मनोज ठगी प्रकरण २- नाटकीय ठगी प्रकरणमा फेरि देखियो यस्तो नाटक



पीडित मनाेज बस्नेत

काठमाडौं । बिहिबार साँझ हामीले एउटा समाचार सम्प्रेषण गरेका थियौं । समाचार ‘एउटा नाटकीय ठगी, २५ लाख चिठ्ठाको लोभले मनोजले गुमाए २ लाख ६५ हजार’ शिर्षकको थियो । सो समाचारको लिंक तपाइले यो समाचारको अन्त्यमा अहिले पनि देख्न सक्नु हुन्छ ।

त्यो समाचारमा हामीले ठगिएका मनोज बस्नेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) गएसम्मको मात्रै विवरण दिएका थियौं । मनोज सिआइबी गएपछिका घटना विवरण हामीलाई थाहा थियो । किनभने हामीले नै सिआइबी प्रमुख पुष्कर कार्कीलाई टेलिफोन सम्पर्क गरेर कार्कीले भने अनुसार मनोजलाई सिआइबी जान भनेका थियौं ।

सिआइबी प्रमुख कार्कीले पीडित बस्नेतलाई आफूलाई नै भेट्न वा सिआइबीकै डिएसपी कबित कटवाललाई भेट्न भनेका थिए । बस्नेतले डिएसपी कटवाललाई भेटेर आफ्नो सबै घटना विवरण सुनाएका थिए ।

सिआइबी जानु अगाडि नै मनोजले नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकू गएर आफू ठगिएको विवरण दिइसकेका थिए ।

‘मेरो मान्छेलाई हिजो साँझ प्रहरीले कोटेश्वरबाट पक्रेछ, कहाँ राखेको छ भन्ने पनि थाहा छैन, जसरी भएपनि त्यो मान्छे छुटाइ देउ, अहिले मलाई उताबाट बारम्बार फोन गरेर यसो भनिरहेछ सर,’ मनोज भन्छन् ।

त्यसपछिका घटना विवरण दिन हामीलाई त्यो बेला उचित लागेन । प्रहरीको अपराध अनुसन्धान महाशाखा र सिआइबीले अनुसन्धान गरेर ठगलाई बिहिबारै समात्ने हामीलाई विश्वास थियो । यो विश्वासको पछाडि खास आधार पनि थियो ।

त्यो आधार के हो भने मनोजले पैसा प्रभु रेमिट मार्फत पठाएका थिए । र, ठगले प्रभु बैंक मार्फत पैसा लिएको थियो । ठग अझै २ लाख ५० हजार रुपैयाँ पाउने आशमा थियो भने त्यो पैसा हालिदिएँ भनेर मनोजले भन्ने वित्तिकै ठग प्रभु रेमिटको कुनै नेटवर्कमा पैसा लिन जान्थ्यो नै ।

सिआइबी र प्रभु रेमिटले यही सल्लाह गरेका थिए । सिआइबीकै समन्वयमा बिहिबार साँझतिर प्रभु रेमिटले त्यही ठगको नाममा मनोजले पैसा हालेको विवरण आफ्ना सबै नेटवर्कमा सर्कुलेट गर्यो । मनोजले ठगलाई पैसा पठाएको खबर गरे । यही प्रक्रिया अपनाएर केही दिन अगाडि सिआइबीले यस्तै प्रकरणमा ठगी गर्ने एक ब्यक्तिलाई बुटबलमा समातेको पनि थियो ।

‘बुटबल केसमा हामी सफल भएका थियौं, तर यो केसमा सकिएन, ठग पैसा लिन प्रभु बैंकको कोटेश्वर शाखामा गएछ, बैंकका कर्मचारीले तपाइको पैसा आएको छैन भनेछन्, अनि ठग भागेछ,’ सिआइबीका डिएसपी कटवाल भन्छन् ।

२५ लाख रुपैयाँ चिठ्ठाको लोभ देखाएर मनोजलाई ठग्ने ब्यक्ति मनोजको सम्पर्कमा थियो । यो कुरा सिआइबीलाई पनि थाहा थियो । पैसा हालेको छ भन्ने वित्तिकै ठगका मान्छे पैसा लिन प्रभु बैंक वा प्रभु रेमिटका नेटवर्कमा गइहाल्थे । तर, पनि प्रहरी ठग समात्न सफल भइरहेको थिएन । प्रभु रेमिटका ४ हजारभन्दा बढी नेटवर्क भएको कारण यो काम सजिलो भने पक्कै थिएन ।

मनोजको इमोमा बारम्बार फोन आइरहन्थ्यो । पैसा चाँढो हाल्न भनिन्थ्यो । उनले आफूले पैसा हालेको तर बैंकले कुन कारण नदिएको हो भोलि बुझेर खबर गर्ने भनेर झुलाइरहेका थिए ।

