अमेरिका जाँदै वा आफन्त पठाउँदै हुनुहुन्छ ? त्यसोभए यी तथ्य पनि जानीराख्नुस्




१. गएको वर्ष नेपाली बीमा दलालको विषय अमेरिकामा रहेका नेपाली समुदायमा चर्चामा रह्यो । २० वर्षपछि शुन्य हुने व्यवहोराको बीमा पोलिसीलाई बोस्टनमा रहेका नेपाली बीमा दलालले दोब्बर हुने भनेर बेचिदिए, त्यो पनि कयौं नेपालीलाई ।

बोस्टन र आसपास क्षेत्रमा बस्ने १ सय ४८ नेपालीलाई पोलिसीमै नभएको झुटो आश्वासन र गलत व्याख्या गर्दै जीवन बीमाका पोलिसी बेचेका ती नेपालीको ठगि पत्ता लगाउनै तीन वर्ष लाग्यो ।

जब पत्ता लाग्यो, तबसम्म निकै ढिला भइसकेको थियो । यद्यपि अमेरिकामा भएकोले ठगिने नेपालीले न्याय पाए, ठगमाथि कारबाही भयो । यतिसम्म कि बेच्ने नेपाली भएकै नाताले पोलिसीमा के छ भन्नेसम्म नपढी उनीहरुले बीमा किनेका थिए । पछि धेरै राज्यहरुमा फैलिएपछि मात्रै यो ठगी पत्ता लागेको थियो ।

२. मध्ये अमेरिकामा रहेको कोलोराडो राज्यमा केही समय अगाडि एक नेपाली नेपालबाट डिभी परेर आएका थिए । नेपालीबस्ती निकै पालतो रहेको त्यो समयमा उनलाई स्थानीय नेवार थरका एक नेपाली व्यवसायीले सहयोग गरे । तर यस्तो सहयोग गरे कि उनलाई झण्डै वर्ष दिन बन्धक बनाएर राखे ।

बाहिर निस्किए प्रहरीले समाउँछ भन्दै डर देखाउँदै तलब नै नदिई उनलाई आफ्नै काममा लगाएका थिए । करिब वर्षदिन पछि मात्रै ती नेपाली संयोगले अर्का एक नेपालीसँगको भेटपछि त्यहाँबाट निस्कन सफल भए ।

३. अमेरिका सरकारी कार्यालयका निवेदनहरु सित्तैमा भरिन्छ । डिभी परेकाहरुको ग्रिनकार्डदेखि सामाजिक सुरक्षा कार्डको लागि तिरिने पैसामा एक सेन्ट पनि थप कसिशन दिनु पर्दैन । यो त कानूनी रुपमा आउनेहरुको हकमा भयो ।

तर यसरी सुरुमा कानूनी रुपमै अमेरिका प्रवेश गर्नेहरुबाट पनि ग्रिनकार्डको पैसा तिर्न आफ्नो बैक कार्ड प्रयोग गरिदिएवापत पनि कशिसन लिएका नेपालीहरुको चर्चा बेला बेलामा सामाजिक सञ्जालमा हुने गर्छ ।

तर अमेरिकाकै व्यस्त शहर न्यूयोर्कमा ल फर्म नामको कानूनी व्यापार गर्ने नेपालीले चलाएका व्यवसाय भने डरलाग्दो छ । गैरकानूनी रुपमा आएका र कुनै कानूनी झमेला परेर नेपाली भाषा जानेको आधारमा उनीहरुकोमा पुग्ने नेपालीलाई उनीहरुले ‘चीलले चल्ला भेटे’ जस्तो गरिदिन्छन् भन्ने व्यंग्य अहिले नेपालीमाझ गरिन्छ ।

गत वर्षङ घर भएका सुवेदी थरका एक नेपालीको ग्रिनकार्ड बनाउने नाममा न्यूयोर्कका नेपाली वकिलले २० हजार डलर झ्वाम पारिदिए । जबकि यही प्रक्रियाबाट ग्रिनकार्ड बनाएका अरु नेपालीले ६ देखि बढीमा १० हजार डलर खर्च गरेका थिए ।

