ब्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न झन् कठिन, अन्य ब्यवस्था पहिलाको जस्तै




काठमाडौं । व्यक्तिगत रुपमा घरजग्गाको व्यवसाय गर्दै आउनु भएको छ भने राम्रो खबर छैन । अब व्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न कठिन हुने भएको छ ।

घरजग्गा व्यवसायमा ठूलो मात्रामा पुँजीगत लाभकर छली भएको शंकामा आन्तरिक राजस्व विभागले पुँजीगत लाभकर असुलीमा कडाई गर्ने नीति लिएपछि ब्यक्तिगत रुपमा यस्तो कारोबारमा संलग्नलाई झन कठिन भएको देखिएको हो ।

विभागले साउन ११ गते मातहतका कर कार्यालयहरुलाई पत्र पठाउँदै व्यक्तिगत तहबाट हुने व्यवसायिक घरजग्गा कारोबारमा पुँजीगत लाभकर असुलीलाई कडाई गर्ने ब्यवस्था गरिएको देखिएको छ ।

अहिलेसम्म व्यक्तिले जग्गा खरिद गरेर पुन त्यसको विक्री गर्दा बनाइएका पूर्वाधारको लागि लागेको खर्च कटौति गर्न पाउने ब्यवस्था थियो ।

विभागले नयाँ ब्यवस्था गर्दै अबदेखि यस्तो खर्च कटाैति गर्न कठिन हुने ब्यवस्था गरेको छ ।

‘पुँजीगत लाभमा अग्रिम कर गणना गर्ने प्रयोजनको लागि जग्गा खर्च दाबी गर्न नदिने र भवन निर्माणको लागतको हकमा सम्बन्धित स्थानीय तहबाट सो भवन निर्माण सम्पन्न भएको मितिको मुल्यांकन हुने लागत मात्र पुँजीगत लाभ र करको गणना गर्नुपर्ने छ’, विभागको निर्देशनमा भनिएको छ ।

नयाँ ब्यवस्था अनुसार जग्गा विकास गर्दा खर्च भएमा त्यस वापतको रकम लिनको लागि व्यक्तिलाई एक वर्ष लाग्ने छ ।

‘जग्गा विकास गर्दा लागेको खर्चको विवरणको प्रमाण सहित पेश गरेपछि मात्र यसको रकम फिर्ता पाइने छ’ आन्तरिक राजस्व विभागका निर्देशक नरनाथ गिरीले क्लिकमाण्डूसँग भने, ‘उसले पैसा फिर्ता पाउने वा नपाउने भन्ने निर्णय कर अधिकृतले गर्नेछ ।’

आन्तरिक राजस्व विभागको निर्णयले व्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गरिएका व्यवसायीलाई असहज बनाइदिएको छ । खासगरी जग्गा लिने र त्यसमा केही प्लटिङ गरेर महंगोमा बिक्री गर्ने व्यवसाय अहिले अत्याधिक फस्टाएको छ ।

यस्तै जग्गा खरिद गर्ने र त्यसमा घर निर्माण गर्ने व्यवसायमा पनि अत्याधिक फस्टाएको छ । यसको लागि विभागले घर निर्माण गरेको मुल्यांकनको विवरण स्थानीय तहले प्रमाणि गर्नुपर्नेछ । बिक्री भएका घर निर्माणको मुल्य घटाएर आउने लाभमा कर तिनुपर्छ ।

व्यक्तिगत तर्फ घरजग्गा कारोबारमा ५ वर्षभन्दा अगाडि खरिद भएर बिक्री हुनेघरजग्गामा लाभको साढे २ प्रतिशत र ५ वर्षभित्र खरिद बिक्री भएमा घरजग्गा खरिदबिक्रीमा लाभको ५ प्रतिशत लाभकर तिर्नुपर्न नयाँ व्यवस्थामा छ ।

व्यवस्थित रुपमा कम्पनी खोलेर जग्गा प्लटिङ गर्ने व्यवसायीको हकमा भने विकास खर्च दाबी गर्न पाउने अवस्था छ ।

‘अहिले व्यवस्थित कम्पनीबाट नभएर व्यक्तिगत रुपमा फस्टाएको घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको शंका छ’, विभागका एक अधिकारीले भने, ‘यसलाई नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको हो ।’

सरकारले गत आर्थिक वर्ष २०७३÷७४ वर्ष घरजग्गाको कारोबारबाट २७ अर्ब राजस्व वापत उठाएको थियो । घरजग्गा कारोबारबाट पुँजीगत लाभकर ४ अर्ब ५७ करोड रुपैयाँ उठाएको थियो । अघिल्लो वर्ष पुँजीगत लाभकरबाट २ अर्ब ७ करोड रुपैयाँ उठाएको थियो ।

आन्तरिक राजस्व विभागले १ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारमा बिक्रीकर्ता र खरिदकर्र्तालाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।

घरजग्गाको मुल्यांकलन भने २०५८ सालभन्दा अगाडि किनेर नामसारी नभएको हकमा २०५८ साल चैतको मुल्यलाई मान्नुपर्ने उल्लेख व्यवस्था विभागले गरेको छ ।

विभागका अनुसार तीन पुस्ताभित्र हुने अंशबन्डामा भने कुनै लाभकर लाग्दैन । अंशबन्डाको लाभकरमा नयाँ व्यवस्था नगरिएको र थप कर वा राजस्व नलाग्ने विभागका निर्देशक गिरीले जानकारी दिए ।


क्लिकमान्डु