एउटा नाटकीय ठगी, २५ लाख चिठ्ठाको लोभले मनोजले गुमाए २ लाख ६५ हजार



पीडित मनोज

काठमाडौं । बिहिबार साढे १ बजेतिर प्रभु रेमिटान्सको केन्द्रीय कार्यालय कमलादीमा ३० बर्षको जस्तो देखिने एक युवा काउन्टरका कर्मचारीसँग केही गुनासो गर्दै थिए ।

उनको गुनासो सुनेपछि काउन्टरका कर्मचारी मुखामुख गर्न थाले । गुनासो सुनाउँदै गरेको युवकको अनुहार र हाउभाउ देखेर दुःखी जस्तै देखिएका कर्मचारीको अनुहारमा मौका पाएदेखि हास्छौं भन्ने भाव झल्कन्थ्यो ।

गुनासोकर्ताको गुनासो काउन्टरमा बस्ने कर्मचारीले सुन्ने बाहेक कुनै विकल्प सुझाउन सकेनन् । उनीहरुले म्यानेजरलाई भेटेर आफ्नो गुनासो राख्न सुझाए । र, ती युवक प्रभु रेमिटको पहिलो तल्लामा गए ।

ती युवक माथिल्लो तलतिर लागेपछि हामीले सोध्यौं ‘के भएको रहेछ उनलाई ?’

‘खै कसैले पैसा खाइदियो रे,’ काउन्टरका कर्मचारीले हामीलाई यति भने ।

त्यसपछि हामी उनलाई पर्खन लाग्यौं ।

केही समयपछि उनी तल झरे ।

‘के भएको हो, हामीलाई भन्न मिल्छ ? हामी मिडियामा काम गर्छाैं, तपाइलाई केही सहयोग पनि हुन सक्छ,’ हामीले उनलाई यति भन्यौं । त्यसपछि उनी हामीसँग कुरा गर्न तयार भए । उनी थानकोट निवासी मनोज बस्नेत रहेछन् ।

भएछ के भने गत मंगलबार साँझ उनकी श्रीमतीको मोबाइलमा रहेको सामाजिक संजाल इमोमा फोन आएछ । नचिनेको मान्छेले फोन गरेको देखेर उनले फोन उठाउन चाहेनछन् । तर, श्रीमतीले ‘कसले गरेको रहेछ, उठाउनु न’ भनेर कर गरेपछि फोन रिसिभ गरेछन् ।

‘मेरो खाता इन्भेष्टमेन्ट बैंकमा मात्रै छ सर, मैले चेकबुक लिएको थिइनँ, २५ लाख रुपैयाँ एटिएमबाट निस्कदैन, यसैले चेक काटेर निकाल्न मिल्छ भनेर आमाको बैंक खाता नम्बर र नागरिकता पठाएँ,’ उनले भने ।

‘उताबाट सिधै बधाई छ, तपाइले २५ लाख रुपैयाँ जित्नु भएको छ, भनेर कसैले हिन्दीमा बोल्यो,’ उनले सुनाए । फोन गर्ने ब्यक्तिले मनोजसँग बैंक खाता नम्बर पनि माग्यो । उनले आमाको नाममा नेपाल बैंकमा भएको खाता नम्बर र नागरिकताको फोटोकपि पनि इमोमै पठाए ।

‘मेरो खाता इन्भेष्टमेन्ट बैंकमा मात्रै छ सर, मैले चेकबुक लिएको थिइनँ, २५ लाख रुपैयाँ एटिएमबाट निस्कदैन, यसैले चेक काटेर निकाल्न मिल्छ भनेर आमाको बैंक खाता नम्बर र नागरिकता पठाएँ,’ उनले भने ।

‘तिमी के काम गर्छाैं भनेर पनि सोध्यो, मैले केही काम छैन भने, उसले खुदाको कृपाले तिमीले २५ लाख रुपैयाँ जितिसकेका छौ, यो पैसा लिने उपाय बारे सोच भन्यो,’ मनोज कहानी सुनाउदै गए ।

फोन गर्ने ब्यक्तिले बुधबार बिहान ८ बजे फेरि उसलाई इमोमै फोन गर्न भनेछ । उनले गरेछन् पनि । र, उसले त्यो बेला २५ लाख रुपैयाँ लिनको लागि प्रतिलाख १ हजार रुपैयाँका दरले सरकारलाई कर तिर्नुपर्ने भन्दै २५ हजार रुपैयाँ पठाइ दिन भनेछ ।

रौतहट स्थायी घर भएका र काठमाडौंमा बेरोजगार बसिरहेका युवालाई २५ लाख रुपैयाँ चिठ्ठा परेकोले निकै लोभ्याएछ । फोन गर्ने मान्छेले भने अनुसार उनले राजेन्द्रबहादुर कठायतले पाउने गरी बुधबार बिहान १० बजेर ३७ मिनेट जादा अर्थात बैंक खुल्ने वित्तिकै उसले मागेको २५ हजार रुपैयाँ र पैसा पठाउन लाग्ने १ सय रुपैयाँ शुल्कसहित २५ हजार १ सय रुपैयाँ प्रभु रेमिटान्स मार्फत मनोजले पठाएछन् ।