नेपालबाट दलाललाई ३५ हजार डलर तिरेर हिडेका उनको थप २० हजार खर्च बढ्यो । यतिसम्म कि आफ्नो घरको ठेगाना प्रयोग गर्न दिएकै भरमा उनीसँग अरु पैसा पनि असुलियो । वर्क परमिटको निवेदन दिनका लागि अमेरिकी सरकारी कार्यालयले लिने निश्चित शुल्क बाहेक पाँच सय डलर कमिशन पनि वकिलले झ्वाम पारिदिए ।

कुनै समस्या लिएर नेपाली पुगेमा अपवाद बाहेक धेरै कानून व्यवसायीहरु बहाना बनाएर प्रत्येक निवेदनको साथमा दुई सयदेखि पाँच सय डलरसम्म पैसा अशुलिदिन्छन् । अमेरिकाको न्यूयोर्क शहर नेपाली वकिलहरुको लागि चिनिने शहर हो ।

४. न्यूयोर्क मै एक नेपाली विद्यार्थीलाई अपार्टमेन्ट सेयर (कोठा भाडामा दिनु) गरेकी एक नेपाली पहिलाले यो वा त्यो नाममा विद्यार्थीसँग ५ हजार भन्दा धेरै डलर लिईन् ।

न्यूयोर्कमा नेपालीबाटै ठगिएको भन्दै एक विद्यार्थीले सामाजिक सञ्जालमा मागेको सहयोग

पछि ती विद्यार्थीले पैसा फिर्ता माग्दा प्रहरीलाई फोन गरेर उल्टै विद्यार्थीलाई फसाईदिने काम गरिन् । ती विद्यार्थीले पैसा उठाउन साथीभाइको सहयोग माग्नुपर्ने अवस्था आयो ।

५. मेरिल्याण्डमा एक नेपाली व्यवसायीले अर्को नेपालीलाई काममा राखिन् । काम सुरु गरेको एक महिनासम्म तलब नदिई उनलाई काममा लगाईयो । अमेरिकामा हप्ता, दुई हप्ता तथा महिना दिनमा काम गरेको ज्याला दिने प्रचलन छ ।

बाल्टिमोटरमा नेपाली व्यवसायीबाट ठगिएको व्यहोराको सूचना । यो सुचना एक विद्यार्थीले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

तर महिनादिनपछि पनि उनलाई उक्त ज्याला दिनुको सट्टा उल्टै धरौटी भनेर दिईएन । र, पछि कुनै न कुनै वाहानामा कामबाट निकालियो । पछि जानकारी भयो कि उनले अरुलाई पनि एक एक महिना काममा राख्दै धरौटी भन्दै पैसा नदिँदै कामबाट निकाल्ने गरेकी रहिछन् ।

विद्यार्थी र कागजविहिन पर्छन् निशानामा
पछिल्ला उदाहरणहरु हेरेपछि धेरैलाई लाग्नसक्छ कि अमेरिका जस्तो कानूनी देशमा पनि यस्ता ठगि हुन्छ र ? तर समस्या अर्कै छ । विशेष गरेर ठगिनेहरुमा कागजपत्र नभएका र विद्यार्थीहरु धेरै छन् । जसलाई यहाँ कानूनी रुपमा काम गर्ने हैसियत हुँदैन, त्यस्ता व्यक्ति प्रहरीको र मुद्दामामिलामा जान नसक्ने देखेपछि ठगहरुको ध्यान त्यतै जान्छ ।

कतिसम्म भने एउटा सानो अपार्टमेन्ट लिएर त्यसमा ४ पाँच जनासम्म विद्यार्थी वा कागजपत्र विहीनलाई भाडामा राखेर पैसा कमाउने नेपालीहरु समेत प्रसस्त भेटिन्छन् । क्याम्पसको शुल्क तिर्न र अतिरिक्त कमाई गर्न लाग्ने विद्यार्थीहरु यसरी अरुको अपार्टमेन्टमा वस्नुपर्ने बाध्यतामा पुग्छन् ।

