ललितपुरमा ग्याँस उत्पादनको परीक्षण सफल



imadol_gas

काठमाडौं । ललितपुरको इमाडोलमा प्राकृतिक (मिथेन) ग्याँस उत्पादनको परीक्षण सफल भएको छ ।

खानी तथा भूू-गर्भ विभागले तीन दशक अघि देखि सुरु गरेको प्राकृतिक ग्याँस उत्पादनको परीक्षण यसपटक भने इमाडोलमा सफल भएको दावी गरेको छ ।

इमाडोलमा शुक्रबार उद्योगमन्त्री नबीन्द्रराज जोशीले ग्याँस उत्पादनको ‘टेष्ट मोडेल’ को स्थलगत निरिक्षण गरेका छन् । विभागले डि्रलिङको काम सकेर ग्याँस भण्डारणका लागि च्याम्बर राखेर सफल परीक्षण गरेको हो ।

सरकारको १५ लाख रुपैंयाको लागतमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट), पूूल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र विभागले ग्यास उत्पादनको सफलतापूूर्वक परीक्षण गरेको हो ।

खानी तथा भूू-गर्भ विभाग अन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले भने, ‘हामीले पहिलो चरणमा सानो मोबाइल प्लान्ट निर्माण गरेर ग्याँस परीक्षण मात्र गरेका हौं, थप उत्पादन र वितरणको काम भने बाँकी नै छ,’उनले भने,’यसपटक हाम्रो डिजाइन सफल भएको छ ।’

विभागले तीन दशक अघि नै काठमाडौंको टेकुु देखि दक्षिण क्षेत्रका १४ स्थानमा प्राकृतिक ग्यास रहेको सम्भाव्यता अध्ययन गरेको थियो ।

शाखाका प्रमुख श्रेष्ठले भने,’यसपटक ग्यास भए-नभएको परीक्षण सुरक्षित रुपमा सफल भएको छ, यसै आर्थिक बर्ष भित्र अन्य स्थानमा पनि उत्पादनको परीक्षण गरिने छ ।’

कसरी निस्कन्छ ग्याँस ?

लगभग ३ सय मिटर जमीन मुनिसम्म डि्रलिङ गरेर मात्र ग्यास निकालिन्छ । जमिनमुनि ग्याँस पानीसँग मिसिएर रहेको हुन्छ । कार्बनको मात्रा एक भाग र हाइड्रोजनको मात्र चार हुन्छ जसलाई ‘सिएसफोर’ भनिन्छ । पाइपबाट ग्याँसलाई प्लान्ट वा च्याप्बरमा संकलन गरी सिँधै  वितरण गर्न सकिन्छ । यो ग्याँस जस्तो निस्किन्छ त्यस्तै वितरण गरिने हो ।

अहिले खाना पकाउन प्रयोगमा आएको एलपी ग्याँस जस्तो नभई यो ग्याँस रंगहीन र गन्धहीन हुन्छ । यसमा सुरक्षाका लागि एलपी ग्यासमा जस्तै ओडोलाइजरको प्रयोग भने गर्न सकिन्छ ।


क्लिकमान्डु