ्जन तथा रिक्रियशन स्थल, बगैंचा, पार्किङ्ग तथा सडक जस्ता सुबिधा, मूल्याङ्कनमा समावेश नहुुने भएकाले तिनको कर भन्दै महानगरले थप ५० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।
यस्तै हाउजिङ्गमा भने महानगरले थप २५ प्रतिशत कर लगाउने छ ।
यस बाहेक निर्माण भईसकेका, तर बिक्री नभएका अपार्टमेन्ट, फ्ल्याट र हाउजिङ्गलाई भने निर्माण भएको तीन वर्षसम्म सम्पत्ति कर नलगाईने महानगरले बताएको छ ।
व्यबसायिक प्रयोजनका लागि निर्माण गरी बिक्री भएको मल/सपिङ्ग कम्प्लेक्स/सपिङ्ग सेन्टरमा खरिद बिक्री हुने पसल, कोठा र तलाले पनि अपार्टमेन्ट, फ्ल्याट र हाउजिङ्ग अनुसार नै कर तिर्नुपर्ने छ । मल/सपिङ्ग कम्प्लेक्स/सपिङ्ग सेन्टरमा पनि थप ५० प्रतिशत कर लाग्ने छ ।