‘मैले पैसा पठाएपछि त्यसको भौचरको फोटो खिचेर इमो मार्फत पठाएँ,’ मनोजले भने ।

२५ लाख रुपैयाँ हात पार्न भन्दै मनोजले ४ घण्टामा २ लाख ६५ हजार ५५० रुपैयाँ स्वाहा पारिसकेका थिए ।

मनोजले पठाएको २५ हजार रुपैयाँ काठमाडौंकै गोंगबुबाट कसैले पैसा लियो । र, उनलाई फेरि इमोमै फोन गरेर थप ६५ हजार रुपैयाँ पठाउन भनियो ।

‘२५ हजार बाहेक केही दिनु पर्दैन भन्नुभएको थियो, थप ६५ हजार रुपैयाँ किन चाहियो भनेर मैले प्रश्न गरें,’ मनोज भन्छन् ।

‘तिमीलाई दिनुपर्ने २५ लाख रुपैयाँको चेकमा ४ जना अधिकृतले प्रमाणित गर्नुपर्छ, त्यसको लागि केही खर्च गर्नुपर्ने भयो, तिमीले ६५ हजार रुपैयाँ नपठाइ चेकमा हस्ताक्षर नहुने भयो, चाँढो गर भनेर मलाई भनियो,’ मनोज सुनाउँदै गए ।

उनलाई आफ्नो पैसा गइरहेको थाहा थिएन । उनी २५ लाख रुपैयाँ आउने मात्रै देखिरहेका थिए । त्यसैकारण मनोजले फेरि सोही दिन दिउसो १ बजेर ३७ मिनेट जादा राजेन्द्र बहादुर कठायतले नै पाउने गरी प्रभु रेमिटबाटै ६५ हजार रुपैयाँ पठाए । त्यसको लागि लाग्ने शुल्क २ सय रुपैयाँ पनि तिरे ।

कुरा यतिमा सिमित रहेन । चिठ्ठा परेको खबर गर्ने ब्यक्तिले मनोजलाई फेरि इमोमै फोन गर्यो । र, उसले ‘यो २५ लाख रुपैयाँको स्रोत तिमीले खुलाउन सक्दैनौं, सम्पत्ती शुद्धीकरणको अभियोग तिमीलाई लाग्छ, त्यसको ब्यवस्था पनि हामी मिलाइ दिन्छौं, त्यसको लागि तिमीले थप १ लाख ७५ हजार रुपैयाँ तिर्नुपर्छ,’ भनेछ ।

२५ लाख रुपैयाँ पाउने सपनामा कुदिरहेका मनोजले त्यो पैसा पनि पठाए । पैसा पाउने ब्यक्ति उही राजेन्द्र बहादुर कठायत नै थियो । मनोजले बुधबार दिउसो २ बजेर ४९ मिनेट जाँदा प्रभु रेमिट मार्फत नै १ लाख ७५ हजार रुपैयाँ उसलाई पठाए भने सो पैसा पठाउन लाग्ने शुल्क २५० रुपैयाँ पनि तिरे ।

२५ लाख रुपैयाँ हात पार्न भन्दै मनोजले ४ घण्टामा २ लाख ६५ हजार ५५० रुपैयाँ स्वाहा पारिसकेका थिए ।

पैसा दिन्छु भन्नेले पैसा दिइरहेको थिएन । उनी आमाको बैंक खातामा पैसा जम्मा भएको खबर सुन्न आतुर थिए । तर, पैसा दिनेले फेरि भन्यो ‘तिमीले पठाएको पैसाले १२ लाख रुपैयाँ मात्रै पाइने भयो, थप १३ लाख रुपैयाँ लिन २ लाख ५० हजार रुपैयाँ पठाउनु पर्ने भयो ।’

उनलाई बुधबार ४ बजेतिर फोन गरेर थप २ लाख ५० हजार रुपैयाँ मागिएको थियो । अब उनको मनमा चिसो पस्न लागिसकेको थियो । त्यसैले उनले बैंक बन्द भएको बहाना बनाए ।

उनले फोन गर्ने ब्यक्तिलाई बैंक बन्द भइसकेकोले भोलि अर्थात बिहिबार पैसा पठाइदिने भनेछन् । रात रह्यो, अग्राख पलायो भन्ने सन्दर्भ अब चिठ्ठाको आश देखाउनेको लागि भयो । तर, यतिबेलासम्म मनोज लुटिइसकेका थिए ।

बिहिबार बैंक खुल्ने बित्तिकै उनी प्रभु बैंकको केन्द्रीय कार्यालय पुगे । बैंकले उनलाई प्रभु रेमिटको केन्द्रीय कार्यालयमा जान भनेछ, जहाँ हामी उनलाई भेटेर यो सबै घटना विवरण सुन्दै थियौं । यति विवरण सुनेपछि हामीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) सँग सम्पर्क गरेर मनोजलाई सिआइबी पठायौं ।


क्लिकमान्डु