२० कम्पनीले बुझाए अर्बभन्दा बढी राजस्व, को-को परे अर्बपति करदाता क्लबमा ?




काठमाडौं । गत आर्थिक बर्षमा अर्बपति करदाता क्लबमा २० कम्पनी परेका छन् । यो क्लबका आधा सदस्य अर्थात १० कम्पनी बाणिज्य बैंकहरु छन् ।

कम्पनीहरुले गत आर्थिक बर्षमा तिरेको आयकर, घरबहाल कर, ब्याजकर, मूल्यअभिबृद्धि कर, अन्तशुल्क, स्वास्थ सेवा कर, शिक्षा कर तथा अन्य कर गरी राज्यलाई बुझाएका सबै प्रकारका करको योगका आधारमा २० कम्पनी अर्बपति करदाता क्लबमा सदस्य बनेका देखिएका हुन् ।

गत आर्थिक बर्षमा अर्बपति २० करदाताबाट मात्रै ८१ अर्ब ६८ करोड १२ लाख ८२ हजार रुपैयाँ कर संकलन भएको छ ।

आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारी अनुसार अर्बपति करदातामध्येमा सबैभन्दा अगाडि टेलिकम सेवा प्रदायक कम्पनी एनसेल परेको छ ।

एनसेलले ३० अर्ब १५ करोड ८२ लाख ९२ हजार रुपैयाँभन्दा बढी कर तिरेको छ । यसमध्ये १३ अर्ब ६० करोड रुपैयाँ एनसेलको स्वामित्व परिवर्तन हुँदा तिर्नुपर्ने बक्यौता लाभकर हो ।

यो रकम घटाउँदा पनि गत आर्थिक बर्षमा सबैभन्दा धेरै कर बुझाउने कम्पनीहरुमा एनसेल नै पहिलो स्थानमा छ । अर्थात १३ अर्ब ६० करोड रुपैयाँ लाभकर घटाउँदा पनि एनसेलले गत आर्थिक बर्षमा सरकारलाई १६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ ।

दोस्रो स्थानमा पनि टेलिकम सेवा प्रदायक कम्पनी नै परेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा राज्यलाई १३ अर्ब ७२ करोड ९२ लाख ६५ हजार रुपैयाँ कर तिरेको छ । पहिलो र दोस्रो नम्बरमा रहेका करदाताको अन्तर करिब ३ अर्ब रुपैयाँको छ ।

तेस्रो स्थानमा रहेको ठूलो करदाता र दोस्रो स्थानमा रहेको करतादाबीचको अन्तर भने निकै ठूलो छ । दोस्रो स्थानमा रहेको टेलिकमले १३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको भएपनि तेस्रो स्थानमा रहेको सूर्य नेपाल प्रालिले त्यसको झण्डै आधा अर्थात ७ अर्ब १८ करोड २७ लाख ८४ हजार रुपैयाँ कर तिरेको छ ।

गत आर्थिक बर्षमा धेरै कर तिर्ने करदाताको चौथो स्थानमा नेपाल आयाल निगम छ । निगमले ५ अर्ब ६९ करोड ५२ लाख ८७ हजार रुपैयाँ कर तिरेको छ ।

यस्तै गोर्खा ब्रुअरी प्रालिले ४ अर्ब १९ करोड ७९ लाख ९३ हजार रुपैयाँ कर तिरेको छ । बाणिज्य बैंकतर्फ सबैभन्दा धेरै कर तिरेको नबिल बैंकले २ अर्ब २१ करोड ४७ लाख ९४ हजार रुपैयाँ कर तिरेको छ ।

अर्काे बाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक भने धेरै कर तिर्ने बाणिज्य बैंकहरुमा दोस्रो स्थानमा छ । इन्भेष्टमेन्ट बैंकले २ अर्ब ३ करोड ४७ लाख २० हजार रुपैयाँ कर तिरेको छ ।

अर्काे बाणिज्य बैंक कृषि विकास बैंकले भने १ अर्ब ६४ करोड ७३ लाख ५१ हजार रुपैयाँ कर तिरेको छ । धेरै कर तिर्ने सुचीको ९औं स्थानमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले १ अर्ब ४२ करोड ५५ लाख १८ हजार रुपैयाँ कर तिरेको छ ।

नेपाल बैंकले भने १ अर्ब ३९ करोड ४६ लाख ५० हजार रुपैयाँ कर तिरेको छ । अर्काे अर्बपति करदाता हिमालयन बैंकले १ अर्ब ३८ करोड ३० लाख ५८ हजार रुपैयाँ कर तिरेको छ ।

सेयर कारोबार गराउने संस्था नेपाल धितोपत्र विनिमय बजार लि. (नेप्से) देशको गत आर्थिक बर्षको १२ औं ठूलो करदाता हो । नेप्सेले गत आर्थिक बर्षमा १ अर्ब ३१ करोड ४० लाख २ हजार रुपैयाँ कर राज्यलाई तिरेको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक बर्षमा राज्यलाई १ अर्ब २९ करोड १३ लाख ६२ हजार रुपैयाँ कर तिरेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब २५ करोड ६७ लाख २८ हजार रुपैयाँ कर तिरेको छ ।

राज्यलाई सबैभन्दा धेरै कर तिर्ने करदाताको सुचीको १५औं स्थानमा ग्लोबल आइएमइ बैंक छ । सो बैंकले गत आर्थिक बर्षमा १ अर्ब २५ करोड ३७ लाख ६७ हजार रुपैयाँ कर तिरेको छ ।

गत आर्थिक बर्षमा राज्यलाई सबैभन्दा बढी कर तिर्ने करदाताको १६ औं स्थानमा गाडी विक्री गर्ने करदाता अग्नी इन्कर्पोरेट प्रालि परेको छ । विभाग स्रोतले दिएको जानकारी अनुसार सो प्रालिले गत आर्थिक बर्षमा १ अर्ब २० करोड ५४ लाख ४० हजार रुपैयाँ कर तिरेको छ ।

यस्तै नेपाल एसविआइ बैंकले गत आर्थिक बर्षमा १ अर्ब १० करोड ३ लाख ४४ हजार रुपैयाँ कर तिरेको छ । अर्काे बाणिज्य बैंक एनआइसी एशिया बैंकले १ अर्ब ८ करोड १७ लाख १ हजार रुपैयाँ कर तिरेको छ ।

गत आर्थिक बर्षमा सबैभन्दा धेरै कर तिर्ने करदाताको १९औं स्थानमा जगदम्बा स्टिल्स प्रालि छ । सो प्रालिले गत आर्थिक बर्षमा १ अर्ब ६ करोड ९० लाख ७३ हजार रुपैयाँ कर तिरेको छ ।

अर्बभन्दा बढी कर तिर्ने २० करदाताको अन्तिम सुचीमा एभरेष्ट बैंक छ । एभरेष्टले गत आर्थिक बर्षमा १ अर्ब ४ करोड ५१ लाख ४५ हजार रुपैयाँ कर तिरेको छ ।


क्लिकमान्डु