सेयर लगानीकर्ता झुक्याउन इपिएसबारे गलत तथ्यांक दिँदै कम्पनीहरु



काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (इपिएस) २३ रुपैयाँ ९८ पैसा भएको गलत विवरण प्रकाशित गर्यो ।

लक्ष्मी बैंकले पनि सोमबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा इपिएस २३ रुपैयाँ ४३ पैसा भएको देखायो ।

सेयर लगानीकर्तालाई कम्पनीले कति प्रतिफल दिन सक्छन् त्यो हेर्नको लागि इपिएस महत्वपूर्ण सूचक हो । सेयर बजारमा लगानी गर्दा बढी इपिएस भएको संस्थाको सेयर खरिद गर्दा बढी प्रतिफल पाइने हुन्छ ।

कुनै पनि कम्पनीको आधारभुत बिश्लेषण गर्नका लागि प्रतिसेयर आम्दानी निकै महत्वपूर्ण सूचक हो । प्रतिसेयर आम्दानीमा हुने बृद्धिले कम्पनीले आफ्ना सेयरधनीहरुका लागि कति राम्रो वा नराम्रो कमाइ गरिरहेको छ भन्ने कुरा को जानकारी दिन्छ ।

यसले नाफामा भएको बृद्धि मात्र नभई नयाँ जारी भएको सेयर र कम्पनीले कमाएको नाफा बिचको सन्तुलनको बारेमा पनि जानकारी दिन्छ । साथै चालु आर्थिक बर्षमा कम्पनीले दिने लाभांसको आँकलन गर्न पनि प्रतिसेयर आम्दानी प्रमुख सूचक हो ।

नेपालमा सूचिकृत कम्पनीले गतवर्ष इपिएस गणनालाई गलत सुत्र प्रयोग गरेर लगानीकर्तालाई झुक्याउने गरेका थिए । यस्तै काम यो वर्ष वित्तीय विवरण प्रकाशित गरेका माछापुच्छ्रे र लक्ष्मी बैंकले गरेका छन् ।

माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बैंकले असार मसान्तसम्ममा १ अर्ब ३० करोड कमाएको छ । यस आधारमा बैंकको इपिएस १९ रुपैयाँ ७२ पैसा हुन्थ्यो ।

यस्तै लक्ष्मी बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ छ । बैंकले १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको इपिएस यस आधारमा बैंकको इपिएस १३ रुपैयाँ ३८ पैसा हुनुपर्ने हो ।

अर्बको नाफा गर्ने बैंकहरुले अहिले निकाल्ने विवरण अपस्किृत वित्तीय विवरण हो । अर्थात् यो विवरण पूर्ण रुपमा लेखापरिक्षण भएको छैन । सेयर बजारमा सूचिकरण भएका कम्पनीहरुले यस्तो विवरण निकाल्दा विभिन्न खालका बद्मासी हरु गर्ने गरेका थिए ।

यो पटक माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकका आन्तरिक लेखा परिक्षकले थपिएको चुक्ता पुँजी नजोडी इपिएस निकालेका छन् । धितोबोर्डको नियम अनुसार सूचिकृत कम्पनीले गलत सूचना दिन नहुँने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डका निर्देशक निरज गिरी सूचिकृत कम्पनीले गलत सूचना लगानीकर्तालाई दिन नहुने बताउँछन् ।

कसरी निकाल्ने इपिएस ?

इपिएसले कम्पनीले आम्दानीको अवस्थालाई जनाउने हुँदा सेयर लगानी गर्नको लागि यो सूचक महत्वपूर्ण हुन्छ । इपिएस निकाल्नको लागि निकै सजिलो तरिका छ ।

कुनैपनि कम्पनीले कमाएको खुद नाफालाई त्यसको चुक्ता पुँजीले भाग गर्दा आउने नम्बरलाई सयले गुणा गरेपछि आउने प्रतिफल इपिएस हो । यसका अन्य सुत्र भएपछि सामान्य रुपमा इपिएस यही सुत्रबाट निकाल्ने हो ।

वाणिज्य बैंकमा नबिल बैंकको इपिएस सबैभन्दा बढी छ । नबिलले प्रकाशित गरेको वित्तीय विवरणमा इपिएस ५९ रुपैयाँ ६ पैसा भएको देखाएको छ । बैंकले गत वर्ष ३ अर्ब ६५ करोड २९ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको असार मसान्तसम्ममा चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख ७ हजार छ । माथि भने अनुसार हामीले नबिलको इपिएस निकाल्ने हो भने ५९ रुपैयाँ ६ पैसा इपिएस आउँछ । अर्थात नबिलले इपिएसको सहि विवरण ब्यालेन्ससिटमा दिएको छ ।


पुष्प दुलाल