राष्ट्र बैंकले तोक्यो बैंक संचालकको योग्यता, १२ मध्ये कुनै एक बिषयमा मास्टर्स गर्नुपर्ने



काठमाडौं । बाणिज्य बैंकहरुको संचालक बन्न विभिन्न १२ बिषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह पास (मास्टर्स) गरेको गरेको हुनुपर्ने भएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संचालक बन्न योग्यता तोक्दै यस्तो ब्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र संचालक र कार्यकारी प्रमुखको योग्यता तोकेको हो ।

बाफियाको दफा १६ को (ग) मा बाणिज्य बैंकहरुको योग्यता तोकिए बमोजिम हुने भन्ने ब्यवस्था छ । सोही ब्यवस्थामा टेकेर राष्ट्र बैंकले योग्यता तोकेको हो ।

यस्तै सोही ऐनको दफा १७ को (ग) मा लघुवित्त संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिमको योग्यता तथा प्राप्त ब्यक्ति स्वतन्त्र संचालक बन्न पाउने ब्यवस्था छ । सो ब्यवस्था अनुसार स्वतन्त्र संचालकको पनि योग्यता तोकिएको हो ।

नयाँ ब्यवस्था अनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालकको पदमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको ब्यक्ति हुनु पर्नेछ ।

यो योग्यता नभएपनि  स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको योग्यता र कार्यअनुभव भएको ब्यक्तिपनि संचालक बन्न पाउनेछ ।

यो योग्यता तथा कार्यअनुभव नभएपनि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको पनि बैंक तथा वित्तीय संस्थाको संचालक बन्न सक्ने राष्ट्र बैंकले निर्णय गरेको छ ।

यस्तै लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा तीन बर्ष काम गरेको ब्यक्ति हुनुपर्नेछ ।

यो योग्यता तथा कार्यअनुभव नभए पनि दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा माध्यमिक तह (कक्षा १२ सम्म) उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा दुई बर्ष काम गरेको ब्यक्ति पनि लघुवित्त वित्तीय संस्थाको संचालक बन्न पाउने भएका छन् ।

यस्तो योग्यता तथा कार्य अनुभव नभएपनि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरेको पनि लघुवित्त वित्तीय संस्थाको संचालक बन्न पाउने बाटो राष्ट्र बैंकले खुलाएको छ ।

राष्ट्र बैंके बैंक तथा वित्तीय संस्थाहरुको स्वतन्त्र सञ्चालकको योग्यता तथा कार्य अनुभव पनि तोकेको छ । नयाँ ब्यवस्था अनुसार  बैंक वा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकको पदमा नियुक्त हुनको लागि वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरी कुनै विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति हुनुपर्ने छ ।

राष्ट्रियस्तरको विकास बैंक बाहेकका अन्य विकास बैंक एवं वित्त कम्पनीको हकमा  व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा द्वितीय श्रेणीको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्तिलाई संचालकमा नियुक्त गर्न सकिने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत वा सो भन्दा माथिको पदमा कम्तीमा दुई बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति स्वतन्त्र संचालक बन्न पाउने भएका छन् ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको पनि योग्यता तथा कार्य अनुभव तोकेको छ । नयाँ ब्यवस्था अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्नको लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।

यो योग्यता तथा कार्य अनुभव नभएपनि चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश बर्षको कार्य अनुभव हासिल गरेको बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कार्यकारी प्रमुख बन्न पाउने भएका छन् ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुखको योग्यता तथा कार्य अनुभव पनि तोकेको छ । नयाँ ब्यवस्था अनुसार   चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्न पाउने भएका छन् ।

बैंक संचालक र कार्यकारी प्रमुखको योग्यता तोक्ने निर्णय यसअघिको बैंक संचालक समितिले गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।


क्लिकमान्डु