अमेरिकामा ग्यास स्टोर लगायतका व्यवसाय गरेका नेपालीहरुले यस्ता विद्यार्थी तथा गैरकानूनी रुपमा अमेरिका आएकाहरुलाई खोजिखोजी काममा लगाएर कम रकम दिँदै श्रम शोषण पनि गर्ने गरेका गुनासाहरु पनि भेटिन्छन् ।

अमेरिकामा सबैभन्दा धेरै डराउनुपर्ने कानूनी रुपमै कमजोर रहेका यस्ता व्यक्तिहरुबाट नेपालीहरुले सकेजति फाईदा लुट्ने गरेका छन । भाषाको कारण नेपालीहरु सहयोगको लागि नेपालीकोमै पुग्ने गरेपनि केहीले भने त्यसलाई ठगिको माध्ययम बनाएका छन् ।

अमेरिकामा अरु नागरिकलाई कानूनी दायराबाहेक एक ईन्च पनि तलमाथि भए कानूनी रुपमा ठूलो सजायको भागिदार हुनुपर्ने भएपनि नेपालीले नेपालीलाई भने डर त्रास देखाएरै यसरी ठगि गर्दै आईरहेको देखिन्छ ।

विद्यार्थी पढ्दै छन् कि सजाय भोग्दै ?
गत साता अमेरिकाको मिनिसोटा राज्यमा अध्ययनरत एक नेपाली विद्यार्थी घरायसी कामको लागि मिनिसोटाबाट सिकागो हुदै नेपाल जानेक्रममा थिईन् । उनलाई सिकागो एयरपोर्टमा यहाँको आप्रवासन तथा सीमा सुरक्षा प्रहरीले सोधपुछ गर्यो ।

सोधपुछको क्रममा उनलाई अध्ययन गर्ने खर्च कहाँबाट आउँछ भनेर सोधिएछ ।

उनले पहिला नेपालबाट पठाउँनुहुन्छ भनेर ढाँटिछिन् । तर विश्वास नगरेर प्रहरीले बैँक डिटेल हेर्दा धेरै नगदमा कारोबार गरेको र नेपालबाट पैसा आएको प्रमाण नभएको फेला पारेपपछि उनलाई फेरि अमेरिका आउन नपाउने गरी एयरपोर्टबाट डिपोर्ट गरिदियो ।

खासगरी क्याम्पसले तोकेको निश्चित समयभन्दा बढी यहाँ विद्यार्थीले काम गर्न पाउँदैनन् । विद्यार्थीले काम गर्नु र विद्यार्थीलाई काममा लगाउनु दुबै गैरकानूनी हो । तर, पढ्नको लागि नेपालबाट पैसा नपाए जसरी पनि काम गर्नुपर्ने विद्यार्थीको बाध्यता हुन्छ । यसरी विद्यार्थीले रातीमा वा अरुले छोडेको काम लुकेर गर्न थाल्छन्, जसले विद्यार्थीको भविष्यको साथै उनीहरुलाई नै जोखिममा धकेलिदिन्छ ।

सीमित विद्यार्थीले यसरी संघर्ष गरेर राम्रो गरेको देखेको भरमा ऋण खोजेर अमेरिका पुग्नको लागि मात्रै आफ्ना छोराछोरी पठाउनुभएको हो भने तपाईले छोराछोरीको भविष्य बनाउन होईन, विगार्न खोज्दै हुनुहुन्छ । किनभने अमेरिका आप्रवासीको हकमा अहिले पहिलाको भन्दा कडा भएको छ । यस्तो अवस्थामा यदि क्याम्पसको तोकिएको सबै शुल्क तिर्ने हैसियत आफ्नो छैन भने विद्यार्थीलाई अमेरिका नपठाएकै राम्रो ।


क्लिकमान्डु