शुक्रबार बिहान डिएसपी कटवालको सल्लाह अनुसारै मनोज फेरि सिआइबी गए । कटवालसँग भेट भयो । बिहिबार साँझको प्रयास असफल भएकोले आफूहरु बेग्लै रणनीति बनाउने भन्दै कटवालले मनोजलाई अपराध अनुसन्धान महाशाखा टेकू जान भने । शुक्रबार १२ बजेतिर मनोज टेकू पुगे ।

अपराध अनुसन्धान महाशाखाको साइबर क्राइम विरुद्धको प्रहरी सेलका डिएसपी प्रजित केसीलाईलाई मनोजले भेटे । डिएसपी केसीले मनोजलाई ३ नम्बर सेलमा पठाइदिए । त्यो सेलले उनलाई आइतबार आउनुस् भन्दै पठाइ दियो । मनोज आफ्नो निवास थानकोट गए ।

यति हुन्जेलसम्म चिठ्ठा परेको नाउमा पैसा लुट्ने समुह मनोजको सम्पर्कमा थियो । मनोज घर पुग्ने वित्तिकै उनलाई त्यही ठगले फोन गरेर अर्कै कुरा सुनाएछ ।

‘मेरो मान्छेलाई हिजो साँझ प्रहरीले कोटेश्वरबाट पक्रेछ, कहाँ राखेको छ भन्ने पनि थाहा छैन, जसरी भएपनि त्यो मान्छे छुटाइ देउ, अहिले मलाई उताबाट बारम्बार फोन गरेर यसो भनिरहेछ सर,’ मनोज भन्छन् ।

सो प्रकरणको दोषी पक्राउ परेको बारे आफूलाई कुनै जानकारी प्राप्त नभएको सिआइबीका डिएसपी कटवाल बताउँछन् । अपराध अनुसन्धान महाशाखा स्रोतले बिहिबार राती ११ बजेतिर धादिङ घर भएका भण्डारी थरका एक ब्यक्ति पक्राउ परेको अपुष्ट सुचना हामीलाई दियो । तर, ती ब्यक्ति मनोज ठगी प्रकरणमा संलग्न हुन वा होइनन् भन्ने कुनै यकिन भएको छैन ।

यो ठगी प्रकरणमा संलग्नहरुलाई नेपाल प्रहरीले ढिलो चाढो पक्राउ गर्छ भन्नेमा हामीलाई विश्वास छ । प्रहरीले धेरै खुन्खार अपराधीहरुलाई कठिन अनुसन्धान गरेर समातेका उदाहरण धेरै छन् ।

तपाइलाई कसैले यस्तै प्रलोभन देखाउँदै कुनै सन्देश पठायो वा फोन गर्यो भने प्रलोभनका पछि नलाग्नुस्, तत्काल प्रहरीलाई खबर गर्नुस् । किनभने ती प्रलोभन देखाउनेहरु यस्तै ठग हुन सक्छन् ।

यो समाचार यहाँसम्म पढिसकेपछि तपाइ एक चोटी ती पीडित मनोज बस्नेतलाई सम्झनुस् । अपरिचित ब्यक्तिले कुनै परिचय नखुल्ने अर्थात सामाजिक संजाल इमोबाट फोन गरेको भरमा चिठ्ठा परेको पत्याउने र कुनै सोच विचार बिनै २ लाख ६५ हजार ५५० रुपैयाँ ४ घण्टामै स्वाहा पार्ने ब्यक्तिलाई के भन्ने ?

मनोजले ठूलो रकम लगानी गरेर यो हैरानी प्राप्त गरेका छन् । ‘नदुखेको कपाल, डोरी लाएर दुखाउनु’ भन्ने नेपालीमा एउटा उखान छ । आजको दुनियामा १५ देखि १८ घण्टा खटेर काम गर्दा त आफ्नो आधारभूत आवश्यकता पूरा गर्ने जति पैसा कमाउन सकिदैन भने कसैले सजिलै तपाइलाई पैसा दिदैन । त्यसैले तपाइ पनि चिठ्ठा, बरदान वा भविष्यबाणीको पछि लागेर सम्पत्ति पनि स्वाहा पार्ने र मनोजको जस्तै हैरानी प्राप्त गर्ने बाटोमा नलाग्नुस् ।

तपाइलाई कसैले यस्तै प्रलोभन देखाउँदै कुनै सन्देश पठायो वा फोन गर्यो भने प्रलोभनका पछि नलाग्नुस्, तत्काल प्रहरीलाई खबर गर्नुस् । किनभने ती प्रलोभन देखाउनेहरु यस्तै ठग हुन सक्छन् ।


क्लिकमान्डु