सेयर बजारमा कारोबार बढ्दा नेप्से यसरी बन्दैछ अर्बपति




काठमाडौं । आर्थिक वर्ष २०६६/६७ मा नेपाल स्टक एक्सचेन्जमा ११ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सो वर्ष नेप्सेले कमिसनबाट वापत ५ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो भने ब्याज आम्दानीको कारण ५ करोड ५९ लाख रुपैयाँ गरेको थियो ।

पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने नेप्सेको नाफा कारोबार रकममा बढेको बृद्धिसँगै अत्याधिक बढेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७३/७४ मा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा २ खर्ब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।

सेयर कारोबार बढ्दै जादा नेप्सको आम्दानी ह्वातै बढेको देखिन्छ । गत आर्थिक वर्षमा नेप्सेले ५२ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखेको थियो । तर, नेप्सेको नाफा यो भन्दा बढी हुने देखिन्छ ।

अर्थमन्त्रालयका अनुसार गतवर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा नेप्से १२ नम्बरमा छ । नेप्सेले १ अर्ब ३१ करोड रुपैयाँ आयकर तिरेको देखिन्छ ।

नेप्सेले गर्ने मुख्य आम्दानी भनेको कमिसन र नेप्सेसँग भएको रकमबाट आउने ब्याज आम्दानी हो । गत आर्थिक वर्षमा नेप्सेले ब्याज आम्दानी जोड्दा ६० देखि ७० करोड रुपैयाँ खुद मुनाफा कमाउने देखिन्छ ।

८ वर्ष अगाडिको तुलनामा नेप्सेले १३ गुणाले नाफा कमाएको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आर्थिक वर्षमा नेप्सेमा ४० अर्ब रुपैयाँले सेयर कारोबार बढी भएको छ ।

आर्थिक वर्ष २०७२/७३ सालमा नेप्सेले ४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो वर्ष नेप्सेमा १ खर्ब ६३ अर्ब रुपैयाँको कारोबार भएको थियो । जसमा नेप्सेले कमिसनबाट मात्र ६६ करोड १७ लाख रुपैयाँ कमाएको थियो ।

आर्थिक वर्ष २०६९/७० मा नेप्सेमा जम्मा २२ अर्ब रुपैयाँको कारोबार थियो । सो वर्ष नेप्सेले १३ करोड ६४ लाख रुपैयाँ कमिसनबाट आर्जन गर्दा ९ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा सेयर कारोबारको रकम ह्वातै बढेपछि नेप्सेको आम्दानीपनि बढ्यो । २०७०/७१ मा ७७ अर्ब ३० करोडको सेयर कारोबार हुँदा नेप्सेले २३ करोड ७४ लाख रुपैयाँ नाफा कमाउन सफल भयो ।

आर्थिक वर्ष २०७१/७२ मा सेयर कारोबार घट्दा नेप्सेको पनि नाफा घटेको छ । आर्थिक वर्ष २०७१/७२ मा ६५ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने नेप्सेको नाफा २१ करोड रुपैयाँमा झरेको थियो ।

नेप्सेले गर्ने मुख्य आम्दानी सेयर कारोबारमा हुने कमिसन हो । अहिले सेयर कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.६ प्रतिशत, ५० हजारदेखि २० लाख रुपैयाँसम्म ०.५५ प्रतिशत बोक्रर कमिसन तिर्नुपर्छ । २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत बोक्रर कमिसन तिनुपर्छ ।

नेप्सेले ब्रोक्रर कमिसनमा लाग्ने कुल रकमको २० प्रतिशत कमिसन लिने गर्छ । अर्थात ५० हजार रुपैयाँको सेयर कारोबार भएमा ब्रोक्ररले ३०० रुपैयाँ कमिसनमार्फत् पाउने गर्छ । जसमा ३०० रुपैयाँको २५ प्रतिशत रकम अर्थात ७५ रुपैयाँ नेप्सेले लैजाने गर्छ ।

नेप्से बन्यो अर्बपति करदाता

कारोबारमा भएको बृद्धिसँगै नेपाल स्टक एक्सचेन्ज(नेप्से) सरकारलाई राजस्व तिर्ने ठूला करदातामा माथिल्लो नम्बरमा आएको छ ।

अर्थमन्त्रालयका अनुसार गतवर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा नेप्से १२ नम्बरमा छ । नेप्सेले १ अर्ब ३१ करोड रुपैयाँ आयकर तिरेको देखिन्छ ।

लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर एकमुस्ट नेप्सेले बुझाउने हुँदा नेप्सेले बढी कर बुझाएको देखिएको हो । गतवर्ष लगानीकर्ताले सरकारलाई १ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको देखिन्छ ।


पुष्प दुलाल