भारतीय बैँकमा साइबर हमला, ३२ लाख डेबिट कार्ड ह्याक भए



card_hack

भारतको बैंकिङ जगतमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । स्टेट बैंक अफ इंडिया (एसबीआइ ), एक्सिस बैंक, आइसीआइसीआइ बैंक, यस बैंक, एचडिएफसी बैंकका  ३२ लाख डेबिट कार्डहरूबाट विवरण चोरी भएको छ ।

चोरी भएका मध्ये केही कार्ड चीनबाट अनाधिकृत प्रयोगमा आएको जनाइएको छ । इकोनोमिक टाइम्सका अनुसार चोरी भएका विवरणमध्ये २६ लाख कार्ड भिसा र मास्टरकार्ड प्ल्याटफर्मका छन् । बाँकी ६ लाख कार्ड भारत सरकारको निगरानीमा रहेको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) भारतले जारी गरेका रुपे सँग आबद्ध थिए ।

रिपोर्ट अनुसार आक्रमण सबैभन्दा पहिला भारतीय कम्पनी हिटाचि पेमेन्ट सर्भिसमा देखिएको मालवेयरबाट भएको थियो । मालवेयरले एटिम, पोइन्ट अफ सेल (पीओएस) प्रयोगका क्रममा प्रयोगकर्ताको गोप्य विवरण चोर्ने गरेको थियो । हिटाचिले भारतमा एटिम, कार्ड स्वाइप गरेर सहजै पैसा तिर्न मिल्ने डिभाइस, पोइन्ट अफ सेल (पीओएस) सन्चालन गर्दै आएको थियो । यद्यपि हिटाचीले भने डाटा चोरिएको विषय झुटो भएको दाबि गरेको छ ।

चीनमा आफ्ना कार्डहरु प्रयोग भएको कम्प्लेन बैंकहरुले एनपिसिआईलाई दिएपछि शंका उब्जिएको एनपिसिआई मेनेजिनग डाइरेक्टर एपि होताले बताए ।

प्रयोग र चल्तीका  हिसाबले शङ्कास्पद कारोबार देखिएका मध्ये सबैभन्दा धेरै भिसा र मास्टरकार्डका प्रयोगकर्ता छन् । त्यसैले विस्तृत विवरण बुझ्न व्यापक अनुसन्धान हुनुपर्ने होताले बताए ।

यता एचडिएफसी बैंकले भने आफ्ना प्रयोगकर्ताको सम्भावित जोखिम कम गर्न आफ्नो कार्डको पिन परिवर्तन गर्न र सकेसम्म आफ्ना एटिएम भन्दा बाहिर कारोबार नगर्न सुझाब दिएको छ ।

त्यस्तै एसबिआई बैंकले आफू बाहेकका एटिएम मेसिनबाट भएका कारोबार र कम्प्लेनलाई आधार मान्दै आक्रमण कमजोर सुरक्षाका कारण भएको अनुमान गरेको छ र उसले सम्भावित जोखिम कम गर्न ६ लाख डेबिट कार्ड ब्लक गरेको छ ।

पेमेन्ट सुरक्षा विशेषज्ञ कम्पनी सिसाले  अनुसन्धानको जिम्मा पाएको छ । उसले ६ हप्ताभित्रमा साइबर आक्रमणको तथ्य रिपोर्ट सार्वजनिक गर्ने छ ।


क्लिकमान्डु